‘चलचित्र ‘यारी’ हङकङमै हुर्किएका सन्ततीका लागि ज्ञानको एक मिसायल हो’

-बज्र थुलुङ राई
हङकङ, १२ असार । २४ जून २०१८ को साँझ याउ मा तेइस्थित कम्यूनिटी हलमा किरात राई मिथकमा आधारित भनिएको नेपाली चलचित्र ‘यारी’ हेरीसकेपछि मनमा केही लेखूँ–लेखूँ लागि रह्यो । किरात राईहरूका अनुसार यारीको अर्थात् नछोङ(धामी)ले कर्दद्वारा अदुवाको चाना काट्दै शुभ अशुभ हेर्न कार्य (कछुर हान्नु) लाई भनिन्छ ।
चलचित्रको शीर्ष शब्द नै ‘यारी’ किरात राई मिथकमा आधारित भनिएको र आफू राई भएकोले पनि हेर्न आतुर थिए । आफ्नो मौलिक धर्म, संस्कार, संस्कृतिको संरक्षण, संबद्र्धन र पुस्तान्तरणका निम्ति चासो राख्ने र सके केही योगदान गर्ने मन–मस्तिष्क बोकेर बाँची रहेको एक किरात राई भएको नाताले पनि ‘यारी’को निरीक्षण मोह म भित्र अधिक नै थियो ।

देश जाँदा ‘यारी’ प्रशंसा पनि धेरैको मुखार बिन्दुबाट सुनेर आएको थिएँ । सौभाग्यले यहाँ नै ‘यारी’ नियाल्न पाएँ । तत्पश्चात् यस्तो लाग्यो ‘यारी’ हृदय छुने संयोगरवियोगले भरिएको रहेछ।त्यसैले पर्दामा यसलाई हेरी रहँदा एकोहोरो बनेका धेरैका आँखाका रसाएका थिए । बिच–बिचमा गरुङ्गो मन र मलिन स्वरले “गाउँघर पुगेकै जस्तो लाग्यो’ भन्ने दर्शकहरू पनि देखियो ।

चलचित्रका अधिकांश दृश्य प्राकृतिक छटाले भएको पूर्वी पहाडी किरात राई बस्तीहरूको हुनु र सोही भेगका दर्शकका बाहुल्यता रहनुले पनि यारी भावनात्मक रूपमा कसिलो देखियो । किरात राईहरूको चलचित्र भनिएको भए पनि नेपाली भाषाको प्रयोग र स्क्रीनमा अङ्ग्रेजी अनुवादसमेत हुनुले चलचित्र सबैका लागि भन्ने लाग्यो ।

चलचित्रकर्मी तथा चर्चित कलाकार मित्र मौसम लिम्बु (फूलन्देको बाउ)लाई ढाकाको कोट सेटमा चिरीच्याँट परेर हलभित्र यताउता भेटघाट गरी रहेको भेटेर राम्रो महसुस भयो । खास यारीको खतरा लेखाजोखा उनले गर्छन् भन्ने पनि सोचेँ । उनको जन्मदिन पनि सोही मितिमा हो भन्ने थाहा पाएकोले जन्मदिनको शुभकामना दिन पनि भ्याएँ । किरात राई ययोख्खा मकाउका महासचिव, एनआरएनएका वरिष्ठ उपाध्यक्ष, खेलाडी तथा गीतकार भाइ मंगल राई र मिसेस् हङकङ नेपाल बहिनी पबिता पुमा राईको हलभित्र भएको उपस्तिथिले पनि दर्शक हुनुको मज्जा आयो । यस्तै किराया अध्यक्ष हरिचन्द्र राई, किराया प्रज्ञा प्रतिष्ठानका कुलपति शशीमदन राई, सल्लाहकार धिराज कुमार राई, पीताम्बर राईलगायतका किरात संस्कार–संस्कृतिविदहरुको आतिथ्यीय एवं दर्शकीय उपस्थितिले अर्को ठुलो महत्त्व राखेको अनुभव गरे । पत्रकारहरूको पनि राम्रो उपस्थिति हुनुले पनि चलचित्रको धेरै कुराहरू जनमानससम्म आउँछ भन्ने ठानेँ ।

चलचित्रका अधिकांश दृश्य प्राकृतिक छटाले भएको पूर्वी पहाडी किरात राई बस्तीहरूको हुनु र सोही भेगका दर्शकका बाहुल्यता रहनुले पनि यारी भावनात्मक रूपमा कसिलो देखियो ।  

चलचित्र हेरी रहँदा कलाकारहरूले प्रयोग गरेका किरात राईहरूको मौलिक भेषभूषा, गरगहना,भाषाको लय, गाउँघरको दैनिक जीवनयापन, संस्कार, संस्कृति, रहनसहन, खानपान, तौर तरिका, परम्परा एक अर्काप्रतिको अन्तर आत्मियता, अमिट प्रेम, भौगोलिक दुःखकष्ट, मिलन–बिछोड, घृणा, बाधा–विरोध, आत्मग्लानी,पुनर्मिलन इत्यादिको दृश्यले मनलाई हुरुक्कै पारेको थियो । रिस, डाहमा पनि प्रेम र शुभेच्छा रहने परिदृष्यले आफ्नो थातथलो, माटोसँगको सम्बन्ध र पुराना स्मृतिहरूलाई नजिक बनाई रहेको थियो ।

चलचित्रका नायकको रूपमा प्रस्तुत भएका निर्भीक थुलुङ राईको आमाको भूमिकामा रहेकी ज्योति राईको मौलिक अभिनयले अन्तिमसम्म मन तानी रह्यो । किरात आमाको कति जीवन्त अभिनय मनले भन्यो, ‘यस्तो पो कलाकार त !’

यस्तै नायिका विस्मित राई, हिरोइनको बाउ श्याम राई, हिरो निर्भीक, दक्ष कुमार राई नछोङ, प्रवीण पुमा राई र अन्य कलाकारहरूको अभिनय पनि परिवेश अनुसारका राम्रै देखिए ।

कलाकार दक्ष कुमार त हङकङ आई डी होल्डर हामी बिचकै प्रतिभा हुन् । त्यसो भएर उनको प्रत्यक्ष उपस्थितिलाई ओल्याउँदै ‘उ त्यो…..भाइ र दाइ….नै होइन यो पर्दामा देखिएको काठ बोक्ने त ?’ भन्नेहरू पनि थुप्रै थिए। उहाँ चलचित्र निर्माता, अभिनेता, मोडल पनि हुन् । नेपाली म्युजिक भिडियोहरूमा पनि उनलाई देख्न सकिन्छ ।

चलचित्रमा बेलायतबाट आएका एक किरात राई युवाको अभिनय भने कता–कता हल्का अस्वभाविक लाग्यो ।
चलचित्र र फोटोग्राफी क्षेत्रका नेपालको एक हस्ती युवराज(वीर बहादुर) थुलुङ राईको लेखन र निर्देशनमा बनेको ‘यारी’मा आदरणीय डिक वान्तवाको पटकथाले पनि धेरै काम गरेको लाग्यो । विशिष्ट स्थानका प्राज्ञ गीतकार र कवि भूपाल राईको शब्दको गीत एकदमै मन पर्‍यो ।

कहाँबाट टिपि ल्यायौ यो मायाको मौसम ।
त्यै मायामा मरूँ लाग्छ सुम्निमाको कसम।
तिमीभित्रै हजार थुङ्गा माया फुल्ने मौसम।
त्यै मायामा मरूँ लाग्छ पारुहाङको कसम।
…………………….
डक्टर किरातको संगीतमा गायक रुपकुमार र गायिका मेलिना राईको स्वर रहेको शीर्ष गीत भनी साध्य नहुने गरी मन–मस्तिष्कमा छोयो ।
अर्का कवि र गीतकार चन्द्र रानाहँछाको शब्द, संगीतकार तथा गायक पदम थुलुङ राईको संगीत र गायक निश्चल राई, भीषण राई र गायिका सुनिता थेगीमको स्वरले सजिएको गीत
“सारै गारो रैछ सम्बन्धको अर्थ।
हिँड्नु फेरि बिसाउनु यात्राको यो सर्त।
………………………….
जानु पहिल्यै फिर्छु भन्नु कस्तो बहाना।
तड्पिएर बाँच्नु पर्ने कस्तो यातना।
……………….
अर्को दृश्यका गीत
“ओइली जाला फूल सुकी जाला धारा।
उडी जाला बादल अस्ताई जाला तारा।
……………….
जहाँ तिम्रो प्रकाश त्यहाँ मेरो छाया।
छुटी जाने भँगालो किन हुन्थ्यो माया।
……………..
अन्तिम दृश्यतिर हिरोइनको चिहानलाई हिरोले अँगालो हाल्दै गर्दाका गीत

उडेर जान्छ बताससँगै भनिएको देह।
छल्किमा झर्छ बल्झिंदा कतै भरिएको गह।
……………ले आँसुको ताल गहमा बनेँ ।

यस्ता विद्धत व्यक्तित्वहरूको संलग्नताबाट निर्माण भएको ‘यारी’का सबै पक्ष राम्रो लाग्यो । तथापि चलचित्र पूर्णतः किरात राईहरूको मिथकमा आधारित भन्न नसकिने रहेछ । यो चलचित्र किरात राईहरूको मौलिक पहिचानको जगमा उभिएको भए पनि समसामयिक विषय सन्दर्भहरूलाई बोकेर दौडीएको छ ।

राजनीति, आवश्यकता र विकासको फैलिँदो गतिले विनास गरेका प्राग ऐतिहासिक धरोहरहरू र बिथोलिएका संस्कृतिहरूका बारेमा चलचित्रमा तकडा उठान गरिए पनि निराकरणका पक्षहरू प्रस्तुत छैन । यस्ता सामान्य उचनीच भने यारीमा देखिन्छ । यद्यपि आफ्नो मौलिक संस्कार, संस्कृति, रीतिरिवाज,आफ्ना–आफन्त भुलेर रंगीन संस्कृतिलाई शिरोपर गरी जीवनलाई अन्जान आधुनिकताको खोल ओढाएर निर्वाद बाँची रहेकाहरु र विशेष गरी विदेशमा आफ्ना भावी सन्तति हुर्काई रहेकाहरुका लागि ‘यारी’ ज्ञानको एक मिशाल हो भन्दा अत्युक्ति नहोला ।

आफ्नो मौलिक संस्कार, संस्कृति, रीतिरिवाज,आफ्ना–आफन्त भुलेर रंगीन संस्कृतिलाई शिरोपर गरी जीवनलाई अन्जान आधुनिकताको खोल ओढाएर निर्वाद बाँची रहेकाहरु र विशेष गरी विदेशमा आफ्ना भावी सन्तति हुर्काई रहेकाहरुका लागि ‘यारी’ ज्ञानको एकमिसायल हो भन्दा अत्युक्ति नहोला ।

चलचित्र ‘यारी’ केवल राईको मात्रै हो भन्नेहरूले पनि हेर्न आवश्यक ठानेँ । त्यसै पनि संसारलाई नेपाल चिनाउने यस्ता चलचित्रहरूको निर्माण संख्या न्यून छ । त्यसमाथि जातीय ट्याग लगाई दिएपछि ढोकै बन्द भए जस्तो हुन्छ । मोबाइल–मोबाइलमा उपलब्ध इन्टरनेट र एक टचमै खुल्ने यूट्युव संस्कृतिले त झन् मानव मानसिकतालाई एकोहोरो अल्छी बनाई दिएको छ । यी यावत कठिनाइहरूका बाबजुद ‘यारी’ संसारभर प्रदर्शन हुन सकोस् ।

विश्वकप फुटबलमा झुमी रहेका नेपाली, त्यो माथि दर्की रहेको झरी र हङकङको व्यस्त कथा–व्यथाका चेपारोमा पनि चलचित्रले वाहवाही दर्शक पाएकै हो । म पनि यही भित्रको एक दर्शक मान्छेले ‘यारी’ हेरी सकेपछि भन्न मन लाग्यो–‘हङकङमा ‘यारी’ अझै प्रदर्शन होस् ।’ आफ्ना लालाबालासहित सबैले एक पटक हेरौँ । मैले देशमा ‘यारी’को बारेमा सुनेका प्रसंसनीय कुराहरू मिथ्या होइन रहेछ ।

(लेखक, किरात राई यायोख्खा हङकङका महासचिव समेत हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्