विद्युत प्राधिकरणको लापर्वाही, सतार बस्तीका २५ घर आगलागीले सखाप


४ चैत्र २०८०, आईतवार
rangeli aago

मोरङ । विद्युत प्राधिकरणको लापर्वाहीका कारण रङ्गेलीमा भिषण आगलागी भएको छ । आगलागीमा परेर सतार बस्तीका २५ घर सखाप भएका छन् । शनिबार दिउँसो २ बजे सुरु भएको आगो निभाउन स्थानीय, बारुण यन्त्र, प्रहरीलगायतको टोलीलाई साँझ ४ः३५ बजेसम्म लाग्यो । यो समयमा २५ घरका कसैले पनि आफ्नो शरीरमा भएको कपडा बाहेक केहि जोगाउन सकेन्न ।

पीडित गाउँले अहिले गाई फार्ममा रात काटिरहेका छन् । प्रहरीका अनुसार जंगली मुर्मुको ग्वालीबाट सुरु भएको आगो एकैछिनमा सिङ्गो गाउँमा सल्किएको थियो । फुस्को छाना भएका, साना साना र एक अर्कामा जोडिएका घर भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको प्रहरीको भनाइ छ । पश्चिमतर्फको तीब्र हावाका कारण पनि आगो बस्तीमा सल्किन समय लागेन । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार पीडितले घरभित्र रहेका कुनै पनि सामान निकाल्न पाएनन् ।

सुन चाँदी, नगद, लत्तकपडासहित सबै धनमाल जलेर नष्ट भएको कार्कीले बताए । पीडितले शरीरमा लगाएका कपडा बाहेक केही बचाउन सकेनन् । घरबाट मालसामान निकाल्न खोज्दा २९ वर्षीया तलाबेटी मुर्मु जलेर सामान्य घाइते भएको एसपी कार्कीले जानकारी दिए । मुर्मुको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ । आगोले जंगलीसहित तल्लु, भना, धारो, जुगल, मंगल, साइला, सञ्चराम, गम्बु, सुकदेव, राम मुर्मु तथा चन्द्र, सुकल, बासुदेव, चट्टा किस्कु एवं मनोज, बुद्धराय, मराहाङ हेमराम र सुमन सतार, सुकल हस्दा, लुकु टुडू तथा बाबुलाल बेश्राको परिवार बिचल्ली भएका छन् ।

यसरी सल्किएको थियो आगो
प्रहरीका अनुसार जंगली मुर्मुको ग्वालीबाट आगो सल्किएको जनाएको छ । जंगलीको ग्वालीमाथि नेपाल विद्युत प्राधिकरणको तार लत्रिएको थियो । सो तारमा हप्तादिन अघि विद्युत सर्ट भएर आगो लागेको थियो । तर स्थानीयले तत्कालै थाहा पाए र आगो नियन्त्रमा लिएका थिए ।

सो आगलागीपछि प्राधिकरणलाई स्थानीयले तार व्यवस्थित गर्न जानकारी गराए तर प्राधिकरण कानमा तेल हालेर बस्यो । अलि जान्ने बुझ्नेले भन्दा त नसुन्ने प्राधिकरण बिचरा सतार बस्तीको पीडा किन सुन्थ्यो । प्राधिकरणको लापर्वाहीले सिङ्गो सतार बस्ती सखाप भएको पूर्व जनप्रतिनिधि तथा स्थानीय घनश्याम पनेरुले बताए । प्राधिकरणले समयमा कुरा नसुन्दा यो दर्दनाक पीडा भोग्नपरेको पीडितहरु बताउँछन् ।

तत्काललाई राहत
आगलागीबाट पीडित भएकाहरू नजिकैको गाई फार्ममा बसिरहेका छन् । तत्काल पीडितको व्यवस्थापन र राहतका लागि स्थानीयदेखि प्रदेश सरकारसँग समन्वय भइरहेको मोरङ प्रशासनले जनाएको छ । आगलागीपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, मन्त्रालयका सचिवसहित मोरङका सुरक्षा अधिकारीले स्थलगत निरीक्षण गरेर घटनाको सबै जानकारी लिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको सक्रियतामा पीडितलाई खाद्यान्न, ओढ्ने, ओछ्याउने र खानेपानी वितरण गरिएको छ । तत्कालका लागि एक परिवारलाई २-२ वटा ओढ्ने र ओछ्याउने कपडा तथा १० किलो चामल एवं १ काटुन पानी उपलब्ध गराइएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । स्थानीय सरकारले पनि राहत दिएको उनको भनाइ छ । ‘आगोले ठूलो क्षति गरेको छ । रङ्गेली नगरपालिकाकी उपमेयर भूमा पराजुलीले विभिन्न वडाका वडा अध्यक्षलगायतका जनप्रतिनिधिले राहत वितरण गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७