‘कमेडी च्याम्पियन’ टोलीको गाडी दुर्घटनापछि विशाल भण्डारी प्रहरी नियन्त्रणमा, ६ जना घाइते


१० चैत्र २०८०, शनिबार
Bishal bhandari

काठमाडौं । कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी भक्तपुरमा दुर्घटनामा परेको छ । आज बिहान करिब ३ बजे भण्डारीसहितका ६ व्यक्तिहरू चढेको कार नगरकोटबाट फर्किने क्रममा सूर्यविनायक नगरपालिका–१० मा शुक्रबार कार दुर्घटनामा परेको हो । बागमती प्रदेश ०१–०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई प्रदेश ३–०१–००३ क ६२९८ नम्बरको टिपरसँग ठोकिएको थियो ।

दुर्घटनामा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित ६ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् । कारमा कमेडी च्याम्पियनका निर्देशक भण्डारीसहित पूजन अधिकारी, सुशान्त बस्याल, रजनेस अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका छन् ।

भण्डारी र अधिकारी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अरूको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको डिएसपी पाठकले बताएका छन् । उनका अनुसार गम्भीर घाइते हुनेमा बस्याल छन् । अन्य सामान्य घाइते छन् । दुर्घटना कसरी भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा प्रहरीले विशाल र पूजनलाई नियन्त्रणमा लिएको छ । टिप्पर चालक सागर पौडेललाई पनि प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल र पुजनमध्ये कसले गाडी चलाएको थियो भन्ने निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गाडीको अगाडि सिटमा विशाल र पुजन थिए । तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन् । कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको स्रोतले बतायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७