पहिला सरकारमा सहभागी हुने दलको टुङ्गो, त्यसपछि मात्रै मन्त्रालय बाँडफाँट


२२ फाल्गुन २०८०, मंगलवार
4Dal KP oli Parchanda Rabi lamichhane scaled

काठमाडौं । सत्ता गठबन्धनका दलहरूले पहिला सरकारमा सहभागी हुने दलहरूको टुङ्गो लगाएर मात्रै मन्त्रालय भागबण्डा गर्ने भएका छन् । सोमबार बनेको नयाँ गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा र जसपा छन् । तर प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादीलाई पनि सँगै लिएर जान चाहेका छन् ।

प्रचण्डले सोमबार साँझ विकसित राजनीतिक परिस्थितिबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेका थिए । भेटमा अध्यक्ष नेपाल यही गठबन्धनमा सहभागी हुन सकारात्मक भएता पनि अन्तिम जवाफ भने दिइसकेका छैनन् । त्यसैले पहिले गठबन्धनमा आउने समाजवादीसहित लोसपा, नागरिक उन्मुक्तिलगायत दलसँग पनि छलफल गर्ने र मन्त्रालयको बाँडफाट गर्ने एमालेका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिएका छन् ।

मन्त्रालयको भागबण्डा र गठबन्धनमा अरू दलको सहभागिताबारे छलफल गर्न गठबन्धनका चार नेताको बैठक मंगलबार दिउँसो बस्दैछ । दलहरूले एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, रास्वपा उपसभापति स्वर्णिम वाग्ले र जसपा नेता राजेन्द्र श्रेष्ठ सम्मिलित कार्यदल बनाएका छन् । यसैबीच तीन जना मन्त्रीले सोमबार शपथ लिइसकेका छन् । मन्त्रालय टुंगो नलागेकोले उनीहरूलाई बिना विभागीय मन्त्री बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७