सुनसरीका पाँच स्थानीय तहमा ‘कर्फ्यु’

५१ राउण्ड हवाई फायर, केहि घाइते


२३ चैत्र २०८०, शुक्रबार
sunsari jhadap 1

सुनसरी । दुई समूहबीचको झडपले तनाव सिर्जना भएपछि सुनसरी प्रशासनले जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यु आदेश जारी गरेको छ । आज (शुक्रबार) मध्यान्ह १२ बजेदेखि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा निषेधाज्ञा जारी गरेको थियो । तर स्थिति नियन्त्रणमा लिन समस्या भएपछि अहिले साँझ ५ बजेदेखि पाँच स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, भोक्राह नरसिंह गाउँपालिका, कोशी गाउँपालिका क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ ।

sunsari jhadap 2

सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा शुक्रबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ । प्रशासनले जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यु जारी गरिएको उल्लेख छ ।

यसबीचमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक आवतजावत गर्न, भेला हुन र सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली तथा प्रदर्शनमा रोक लगाइएको जनाइएको छ । ‘यस आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ’, उनले भने । विज्ञप्तिमा पूर्वपश्चिम राजमार्गमा लामो दूरीको यात्रुवाहक तथा मालवाहक सवारी साधनलाई निगरानीमा राखी आवतजावत गर्न दिइने उल्लेख छ ।

sunsari jhadap 3

बिहीबार एसईईका क्रममा हरिनगर गाउँपालिका–१ स्थित बालकृष्ण माविमा कुटपिट भएको थियो । त्यसपछि दुई समुदायका व्यक्तिबीच तनाव बढेको थियो । दुवै समूह झडपमा उत्रिएपछि शुक्रबार बिहानैबाट उक्त क्षेत्र तनावग्रस्त बनेको छ । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र हवाई फायर गरेको थियो । झडका क्रममा केही व्यक्ति घाइते भएको जनाइएको छ ।

झडपका कारण उक्त क्षेत्र अशान्त बनेपछि स्थानीय प्रशासनले निषेधादेश जारी गरेको हो । प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्‍याएका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर भइसकेको छ । दुई जनालाई गोली लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । अश्रुग्यास र हवाई फायर के कति भएको भन्ने विषय यकिन भइ नसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

cr

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७