गगन थापाले भने, ‘बजेटमा चार ‘स’ को खडेरी देखियो’

मोरङ, २० जेठ । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको आर्थिक वर्ष २०७५–०७६ को बजेटमा ४ वटा ‘स’ को नदेखिएको बताएका छन् । उनले अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको बजेटमा स्पष्टता, समृद्धितर्फको मार्गदर्शन, साहस र सिर्जनशिलता नभेटिएको बताएका छन् ।
बजेटमाथिको छलफलमा आज संसदमा बोल्दै सांसद थापाले बजेटमा कुनै स्पष्टता नभएको देशमा संघीयता लागू भइसकेको अवस्थामा त्यसलाई बजेटमार्फत थप सशक्त बनाउन चुकेको आरोप लगाएका छन् । यस्तै उनले बजेटमा समृद्धितर्फको मार्गदर्शनको समेत अभाव रहेको बताएका हुन् । ‘पूर्वाधार निर्माणमा जसरी बजेट छरिएको छ । त्यसले राम्रो गर्दैन,’ उनले भने, ‘यसले लगानीको वातावरण पनि निर्माण गर्न सकेन ।’
उनले अर्थमन्त्री खतिवडाले बजेटमा केही नराम्रा पूर्व योजनालाई कटौती गर्ने साहस गर्न नसकेको पनि बताएका छन् । उनले बजेटमा पुनः सांसदलाई आफ्नो क्षेत्र विकासका नाममा रकम विनियोजन गरेर गल्ती गरेको आरोप लगाए । यस्तै सांसद थापाले आगामी वर्षको बजेटमा सिर्जनशिलताको अभाव रहेको र त्यसले गर्दा पूर्वाधार विकासका लागि विनियोजन गरिएको विषयमा पनि कुनै सिर्जनशिलता नभएको बताएका छन् ।