शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न निर्मम बन्छु : शिक्षामन्त्री श्रेष्ठ

‘कम्तीमा १२ सम्म पढाइ दिने वाचासहित भर्ना गरौं’


६ बैशाख २०८१, बिहीबार
sumana shrestha 1

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कम्तीमा कक्षा–१२ सम्म पढाइ दिने वाचासहित भर्ना गर्न आग्रह गरेकी छिन् । उनले सामाजिक सञ्जालबाट यसका लागि आफूबाट हुने सहयोग गर्ने पनि प्रतिबद्धता जनाएकी छिन् । उनले आफू स्कुल गएर पढेर नै यो अवस्थामा आइपुगेको पनि बताएकी छिन् ।

उनले भनिन्, ‘वैशाख लागेसँगै स्कुलहरूमा भर्ना पनि लागेको छ, बालबालिकालाई भर्ना गराउन नबिर्सिनु होला है, म स्कुल गएर, पढेर, सिकेर नै जीवनमा असल बन्ने मार्गमा हिँड्न सकेकी हुँ, म आज जहाँ छु त्यो सबै पढेर र गरिखाने ज्ञान, बोली, सीप र व्यवहार सिकेर नै भएको हो, त्यसकारण हजुरहरू पनि आफ्ना बालबालिकालाई स्कुल पुर्‍याउन मद्दत गर्नुहोस्, आज भर्ना गर्ने विद्यार्थीलाई कम्तीमा १२ सम्म पढाइदिने वाचा सहित भर्ना गरौँ, मबाट हुने सहयोग गर्नेछु ।’ सरकारले नयाँ शैक्षिक सत्रका लागि वैशाख २ गतेदेखि देशभर भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।
‘शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउन निर्मम हुन्छु’
मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिकरणबाट मुक्त गर्नुपर्ने दोहोर्‍याइन् । उनले शिक्षामा राजनीतिकरण हुन नदिन आफू निर्मम भएर लागिपर्ने पनि बताइन् । मन्त्री श्रेष्ठले शिक्षकहरूलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन पनि सचेत गराइन् ।

उनले भनिन्,‘जति पनि यो दलीय राजनीतिकरणको जर्जरमा हामी परेका छौ । सम्पूर्णमा आग्रह छ–शिक्षकहरू, विद्यालय व्यवस्थापनका साथीहरू, अब यो दलीय राजनीतिकरणले ग्रसित हाम्रो शिक्षा क्षेत्रलाई दलीय राजनीतिकरणबाट मुक्त गर्नुपर्छ । यसमा म निर्मम भएर लाग्ने पनि छु ।’ मन्त्री श्रेष्ठले पछाडि परेका विद्यार्थीहरूको शैक्षिक उन्नयनमा लाग्न पनि शिक्षकहरूलाई आग्रह गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७