खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री


१० पुष २०८०, मंगलवार
prachanda 1 5

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘सुविधा सम्पन्न खेल मैदानबिना नै नेपाली क्रिकेट खेलाडीले विश्वकपको यात्रा तय गरे । विश्वकपको तयारीका लागि कुनै कसर बाँकी राखिने छैन ।’

गत कात्तिकमा नेपालमै सम्पन्न भएको खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई) लाई आठ विकेटले पराजित गर्दै विश्वकपको यात्रा तय गरेको थियो । नेपाली खेलाडीले प्राप्त गरेको सफलतासँगै अब देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि पूर्वाधार निर्माणमा जोड दिएको बताए ।

कीर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा विस्तार गरिने तथा मूलपानी, विराटनगर र कैलालीको फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गर्न लागिएको प्रधानमन्त्री दाहालले जानकारी दिए । उनले चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशालालाई पनि राष्ट्रिय गौरवकै आयोजनाको रूपमा तीन तहकै सरकारको समन्वयमा निर्माण गर्न थालिएको बताए ।

‘सरकारले देशको गौरव बढाउने युवा क्रिकेट खेलाडी, प्रशिक्षक र व्यवस्थापन टोलीलाई सम्मानसहित पुरस्कृत गर्दैआएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘दक्षिण एशियाली र एशियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने दुई सय ५२ खेलाडीलाई मासिक भत्ता पनि उपलब्ध गराएको छ । यी प्रोत्साहनसँगै सरकारको ध्यान अब पूर्वाधार निर्माणमै केन्द्रित छ ।’ ग्रासरुटबाटै खेलाडी, खेलकुद र खेल पूर्वाधारको विकास गरी खेल पर्यटनको ठूलो सम्भावना हासिल गर्न सरकारले कुनै कसर नछाड्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७