नेपालीलाई रुसी सेनामा पठाउने दुई जना ट्राभस सञ्चालक पक्राउ


२० पुष २०८०, शुक्रबार
agent

काठमाडौं । नक्कली कागजात बनाइ दिएर मोटो रकम लिँदै नेपाली युवालाई रुसी सेनामा पठाएको आरोपमा प्रहरीले दुई ट्राभल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्राभल सञ्चालक गोरखाका ३१ वर्षीय अर्जुन सुनार र सोलुखुम्बु नेचाका ३५ वर्षीय शेरबहादुर राई छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालय मीन भवनको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सुनार र राईले रूसको होटलमा आकर्षक तलब हुन्छ भन्दै विभिन्न युवाहरूसँग ६ लाख रुपैयाँका दरले उठाएर युवालाई रुस पठाएका थिए । शंकर कार्की, राजन राई र बिकास राईलाई अलास्का ट्राभल्स सञ्चालक बताउने अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र शेखर राई बताउने शेरबहादुर राईले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लिएको उजुरी प्रहरीमा परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

६ लाख तिरेर रुस पुगे शंकर कार्कीले रुसी सेनामा काम नगर्ने बताएका थिए । रुसमा पुगेलगत्तै विमानस्थलमा उनले लिन आएको एजेन्टलाई ८०० डलर बुझाएका थिए। नेपालबाट होटलमा भनेर पठाइएको भए पनि त्यहाँ पुगेपछि शंकरलाई रुसी सेनामा काम गर्न भनिएको थियो । तर, उनी आफ्नो सम्झौता होटलमा रहेको र सेनामा काम नगर्ने बताएर नेपाल फर्केका थिए । नेपाल आएलगत्तै उनले रुस पठाउने व्यक्तिविरुद्ध उजुरी गरेका थिए ।

एसएलसी पास समेत नगरेका शंकरलाई रुस पठाउनका लागि ट्राभल्सले नै नक्कली कागजहरू बनाइदिएको प्रहरीले बताएको छ । पक्राउ परेका सुनार र राईलाई मानब तस्करीको आरोपमा थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । कार्कीसँगै रुस पुगेका राजन र विकास भने रुसी सेनामा भर्ना भएको बताइएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका नामा ठगी कार्य तीव्र गतिमा बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७