नोबेलकी नर्सको हत्या प्रेमीले गरेको आशंका, यसरी गर्दैछ प्रहरीले अनुसन्धान


२ चैत्र २०८०, शुक्रबार
nurse murder biratnaga

मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजकी एक स्टाफ नर्सको हत्यामा उनकै प्रेमीको संलग्नता हुनसक्ने आशंका गरिएको छ । यद्यपि यसको पुष्टि भइसकेको छैन । प्रहरीले घटनाको तीब्र अनुसन्धान अगाडि बढाएको छ । विराटनगर महानगरपालिका–४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको शुक्रबार मध्यान्ह १२ बजे विभत्स रुपमा हत्या भएको अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताएका छन् ।

दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा उनको शव भेटिएको थियो । उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि फालेको अवस्थामा शव भेटिएको हो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको दाहालले जानकारी दिएका छन् ।

शौचालयमा शव फालेर कोठाको चाबी बाहिरबाट लगाई हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको छ । मृतकका आफन्त एवं परिवारका सदस्यलाई प्रहरीले घटनाको जानकारी गराइसकेको छ । उनीहरू सिरहाबाट विराटनगर आउने क्रममा रहेको डीएसपी दाहालले जानकारी दिएका छन् । अहिलेसम्म शव घटनास्थलमै छ । आफन्त आइपुगेपछि मात्रै पोस्टमार्टमका लागि पठाउने प्रहरीको तयारी छ ।

तर, यो घटनापछि दासको प्रेमी भनिएका युवा सम्पर्कविहीन रहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । मृतकका साथीहरुले प्रहरीलाई दिएको जानकारी अनुसार दास सिरहाको फुल्काहकट्टी नै घर भएका अमिन धानुकसँग प्रेम सम्बन्धमा थिइन् । दासका प्रेमी धानुक अहेब रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनी सिरहा गोलबजारमा काम गर्छन् ।

दासको हत्यामा धानुक संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंका छ । तर, धानुक विराटनगर कहिले आएका थिए भन्ने यकिन भइसकेको छैन । प्रहरी स्रोतका अनुसार मृतक बसेकै घरमा उनका अरु साथीहरू पनि डेरा बस्थे । तीमध्ये एक जना साथीको वाट्सएपमा ‘मैले हत्या गरेर शौचालयमा छाडिदिएको छु’ भन्दै धानुकले म्यासेज गरेर फोटाहरु पठाएको पाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनले कुन नम्बरबाट वाट्सएप गरे भन्ने प्रहरीले खुलाएको छैन । तर, घटनापछि सम्पर्कविहीन भएकाले खोजीका लागि प्रहरी परिचालन गरिसकिएको एसपी कार्कीले बताएका छन् ।

ह्वाट्सएपमा म्यासेज आएपछि मृतककी साथीले घरबेटीलाई जानकारी गराएकी थिइन् । घरबेटीले प्रहरीलाई खबर गरे । प्रहरी पुगेर हेर्दा हत्या गरेको अवस्थामा शव भेटियो । एसपी कार्की घटनामा अरु नै व्यक्तिको संलग्नता पनि हुन सक्ने बताउँछन् । उनी भन्छन्, अहिलेसम्म प्रेमीले नै हत्या गरे भन्ने प्रमाणित हुने मजवुत आधार भेटिइसकेको छैन । अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।’

घटनाको अनुसन्धानका लागि एसपी कार्की, डीएसपी दाहाल लगायत प्रहरी अधिकारी घटनास्थलमा खटिएका छन् । प्रहरीको विशेष टोलीसमेत परिचालन गरिएको छ । कार्कीमा अनुसार घटना अर्कैले गरेर प्रेमीलाई देखाउन खोजेको पनि हुनसक्छ । ‘प्रविधि प्रयोग गरेर घटनालाई अर्कोतर्फ मोड्न खोजेको पनि हुनसक्छ । एकातिर देखाएर घटना अर्कैले गरेको समेत हुनसक्छ,’ उनले भने, ‘यस्तो जघन्य अपराधको गम्भीर ढंगले अनुसन्धान हुन्छ । जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७