अविचलित राजेन्द्र


प्रकाशित मिति : October 30, 2017

अनेरास्ववियुका पूर्व अध्यक्ष, हाल नेकपा (एमाले)को केन्द्रीय सदस्य । अहिलेको लागि उनी भोजपुर क्षेत्र न. १ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार । हाललाई उनको परिचय यही हो । तर, राजेन्द्र राईसँग जोडिएका अनेक घटना र तथ्यहरु छन् । जो कुनै मिथक जस्तै लाग्छन् । त्यो कुनै बनाइएको किस्सा जस्तो, कुनै जोडजाड गरिएको कहानी जस्तो । त्यो सुन्दा कुनै क्रान्तिका नायक जस्तो अथवा सुखान्त कथाको हिरो जस्तो लाग्छ । तर, ती सबै सत्य हुन् । उनको विगत हो । खासगरी उनी अनेरास्ववियुको अध्यक्ष भएको बेला उनले गरेको आन्दोलन, चलाएको अभियान र संगठनभित्र उनले लागू गरेको अनुशासन सुन्दा मनमा प्रश्न जाग्छ,‘त्यस्तो कसरी सम्भव भयो ? तर, उनले मिथक जस्तै लाग्ने संघर्ष र आन्दोलन गरेका छन् । अभियान चलाएका छन् । हामीले पुस्तकमा क्रान्ति नायकहरुको मिथकिय लाग्ने तर यर्थाथ संघर्ष र अनुशासनका किस्साहरु पढ्न पाउछौं । हो, राजेन्द्र राईको विगत पल्टाउदा त्यस्तै लाग्छ ।

पार्टीभित्र अनुशासन र आदरको हिसाबले अहिले कम्युनिष्ट पार्टी र अन्य पार्टीमा उतिधेरै फरक छैन । अहिलेका विद्यार्थी नेताहरुमा त त्यो अनुशासनको झनैं कमी छ । एकहिसाबले अराजक जस्तै छन् । तर, जतिबेला राजेन्द्र राई अनेरास्ववियुका अध्यक्ष थिए, संगठनभित्रको अनुशासन लोभलाग्दो थियो । साँच्चिकै, पढे जस्तो अथवा कम्युनिष्ट पार्टीले कल्पना गरे जस्तो अनुशासन र काम थियो । उनले दिक्षित र प्रशिक्षित गरेका कार्यकर्ताहरु अहिले समेत राजेन्द्रप्रति श्रद्धाले शिर झुकाउँछन् ।

रत्नपार्क अघि रातो घर थियो, त्यही रातो घरमा अनेरास्ववियुको केन्द्रीय कार्यालय । त्यतिबेलाका अनुशासन रातो घरको अनुशासन र आन्दोलन सम्झिदा विद्यार्थी नेताहरु गौरवले छाती चौडा पार्छन् । त्यतिबेलाका विद्यार्थी नेताहरु भन्छन्, ‘अध्यक्ष(राजेन्द्र राई) आउदैछन् भनेपछि हामी पहिल्यै उठेर सतर्क भएर बस्थ्यौं । संगठन र पार्टीका भन्दा अरु गतिबिधि र कुरा गर्न हामीलाई बर्जित थियो ।’ त्यही रातो घर जो नारायणहिटी राजदरबार भन्दा करिब सय मिटर अघि मात्रै थियो । त्यही नारायणहिटी दरबारमा बिराजमान थिए, त्यतिबेलाका शक्तिशाली श्री ५ महाराजधिराज ज्ञानेन्द्र विर बिक्रम शाह । त्यतिबेला महाराज बिरुद्ध बोल्नु मृत्यु निम्ताउनु जस्तै हुन्थ्यो । तर, रातो घर बाहिर निस्किएर राजेन्द्र राईले त्यतै माइक फर्काएर राजतन्त्र मुर्दाबाद भन्दै भाषण गर्थे ।

बौद्धिक हिसाबले पनि राजेन्द्र अब्बल थिए । अझ त्यो भन्दा उनको जुझारुपनको बारेमा व्याख्या गरेर उनका सहकर्मीहरु अझै पनि रोमाञ्चित हुन्छन् । त्यतिबेला विचारले मात्रै संगठन सम्भव थिएन । दरबार र कांग्रेसीहरुको दबदबा । संगठन बचाउन भौतिक प्रतिरोधको पनि उत्तिकै आवश्यक थियो । पार्टी र संगठनका कार्यकर्ता कतै कुटिए, वा कसैले अबरोध गरे उनी आफै निस्केर प्रतिरोध गर्थे । उस्तै परे उनी राजेन्द्र राई नाङ्गो तरबार बोकेर बिरोधीको क्याम्पमा एक्लै पुग्थ्थे । उनका सहयोद्धा एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवार भन्छन्,‘राजेन्द्र राई सम्झेर पनि बिरोधीहरुले हाम्रो कार्यकर्तामाथि आक्रमण गर्न डराउथ्यो ।’ एक हिसाबले त्यतिबेला राजेन्द्र बिरोधीहरुको लागि आतंक जस्तै थियो ।

प्राकदेखी अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म
जतिबेला जतिबेला यो समाजलाई सामान्य हिसाबले बुझ््न सक्ने भए । समाजमा रहेका विभेद र असमानताहरुको बारेमा थाहा पाए । त्यही बेलादेखी मान्छेहरुलाई विभेद र असमानताबाट मुक्त गर्नका लागि लड्नपर्छ भन्ने चेतनाले अनेरास्ववियुमा संगठित भए उनी । कक्षा ८ मा अध्यानरत छदा नै अनेरास्ववियुमा संगठित भए । कक्षा ८ पढ्दादेखी नै परिवर्तनका अभियान र आन्दोलनहरुमा सक्रिय रुपले सहभागी भए । सक्रिय र जुझारु स्वाभावका राजेन्द्रलाई विद्यार्थी आन्दोलनमा स्थापित हुन उतिधेरै समय लागेन । अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटि, बागमती अञ्चल सदस्य हुदैं केन्द्रीय प्रचार विभागको प्रमुख भए । अनेरास्ववियुको सचिव, महासचिव हुदै दुई पटक अध्यक्ष भए । अनेरास्ववियुको केन्द्रीय अध्यक्षको रुपमा (२०५७–०५९) र (२०५९–०६) मा काम गरे ।

विद्यार्थी आन्दोलनको मियो
अनेरास्ववियु एमालेको नेता तथा कार्यकर्ता उत्पादन गर्ने सबैभन्दा बलियो संगठन हो । अहिले पार्टीको नेतृत्वमा तहमा रहेका प्रभावशाली अधिकांस नेताहरु अनेरास्ववियुकै उत्पादन हो । जतिबेला उनी अनेरास्ववियुको नेतृत्वमा थिए । त्यो बेलाको अनेरास्ववियु सबैभन्दा आन्दोलन र नेता उत्पादनको हिसाबले पनि सबैभन्दा उर्बर मानिन्छ । उनको पालाका अनेरास्ववियुका नेताहरु केन्द्र र पार्टीका केन्द्रका नेताका रुपमा अहिले स्थापित छन् । उनले संगठित र प्रशिक्षित गरेका त्यतिबेलाका विद्यार्थी नेताहरु आज पार्टीको नेतृत्वदायी भुमिकामा छन् । उनकै नेतृत्वमा अनेरास्ववियुले स्ववियुमा ऐतिहासिक सफलता हासिल गरेको थियो ।

जुझारु स्वभावका राजेन्द्र बौद्धिक हिसाबले पनि उत्तिकै अब्बल मानिन्छ । शैक्षिक इतिहासको आन्दोलन पल्टाउने हो भने उनको कार्यकाललाई स्वार्णिम समय मान्न सकिन्छ । नेपालको शैक्षिक अवस्था सुधारको लागि उनको पालामा अनेकौं अभियान र आन्दोलन भए । खासगरी गरिबका छोराछोरी पढ्न सरकारी क्याम्पसहरु सुधारको लागि उनले नेतृत्व गरेको आन्दोलन र अभियानको आज पनि प्रशंसा हुन्छ ।

गणतन्त्रका प्रस्तावक
आज हामी गणतन्त्र ल्याएकोमा गर्व गछौं । हामी सबैको गर्वको बिषय हो, गणतान्त्रिक नेपाल । हो, त्यही गणतन्त्रको पहिलो प्रस्ताव राजेन्द्र हुन् । खुल्ला रुपले नारायणहिटी दरबार नजिकै रहेको अखिलको कार्यलयमा गणतन्त्रको लागि आन्दोलन गर्ने प्रस्ताव राख्दा धेरै मान्छेहरु आत्तिएका थिए । डराएका थिए । तर, राजेन्द्रले अखिलमा ‘अब नेपालमा राजतन्त्रको औचित्य सकियो, अब गणतन्त्रको लागि लड्नुपर्छ’ भन्ने प्रस्ताव पाश गराए । उनले नेतृत्वमा अनेरास्ववियुले गणतान्त्रिक आन्दोलनलाई यस्तरी बढायो की दलहरु समेत पछिपछि त्यो निर्णय र आन्दोलनमा जान बाध्य भए । सडक र शहरमै बसेर खुल्ला रुपले राजतन्त्रको औचित्य सकिएको घोषणा गर्ने पहिलो नेता हुन् ।

गणतान्त्रिक आन्दोलनका ‘हिरो’
जतिबेला मुलुकमा तत्कालिन राजा ज्ञानेन्द्रले निरकुश शासन सुरु गरे । त्यसको बिरुद्धमा सुरुदेखी आन्दोलनको सुरुवात राजेन्द्रको नेतृत्वमा अनेरास्ववियुले नै गरेको थियो । अनेरास्ववियु र उनको तत्कालिन राजा ज्ञानेन्द्रको सबैभन्दा टाउको दुखाईको बिषय थियो । उनीे जुझारु नेता हुनहुन्थ्यो की नारायणहिटि राजदरबारतिर माइक फर्काएर खुलेआम गणतन्त्रको नारा घन्काएका थिए । उनलाई आफ्नो सत्ता र शासनको बाधक देखेपछि तत्कालिन राजा ज्ञानेन्द्रले सुरुमा नै पक्राउ गरेर थुन्न लगाएका थिए । जनआन्दोलन ताका रााजेन्द्रलाई चार महिना जेलमा राखियो । त्यसपछि पनि पटक पटक पक्रेर थुनिएको थियो । त्यतिबेला उनी केवल एउटा व्यक्ति मात्रै थिएनन् । एउटा आन्दोलन पनि थिए ।

निष्ठावान् र सरल नेता
आज राजनीति विस्तारै भ्रष्ट बन्दैगएको छ । नेताहरु आलोचित बन्दै गएका छन् । तर, उनी एउटा यस्तो अपवाद हुन्, कसैले पनि, कहिल्यै पनि उनलाई प्रश्नसम्म गरेका छैनन् । अथवा त्यो वाताबरण उनले बन्न दिएका छैनन् । आर्थिक रुपमा पनि उनी कहिल्यै आलोचित बनेनन् । उनको सरल जीवन देखेर नेताहरु नै छक्क पर्छन् । काठमाडौंमा डेरामा बस्छन् । बाइकमा कुद्छन् । कसै कसैले भन्छन्,‘राजेन्द राई आर्थिक रुपमा बुङ्गो नेता हुन् ।’ किन त ? राजेन्द्र भन्छन्,‘व्यक्तिगत आर्जनको पक्ष मेरो जीवनको उद्देश्य होइन । हुने छैन । म समाज परिर्वतन र रुपान्तरण लागेको मान्छे हुँ । त्यतातिर ध्यान नै दिइएन । दिने पनि छैन ।’

वर्ग संघर्षका अविचलित योद्धा
राजेन्द्र यस्तो एउटा नाम हो, जो नेकपा (एमाले)को आन्दोलन र पार्टीबाट कहिल्यै बिचलित भएनन् । उनी अहिलेसम्म एमाले बाहेक अरु केही भएका छैनन् । त्यतिमात्रै होइन जबजब पार्टी संकटमा पर्यो । त्यतिबेला उनी अग्रभागमा उभिए । वैचारिक र भौतिक दुबै हिसाबले अग्रमोर्चामा उभिएर उनले अभियान चलाए । सतिसाल झै उभिए । बरु, यति हुदा हुदै पनि उनीलाई कहिलेकाही पार्टीले कर्नरमा पारे । थन्काए । तर, पनि उनले कुनै गुनासो गरेनन् । बरु खटिरहे ।

जतिबेला पार्टीका तत्कालिन उपाध्यक्ष अशोक राईहरु एमाले परित्याग गरेर जादैथिए । एमालेलाई पहिचान बिरोधी आरोप लगाइरहेका बेला खुलेर त्यसको प्रतिवाद गर्ने उनै थिए । सबैभन्दा पहिलो पटक उनले नै स्टाटस लेखेर र अन्तरवार्ता दिएर वर्ग संघर्षको पक्षमा बोलेका थिए । अहिले पनि आफ्नो पहिलो लक्ष्य वर्ग संघर्ष नै भएको दृढताको साथ बताउँछन् । भन्छन्,‘सबै खालका विभेद र असमानता बिरुद्ध लड्नपर्छ भन्नेमा म हिजो पनि दृढ थिए । आज पनि छु । तर, पहिलो वर्ग संघर्ष नै हो । यसको मतलब पहिचानको बिरोध कदापी होइन । यति चहिँ हो म सबै खालका अति जातीवादको बिरोधी हुँ ।’ त्यसो त उनलाई कतिपय बिरोधीहरुले पहिचान बिरोधीको आरोप लगाउने गरेका छन् । तर, राजेन्द्र राई यसलाई स्वीकार गर्न तयार छैनन् । भन्छन्,‘पहिलो समस्या वर्गीय समस्या नै हो । समस्यामा म मा होइन वर्ग सघर्ष पहिलो हो भन्दा मलाई पहिचानबिरोधी देख्नेहरुको अल्पज्ञान र बुझाईमा समस्या हो ।’

सधैं भुगोलको माया
कतिपयले राजेन्द्रलाई भोजपुरको भुगोलसँग टाढिएका नेताको रुपमा बिरोध गरेको सुन्न पाइन्छ । तर, उनी यस्तो भोजपुरे नेता हुन् जो सबैभन्दा भोजपुर बस्छन् । बरु, केन्द्रको राजनीतिमा चलखेल गरिरहने नेताहरुले भन्छन्,‘यो राजेन्द्र राई कति जिल्लामा गएर ढुक्कै बसेको हो । यता केन्द्रतिर पनि ध्यान दिन परो ।’ यतिसम्म की उनी गाउँमा आयोजना हुने भलिबलदेखी सामान्य बिकास निर्माणको अभियानमा सहभागी हुन समेत जिल्ला पुगिरहेका हुन्छन् । भोजपुरको विकास र समृद्धिका लागि काठमाडौंमा हुने अभियानमा मात्रै होइन, सकेसम्म जिल्लामा भएका अभियानमा समेत उनी सधैं सक्रिय छन् । भाजपुरको समग्र विकासका निम्ति उनकै सक्रियता र अगुवाइमा बिभिन्न कामहरु भएको छ ।

भोजपुरमा आगलागी हुँदा होस् वा बाढीपहिरो जाँदा अथवा कुनै प्राकृतिक विपत्ति आइलाग्दा होस्, उहाँ सधैं भोजपुरे जनताको संकटको साथी बनेको भोजपुरेहरु नै बताउँछन् । भोजपुरको विकासनिर्माणका लागि राज्यको निर्णायक तह र निकायमा दबाब दिने तथा विभिन्न विकास निर्माणका परियोजनाको अगुवाइ गर्ने काममा उनको भूमिका र नेतृत्व सधैं अग्रणी छ ।

राजेश राई

प्रतिक्रिया दिनुहोस्