सुदूरपश्चिममा नेकपा एसको ‘प्लान बी’ : सोडारीलाई एमालेले साथ नदिए कांग्रेसले सघाउने


६ बैशाख २०८१, बिहीबार
dheergha bahadur

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिँदैछ । सत्ता समीकरणको दल नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन नगर्ने बताएपछि अन्योलता अझै जारी रहेको छ । एमालेले अहिलेसम्म स्पष्ट निर्णय नगरेको बताइएको छ ।

यता एमालेले सोडारीलाई समर्थन नगर्ने भनेपछि एकीकृत समाजवादीले भने ‘प्लान बी’ तयार गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेर सुदूरपश्चिममा सहयोग मागेको बताइएको छ । नेपालको प्रस्तावमा देउवा सकारात्मक भएको र आवश्यक परेमा सहयोग गर्ने र बदलामा अन्य प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने शर्त राखेका छन् । देउवाको प्रस्तावमा नेपाल सकारात्मक रहेको बुझिएको छ ।

देउवासँगको छलफल पछि सुदूरपश्चिममा एकीकृत समाजवादीले प्लान बी तयार गरेको छ । अर्कोतर्फ माओवादीले भने केन्द्रको समीकरणलाई बचाउन एकीकृत समाजवादीलाई समर्थन गर्न सक्ने बताइएको छ । प्रदेश प्रमुखले सरकार दाबी गर्न दिएको समय आज साँझ ५ बजे सकिने भएकाले एकीकृत समाजवादीले कसरी बहुमत पु¥याएर दाबी गर्न भन्ने स्पष्ट भएको छैन ।

सुदूरपश्चिममा एकीकृत समाजवादीका ४ सांसद छन् । कांग्रेसका १८ सांसदले समर्थन गरेमा २२ मत हुनेछ । प्रदेशमा हाल कायम रहेको ५२ सदस्यमा बहुमतका लागि २७ मत आवश्यक पर्दछ । एकीकृत समाजवादीलाई नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका ५ सांसदले समर्थन गर्ने नगर्ने स्पष्ट रहेको छैन । यस अघि नाउपाका लक्ष्मणकिशोर चौधरीलाई एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिएकाले अब उनीहरुले एकीकृत समाजवादीलाई समर्थन गर्ने नगर्ने स्पष्ट रहेको छैन । नाउपाको रेशम पक्षका ५ सांसद र राप्रपाका एक सांसदले समर्थन गरेमा भने २८ मत हुन्छ र बहुमत पुग्ने अवस्था बन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७