गठबन्धनमा फेरबदल आएपछि अन्योलमा एकीकृत समाजवादी, ३ बजे सचिवालय वैठक


२१ फाल्गुन २०८०, सोमबार
samajbadi

काठमाडौँ । एकाएक सत्ता गठबन्धनमा फेरबदल आएपछि अन्योलमा परेको नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न एकीकृत समाजवादीले आज (सोमबार) अपरान्ह ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको हो ।

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसहितको गठबन्धन बनाएपछि एकीकृत समाजवादीले औपचारिक धारणा बनाउन सचिवालय बैठक बोलाएको हो । समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नयाँ राजनीतिक घटनाक्रमका विषयमा दिउँसो ३ बजे बस्ने सचिवालयको बैठकमा छलफल हुने जानकारी दिए । यद्यपि, एकीकृत समाजवादी सुरुदेखि नै वाम गठबन्धनको पक्षमा भएको हुँदा नयाँ समीकरणको पनि स्वागत गर्ने बताए ।

‘हामी सुरुदेखि नै वाम गठबन्धन र एकताको पक्षमा थियौं । व्यक्तिगत रूपमा त मैले ‘डे वान’ देखि नै कांग्रेससँगको गठबन्धन ठीक भएन भनिरहेको थिएँ । आज वाम एकता हुने गरी भएको गठबन्धनको निर्णय स्वागतयोग्य छ’, नेता खनालले भने, ‘यो गठबन्धनमा हामी के गर्छौँ भन्ने विषयमा आज ३ बजे बसेको बैठकमा छलफल हुन्छ । अहिले नै केहि भन्न सकिँदैन ।’

अहिलेसम्म नयाँ गठबन्धनमा माओवादीसँग नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएका छन् । तर दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दा एकीकृत समाजवादी भने बाहिर परेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने पार्टीको पदाधिकारी बैठकमा बताएका छन् ।

हाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल कृषिमन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री र नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री छन् । नयाँ गठबन्धनमा समेट्ने गरी प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका नेताहरूसँग अनौपचारिक छलफल भने गरिरहेका छन् । तर गठबन्धनमा एकीकृत समाजवादीलाई कस्तो भूमिका दिने भन्ने स्पष्ट प्रस्ताव न प्रधानमन्त्रीले दिएका छन्, न एकीकृत समाजवादीले अगाडि सारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७