सहकारी ठगी प्रकरण : जीबी र रबिविरुद्धको उजुरी सीआइबीले थाल्यो अनुसन्धान


७ माघ २०८०, आईतवार
Gb Rai Rabi lamichhane
फाइल फोटो

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएका सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान प्रक्रिया थालेको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जीबी–रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको सहकारी घोटाला प्रकरणको फाइल अनुसन्धान अगाडि बढाएको हो । ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र पूर्व उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभाका सदस्य रवि जोडिएको सहकारीको फाइलमाथि सीआईबीले अनुसन्धान थालेको हो ।

बालकुमारीमा प्रहरीको गोली लागेर दुई युवाको ज्यान गएपछि जवाफ दिन भन्दै पुस १६ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री र सुरक्षा निकायका प्रमुखहरूलाई डाकिएको थियो । राज्य व्यवस्था समितिका सदस्य समेत रहेका रविले गृहमन्त्री श्रेष्ठको नियतमाथि नै प्रश्न उठाएका थिए । बालकुमारी घटनादेखि नक्कली भुटानी शरणार्थी प्रकरण, शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरीमाथि भएको सरुवा, सुन तस्करी प्रकरणमा गृहमन्त्रीको इमान नदेखिएको भन्दै रविले चर्को आलोचना गरेका थिए । त्यतिबेला रविले गृहमन्त्रीलाई भनेका थिए, ‘बरु समुन्द्रमा हराएको टाइटनिक भेटिएला, तर तपाईंमा नैतिकता भेटिन्न ।’

गृहमन्त्री श्रेष्ठले रविलाई जवाफ दिँदा उनी निस्किसकेका थिए । गृहमन्त्रीले श्रेष्ठले रविलाई भनेका थिए, ‘मलाइ केही पर्छ कि क्या हो । त्यही भएर भन्दिहालौं जस्तो पो लाग्छ कि मान्छेहरुलाई । अथवा आफूले पहिले गरेको गल्तीमा कुनै कारणले कानूनी छुट पाए भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर आरोप लगाउन भएन । दोष छ भने कारबाही गर्न सकिन्छ। प्रतिशोध साध्न सकिन्न ।’

बैठकपछि गृहमन्त्री श्रेष्ठले सीआईबीका निर्देशक तथा एआईजी किरण बज्राचार्य, एसएसपी दिनेश आचार्यलाई जीबी–रवि जोडिएको सहकारी घोटालाबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए । गृहमन्त्री श्रेष्ठको निर्देशनपछि सीआईबीले अहिले जीबी–रवि जोडिएको भनिएको सहकारीको फाइलमाथि अनुसन्धान अघि बढाएको हो । प्रहरीको उच्च स्रोतल भन्छ, ‘जीबी–रवि जोडिएका सहकारीका फाइल अहिले जिल्लाबाट तानेर सीआईबीले अनुसन्धान अघि बढाएको छ । अहिले फाइल अध्ययनकै क्रममा छन् ।’ गृहमन्त्री श्रेष्ठको निर्देशनपछि सीआईबीले जीबी–रवि जोडिएको भनिएको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको फाइल, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको फाइल, चितवनको साहारा सहकारीको फाइल जिल्ला प्रहरी कार्यालयबाट केन्द्रमा झिकाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट सीआईबीले लगेका ती फाइलहरु अहिले अध्ययनकै क्रममा छन् । फाइल अध्ययनपछि के–कसरी मुद्दा चलाउन सकिने अवस्था रहछ, क–कसको संलग्नता खुल्छ सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ । हालसम्म पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैया बढी, चितवनको साहाराबाट ११ करोड बढी, बुटवलको सुप्रिम सहकारीबाट १० करोड बढी गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा गएको देखिएको छ । गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत् नै ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालनमा आएको थियो । त्यसका अध्यक्ष जीबी राई थिए भने ग्यालेक्सी टिभीका प्रबन्ध निर्देशक रवि थिए । पछि राजीनामा दिएर रवि राजनीतिमा लागेका थिए ।

यता रवि लामिछानेको तर्फबाट बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गोर्खा मिडियाको नाममा एक करोड रुपैयाँ जम्मा भएको डिपोजिट स्लिप समेत यसअघि नै सार्वजनिक भएको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट पनि रविका नाममा छुट्टै एक करोड निकालिएको पाइएको थियो । तर रविले आफ्नो नाम कीर्ते गरेर रकम निकालिएको हुनसक्ने भन्दै आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७