आजको सन्दर्भमा पुष्पलालका विचार


७ श्रावण २०७५, सोमबार
Krishnahari KC

यो साउन महिना नेपाल कम्युनिष्ट पार्टीका प्रणेता धरोहर संस्थापक महासचिव कमरेड पुष्पलालको देहान्त भएको महिना हो । यो महिनामा नेपाली कम्युनिष्ट आन्दोलनका ऐतिहासिक व्यक्तित्व कमरेड तुलसीलालको पनि मृत्यु भएको महिना हो । साथै विश्व कम्युनिष्ट आन्दोलनका एउटा सिद्धान्तकार, व्याख्याता, कम्युनिष्ट घोषणा–पत्रका रचयिता, कमरेड माक्र्सका समकक्षी कमरेड एंगेल्सको समाधि भएको महिना हो । यसर्थ साउन महिनाभरी नै स्मृतिका कार्यक्रमहरु व्यापक हुने गर्दछन् । उनीहरुका सपनालाई साकार पार्ने प्रण गरिन्छ र ती आदरणीय कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जी अर्पण गरिन्छ ।

यसो गर्दै गर्दा केवल औपचारिकताका लागि केवल कर्मकाण्डका लागि मात्र ती आदरणीय कमरेडहरुको सम्झनाले हुने छैन । उहाँहरुको कल्पना बमोजिमको आदर्शयुक्त समाज, समानतायुक्त समाज, विभेदमुक्त समाज निर्माण गर्नतर्फ व्यवहारिक रुपमा अग्रसर, उच्च नैतिकता र आदर्श भएको निष्ठावान कार्यकर्ता पंक्तिले युक्त कम्युनिष्ट कार्यकर्ताले भरिएको कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेछ र सोही मुताविकको कार्यशैलीयुक्त कार्यकर्ता निर्माण गर्नुपर्नेछ । अनि मात्र उहाँहरुप्रतिको उच्च सम्मान हुनेछ, वास्तविक श्रद्धाञ्जली हुनेछ । नेपाली समाजको परिवर्तनमा कम्युनिष्ट पार्टीले राणाशासनको विरुद्धमा प्रजातन्त्रको पक्षमा सहयोगी शक्तिको रुपमा, पञ्चायती शासनका विरुद्ध वहुदलीय लोकतन्त्रका लागि सहयोद्धाको रुपमा र सामन्ती राजतन्त्रात्मक व्यवस्थाविरुद्ध लोेकतान्त्रिक गणतन्त्रका निम्ति नेतृत्वकारी शक्तिको रुपमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आइरहेको छ । नेपाल कम्युनिष्ट पार्टीलाई सदैव गतिशिल बनाउन, दरिलो बनाउन संघर्षशिल बनाउन कमरेड पुष्पलालको महत्वपूर्ण योगदान छ ।

याे पनि पढ्नुहाेस्
दसपुत्र गल्लीमा पुष्पलाल
पुष्पलालका मीत मणिराज उपाध्यायको नजरमा पुष्पलाल {अन्तर्वार्ता}
पुष्पलालले राजा महेन्द्रलाई भेट्न मान्नुभएन

सामन्ती अधिनायकवादी राजतन्त्रात्मक निरंकुशताको कालो जञ्जिरलाई तोड्दै गैरमानवीय क्रुरतम कालखण्डबाट नेपाली धार्मिक स्वतन्त्रता, न्याय, समता, लोकतन्त्र, राष्ट्रिय स्वाधिनता एवम् समाजवादको सपना विजारोपन गर्ने कमरेड पुष्पलाल निडर र स्वाभीमानी नेता हुुुनुहुन्थ्यो । श्रमजीवि वर्गको हित रक्षार्थ जातिभन्दा माथि उठेर लोभलालचालाई वेवास्ता गरी नेपाली जनताको मुक्तिका लागि सामन्तवादको अन्त्य र साम्राज्यवादको विरोध र भण्डाफोर गर्दै जीवनभर परिवर्तनको पक्षमा संघर्षशिल रहने महान नेताको नाम हो कमरेड पुष्पलाल । उहाँले हामी नेपाली समाजको प्रगतिशिल रुपान्तरण र जनतालाई जागरण गर्ने कार्यमा अतुलनीय योगदान पु¥याउनु भएको छ । आज यसै विषयमा चर्चा गर्ने कोशिस गरेको छु ।

१) स्पष्ट दृष्किोण मार्गदर्शक र नेकपाको संस्थापकको रुपमा क. पुष्पलाल 

जसरी महान लेनिनको राजनीतिक जीवनी उहाँका दाजु अलेक्जेण्डरलाई जारशाहीले प्राणदण्डको सजाय दिएपश्चात शुरु भयो, त्यसरी नै क. पुष्पलालको राजनीतिक जीवनी राणाशाहीले उहाँका जेठा दाजु गंगालाललाई १९९७ सालमा प्राणदण्ड दिएपछि शुरु भएको छ । राणशाहीले जनतालाई गुमराहमा राख्ने, जनतालाई शिक्षाबाट बञ्चित गराउने र सधैं राणाहरुकै पुकारमा जनतालाई रुमल्याउने कार्यको विरुद्धमा जनताले शिक्षा पाउनुपर्छ, सबैखाले विभेद अन्त्य गरिनुपर्छ र समानतायुक्त समाज निर्माण गर्नपर्छ भन्ने उत्कट मनोकांक्षाले, दाजु गंगालालको शहादतको विद्रोही भावनाले र नेपाली कांग्रेसको रवैया, सिद्धान्त, दृष्टिकोण र व्यवहारले नेपाली समाजको मुक्ति, प्रगतिशिल रुपान्तरण सम्भव छैन र त्यसका लागि सर्वहारा श्रमजीवि वर्गको प्रतिनिधित्व गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टीको नै आवश्यकता छ र सो पार्टी नै अब नेपाली जनताको भरोसायोग्य पार्टी हो भनेर सुुविचारित तवरले कमरेड पुष्पलाल कम्युनिष्ट पार्टीको स्थापना गर्न अग्रसर रहनुभएको हो र खोल्नु भएको हो ।

सो कुरा कमरेड पुष्पलालले कम्युनिष्ट पार्टीको प्रथम घोषणापत्रमा यसरी अभिव्यक्त गर्नुभएको छ–‘नेपाल राष्ट्रिय कांग्रेसका दुवै दलहरु र तथाकथित नेपाल प्रजातन्त्र कांग्रेसले नेपाली जनताको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थहरुप्रति मात्र विश्वासघात गरेका होइनन्, लाज–शर्म पचाएर नेपालको अत्याचारी सामन्तवादसँग भारतको प्रतिक्रियावादी नेहरु सरकारसँग र अंग्रेज–अमेरिकन युद्धवादीहरुसँग मेलमिलाप गर्न लगातार कोशिस गरिरहेका छन् । सोभियत संघ, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा भइरहेको चिनियाँ जनताको तुफानी विजय र वर्मा मलाया, भियतनाम तथा इन्डोनेशियामा चलिरहेको औपनिवेशिक मुक्ति आन्दोलनको विरुद्ध उनीहरु आफ्ना भाषण र मुखपत्रहरुमा विषैला छेड्खानाहरु प्रस्तुत गर्दैछन् ।

उनीहरुको भनाइ अनुसार त्यो घृणित राणा सरकार नेपालका श्रमजीवि जनताको साझा वैरी होइन । उनीहरुको प्रचार अनुसार कम्युनिज्म र कम्युनिष्टहरु नेपालका निमित्त ठूलो खतरा हुन । यहाँसम्मकी कम्युनिज्मविरुद्ध उनीहरुको लडाईंको ‘पवित्र लडाईं’ को दौरानमा नेपाली जनताको रगतले रङ्गिएको राणाहरुको हातसँग आफ्ना हात मिलाउन उनीहरु राजी छन् ! कम्युनिज्मप्रति उनीहरुको यस ब्वाँसे–घृणामा कुनै नयाँ चिज छैन । यो नीति विश्वभरीका जनताका बैरीहरुको एकदम प्रख्यात र गए वितेको नीति हो । कम्युनिज्मविरुद्ध लड्ने बहाना गरेर अनुचित तरिकाले कमाइएको पूँजीको रक्षाको निमित्त उनीहरु शोषित जनतासँग नै लड्दछन् ।

…कम्युनिष्टहरु पसिना चुहाउने जनताकै संघर्षलाई अगाडि बढाउने भएका हुनाले यी विश्वासघातीहरुले कम्युनिष्टहरुविरुद्ध आफ्नो सबै बल लगाउनु त स्वभाविकै हो । शोषित जनताको अगाडि आफ्नो विश्वासघाती काममा पर्दा हाल्न र शोषकहरुको दलाली गर्नको निम्ति उनीहरुले ‘तेस्रो बाटो’ को जाली नारा उठाएका हुन् । तर आज ‘तेस्रो बाटो’ हुनै सक्दैन । बाटोको बीचको नीति हुनै सक्दैन । … आफ्ना विश्वासघाती अनुहारहरुलाई ढाक्न र प्रतिक्रियावादीहरुसँगको आफ्नो मेलमिलापलाई लुकाउन यी नकचराहरुले ‘तेस्रो बाटो’ को नारा लगाएका हुन् । यसो गर्नु नक्कली राजनीति गर्नु हो । नेहरुको ‘तेस्रो बाटो’ को नमुना नै यसको मनग्गे प्रमाण हो । नेहरु पहिले त ‘तेस्रो बाटो’ भनेर कड्के तर केही महिनापछि नै उनी सामन्तवाद–पूँजीवाद–साम्राज्यवादको संयुक्त गुटमा आएर उत्रे, अंग्रेज अमेरिकन युद्धवादी गुटमा हाजिर भए । ‘तेस्रो बाटो’ को अनिवार्य नतिजा यहि हो । अन्तर्राष्ट्रिय सामाजिक प्रजातन्त्र, यो केवल जाली निशाना हो–मजदुर वर्गप्रतिको विश्वासघातको झण्डा हो ।’

यसरी उहाँले नेपाली कांग्रेसको कार्यालय सचिव जस्तो गरिमामय पदमा रहेता पनि सो पार्टीको नीति सिद्धान्त र दृष्टिकोणमा गम्भिर असहमति प्रकट गरेर नेपाली कांग्रेस परित्याग गरेर श्रमजीवि वर्गको सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको देखिन्छ । कम्युनिष्ट पार्टी खोल्नुको औचित्यको वारेका कमरेड पुष्पलाले भन्नु भएको छ–‘प्रत्येक वर्गको स्वार्थ भिन्ना भिन्नै हुने हुनाले एउटै संगठनले सै वर्गको स्वार्थलाई प्रतिनिधित्व गर्न सक्दैन ।

अतः भिन्ना–भिन्नै वर्गको अलग–अलग राजनैतिक संगठन हुन आवश्यक हुन्छ । यस्तो राजनैतिक संगठनमा एक वर्गका सबै व्यक्तिहरु सरिक हुन सक्दैनन् । उनीहरुको चेतनाको स्तरले गर्दा यो सम्भव छैन । अतः पार्टी भन्नाले कुनै पनि वर्गको सबभन्दा चेतनशिल, लडाकु, संगठित र अनुशासित दस्तालाई हामीले बुझ्नु पर्दछ ।’ यसरी उहाँले नेपालका श्रमजीवि वर्गको असली पहरेदारी रुपमा कम्युनिष्ट पार्टीलाई उभ्याउनु भएको थियो र औचित्य पुष्टि गर्दैै प्रजातन्त्र, समानता र समृद्धि हुँदै वर्गीय मुक्तिका लागि कम्युनिष्ट पार्टी खोल्नु भएको देखिन्छ । सोही नाराको वरिपरी आज नेपालका ७० प्रतिशत जनता गोलवन्द भएका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको मार्गदिशालाई दिशावोध गर्ने एउटा सिद्धान्तकारको रुपमा र नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवको रुपमा कमरेड पुष्पलाललाई नेपाली कम्युनिष्ट आन्दोलनले सम्झना गरिरहने छ ।

२) धेरै कुरामा प्रथम हुने नेता क. पुष्पलाल 

प्रथम हुने अवसर सबैलाई कहाँ मिल्छ र ? तर कमरेड पुष्पलाल धेरै कुरामा प्रथम हुनु भएको छ । उहाँ नेपाली राष्ट्रिय कांग्रेसको पनि प्रथम कार्यालय सचिव रहनु भएको थियो । जहाँ बसेर उहाँले नेपाली कांग्रेसको असली चरित्र, व्यवहार र सिद्धान्तलाई गहिरो गरी नियाल्नु भयो र सो पार्टी नेपाली श्रमजीवि वर्गको भरोसायोग्य पार्टी नभएको कुरा पत्ता लगाउनु भयो । सो कुरा पत्ता लगाई नेपाली श्रमजीवि वर्गका असली सारथीको रुपमा उहाँकै अगुवाईमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो र सो पार्टीको प्रथम महासचिव हुनुभयो । त्यसैगरी माक्र्स एंगेल्सद्वारा लिखित कम्युनिष्ट पार्टीको घोषणा पत्रको नेपाली भाषामा अनुवाद पनि उहाँले पहिलो पटक गर्नुभएको थियो ।

माक्र्सवादको वारेमा नेपाली भाषामा लेखिएको प्रथम लेख पनि कमरेड पुष्पलालले नै लेख्नु भएको थियो । नेपाली समाजको वनौट, नेपाली समाजको चरित्र र पञ्चायती निरंकुशताविरुद्धमा वाम–बुर्जुवा शक्तिहरुको संयुक्त जनआन्दोलनले मात्र सफलता मिल्न सक्छ र जबसम्म यी दुवै शक्तिबीचको सहकार्य हुँदैन तवसम्म पञ्चायती निरंकुशताको विरुद्धमा सफलता पाउन सकिंदैन भन्ने कमरेड पुष्पलालको ठहर रहेको थियो । र, सोही विचारले ४० को दशकमा सफलता हासिल ग¥यो र कमरेड पुष्पलालको दूरदर्शितालाई एकपटक प्रमाणित पनि गरिदियो । यसर्थ संयुक्त जनआन्दोलनका प्रथम नेता प्रणेताको रुपमा र अनवरत सम्झौताहिन संघर्ष गर्ने निष्ठावान प्रथम गणतन्त्रवादी राजनेताको रुपमा कमरेड पुष्पलाललाई नेपाली राजनीतिले सधैं स्मरण गरिरहेन छ ।

३) चिन्तक, लेखक, विश्लेषक, गहन अध्येता र दूरदर्शी नेताको रुपमा क. पुष्पलाल 

समाज विकासको प्रक्रियामा हरेक समाजमा अग्रणीहरु हुने गर्दछन् । हरेक समाजले परिवर्तनको प्रवाह गर्ने व्यक्तिहरुको खोजी गरिरहेको हुन्छ । परिवर्तनकामी आन्दोलनहरुले नयाँ नयाँ व्यक्तित्व र विभूतिहरुको जन्म गराउने गर्छ । उनीहरुको अगुवाईमा सिङ्गो समाज र राष्ट्र प्रवाहित भइरहेको हुन्छ । सोही क्रममा नै देशले नयाँ दिशा लिने गर्छ । १९९७ सालको हत्या प्रकरणदेखिको १० वर्षे परिवर्तनको प्रवाहले २००७ मा नेपालमा प्रजातान्त्रिक आन्दोलन सफल भएको छ र सो आन्दोलनले जन्माएको युग पुरुषको नाम हो कमरेड पुष्पलाल ।

कमरेड पुष्पलाल श्रमजीवि वर्गको मुक्ति आन्दोलनको भव्य नाम हो । कमरेड पुष्पलाल संघर्षको पर्याय हुनुहुन्थ्यो । समाजलाई ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट व्याख्या गर्ने नेताको नाम हो कमरेड पुष्पलाल । उहाँले सिद्धान्त अनुसारको भौतिक स्थिति खोज्ने होइन, भौत्तिक स्थिति अनुसारको सिद्धान्त खोज्नु पर्ने कुरामा निरन्तर जोड दिनुभएको छ । नेपालको इतिहास राजतन्त्रबाट शुरु भएको हो भन्ने पहिले लेखिंदै आएको इतिहासमा उहाँले खण्डन गर्दै नेपालमा मातृ सत्तात्मक समाज भन्ने शीर्षकमा निक नै महत्वको सुल्टो प्रकारकोे लेख प्रकाशित गर्नु भएको थियो ।

सो लेखद्वारा इतिहास, अन्वेषण र लेखनको नयाँ आयाम नयाँ परम्पराको थालनी भयो । नेपालमा राजतन्त्रको उत्पति, विकास र भविष्य, नेपालमा जनआन्दोलनको इतिहाँस र भानुभक्तको योगदान आदिका विषयमा उहाँले निकै नै विश्लेषनात्मक ढंगले प्रस्तुत गर्नु भएको पाइन्छ । कमरेड पुष्पलाल इतिहास दर्शन र समाजशास्त्र जस्ता विषयमा गहन अध्ययन गर्ने अध्येताको रुपमा हुनुहुन्थ्यो । उहाँको मौलिक प्रतिभा, निरन्तर खोज अनुसन्धान र अध्ययन र अनवरत संघर्षले गर्दा उहाँमा वस्तुस्थितिलाई वुझ्ने व्याख्या गर्र्ने र निचोड निकाल्ने र आगामी भविष्यको वारेमा स्पष्ट दृष्टिकोण राख्न सक्ने क्षमातको विकास भएको पाइन्छ ।

कमरेड पुष्पलालले नेपालको राष्ट्रियता, जनवाद र सामन्तवादको विषयमा यसरी स्पष्ट दृष्टिकोण सार्नु भएको देखिन्छ–‘हाम्रो देशमा ३० हजार गाउँ छन् । यी ३० हजार गाउँलाई हेर्दा हामीहरु देख्दछौं कि हजारौं झुपडीबीचमा एउटा विशाल महल खडा भएको छ । हजारौं झुपडीको कमाई तिनै महलहरुमा जम्मा भएको छ । यिनै विशाल महलहरु नेपालका स–साना राजदरवारहरु हुन् । यिनै स–साना राजदरवारका सामन्तहरुको एकता कायम गर्न र यिनीहरुको हितको रक्षा गर्न केन्द्रमा विशाल राजदरवार खडा भएको छ ।

यिनै ३० हजार गाउँको चित्रमा नेपालका समस्त क्रान्तिकारीहरुको उद्देश्य र एकताको आधार के हुनसक्छ भन्ने कुरा देख्न सकिन्छ । वर्तमान नेपालको सन्दर्भमा राष्ट्रियता र जनवाद को आशय के हो भन्ने कुरा पनि यिनै ३० हजार गाउँका लाखौं झुपडीलाई अगाडि राखेर हेर्दा स्पष्ट हुन्छ । यसरी हेर्दा यिनै लाखौं लाख झुपडीको एकता वर्तमान सन्दर्भमा नेपालको राष्ट्रियता हो र यिनीहरुको हक र हितको सुरक्षा जनवाद हो ।’ यसरी उहाँले नेपाली जनताको प्रगतिको वाधक सामन्तवाद, राजतन्त्र र राजदरवार हो र ती वाधक तत्वलाई खतम नपारी, गणतान्त्रिक नेपालको स्थापना नगरी नेपाली जनताको अग्रगति हुने छैन भन्ने सुस्पष्ट विचार पस्कनु भएको छ । यसर्थ कमरेड पुष्पलाल अध्ययनबाट खारिएको एक दूरदर्शी नेताको रुपमा समेत स्थापित नाम हो । नेपाली राजनीतिले उहाँलाई एक दार्शनिकको रुपमा सम्झना गरिरहने छ ।

४) कमरेड पुष्पलालमा अविचलित र क्रान्तिकारिता 

नेपाली कम्युनिष्ट पार्टीमा गलत चिन्तन र प्रबृति शुरुवाती कालदेखि नै हुँदै आएको पाइन्छ । गुटवन्दी र निहित व्यक्तिगत स्वार्थ र टकरावका कारण कमरेड पुष्पलाललाई धेरैचोटी कर्नरमा पारिएको छ । अल्पमतमा पारिएको छ । तथापि क्रान्तिप्रतिको दृढ विश्वास, निरन्तरको निष्ठावान संघर्षमा कमरेड पुष्पलाल कहिल्यै पनि डगमगाउनु भएन । बरु निरन्तर क्रान्तिप्रति आस्था जगाउँदै, शत्रुसँग सम्झौताहिन संघर्ष गर्दै आफ्नो स्वाभीमानी शीरलाई कहिल्यै झुक्न नदिई प्रत्येक घर झुपडीमा सुनौलो उज्यालो विहानीको सपना ोकाउने काममा कमरेड पुष्पलाल लागिरहनु भयो ।

महासचिवबाट हटाइँदा होस् या अल्पमतमा पर्दा होस्, उहाँले क्रान्तिकारी विचारको पैरवी गर्न छोड्नु भएन र निरन्तर क्रन्तिका निम्ति लागिरहनु भयो र त उहाँ अहिले सबै नेपाली कम्युनिष्ट पार्टीका महान व्यक्ति हुनु भएको छ । उहाँले जीवनको उत्तराद्र्धतिर दिल्लीस्थित गोविन्दवल्लभ पन्त अस्पतालको वेडबाट अन्तिम सन्देश यसरी पठाउनु भएको देखिन्छ, ‘पार्टी कार्यकर्ता राजनीतिक रुपले चेतनशिल हुनुपर्छ, जनता संगठित हुनुपर्छ, क्रान्ति अवश्यम्भावी छ यसलाई कसैले रोकेर रोक्न सक्दैन ।’ यी पंक्तिले कमरेड पुष्पलाल एक असल क्रान्तिकारी नेताका रुपमा हामीलाई सम्झाइरहने छ ।

५) नेपाल कम्युनिष्ट पार्टीको निर्माण पुष्पलालप्रति सच्चा सम्मान

कमरेड पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गर्दा भन्नु भएको छ, ‘नेपालका जनताले एउटा भिन्नै बाटो लिनुपर्छ । त्यो बाटो हो–विश्व जनवादी शिविरसँग सक्रिय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपालकमाथिको साम्राज्यवादी–पूँजीवादी अधिपत्यलाई पूरै खतम पार्नु र मजदुर वर्गको नेतृत्वमा मेहनती जनताको जनवादी राज्य स्थापना गर्नु, यस्तो राज्य व्यवस्था स्थापना गर्नु जसमा जनता राष्ट्रको सम्पत्तिको मालिक हुनेछन् र त्यसलाई आफ्नै फाइदाका लागि विकसित गर्नेछन् । नेपाली जनताले जनवादी र समाजवादी व्यवस्थाको निम्ति लड्नै पर्छ । समाजवादको विजयी देश समाजवादी सोभियत गणतन्त्र संघ, पूर्वी युरोपका जनवादी राज्यहरु नयाँ चीन र उत्तर कोरिया तथा औपनिवेशिक राष्ट्रको संघर्षरत जनताको अनुभवले जसरी सर्वत्र उत्पीडित जनताहरुलाई अभिप्रेरित गरिरहेका छन्, नेपाली जनतालाई पनि दिन प्रतिदिन यस गौरवले अघि बढ्ने प्रेरणा दिदैछ ।’

यसरी विश्व कम्युनिष्ट आन्दोलनको सफलताले प्रेरणा लिने हामी कम्युनिष्टहरु नेपालकै मौलिकतामा अडिएर एउटै कम्युनिष्ट पार्टी किन नबनाउने ? यो यक्ष प्रश्न हामी नेपाली कम्युनिष्टहरुका सामु खडा भएको थियो । के कम्युनिष्ट पार्टीहरुको ध्येय व्यक्तिगत स्वार्थ र गुटवन्दीमा रमाउनु हो त ? के उनीहरुको कल्पना कमरेड पुष्पलालको भन्दा पृथक छ ? विल्कुल छैन । भनेर धेरै पटक बहस छलफल विमर्श गरिएका थिए । अक्सर कमरेड पुष्पललाको स्मृति दिवसको दिन कम्युनिष्ट एकताको चर्चा हुने गर्थे । यस्ता वहस कहिले चर्को स्वरमा त कहिले मनिसो स्वरमा उठान भएका भएकै थिए र कम्युनिष्ट पार्टीको स्थापनाको ६९ वर्षपछि र फुटको करीब ५० वर्षपछि पार्टी एकता सम्भव भएको छ ।

नेपाल कम्युनिष्ट कम्युनिष्ट पार्टी नामाकरणका साथ पार्टी निर्माण गरिएको छ । नेपाली समाजको अग्रगतिको लागि यो अत्यन्त गौरवपूर्ण क्षण हो । यो ६९ वर्षे यात्रा संघर्षको यात्रा र अधिकार प्राप्तीको यात्राको रुपमा रहेको छ । यी अवधिमा नेपाली कम्युनिष्ट आन्दोलन एउटा नेता शक्तिको रुपमा देशको वहुसंख्यक जनसमुदायको भरोसायोग्य पार्टीको रुपमा विकसित भएको छ । लोकतन्त्र अकाट्य प्रतिवद्धता भएको छ । कम्युनिष्ट पार्टी पनि बुर्जुवाहरुसँग प्रतिष्पर्धा गरेर प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्न सक्छ र क्रान्तिपूर्व पनि सरकारको नेतृत्व गर्दै प्रगतिशील रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने कुरा देखाएको छ । इतिहाँसमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीले एकल वहुमत प्राप्त गरेको छ । यो असाधरण उपलब्धी हो । परिवर्तनको प्रवाह तीव्ररुपमा अगाडि बढाएको कम्युनिष्ट पार्टीले समृद्धिको अभियान बायुपंखी गतिमा बढाउनु पर्नेछ । यसलाई कुनै वहानावाजीको विकल्प रहेको छैन । यति वेला स्वर्गमा शायद पुष्पलाल वहुत खुशी मनाईरहेका होलान् । मेरो सपना साकार पार्ने ऐतिहासिक अवसर यसै बेला भएको छ भनेर आर्शिवाद प्रदान गरिरहेका होलान् । यो देशबाट सामन्तबादको अन्त्य भएको छ । यसका केही अवशेष बाँकी रहेका छन् ।

देश पूँजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको छ । यो देशमा जमिन भएकै भरमा शासन सत्ता चलाउने परिपाटी छैन । तर देश दिन प्रतिदिन परनिर्भर हुँदै गइरहेको छ । वेरोजगारी बढ्दो छ । गाउँ बृद्धाश्रममय हुन थालेका छन् । अव देश निर्माणको योजना नबनाउने हो भने राजनीतिमा वितृष्णा शिवाय केही प्राप्त हुनेवाला छैन । अबको ५-१० र ३० वर्षमा देशलाई कस्तो देश बनाउने हो । कम्युनिष्ट पार्टीको स्थापनाको १०० वर्षमा नेपालको मुहार कस्तो हुने हो । र, नेपाली जनता सुखी भएको समानता छाएको योग्यता अनुसारको काम र काम अनुसारको दाम कहिले कहिले पूरा हुने हो । यी विषमा वहस गर्नुपर्ने भएको छ र यिनै विषयवस्तुमा अडिएर आगामी दिनमा कम्युनिष्ट पार्टीको सरकार अगाडि बढ्नु पर्छ । संविधानमा लेखिएको समाजवाद कसरी कसरी प्राप्त गर्ने हो । त्यसको लागि क–कसले के के गर्नुपर्ने हो ? कति समयमा कति काम गर्नु पर्ने हो ? यसको योजना बनाउनु पर्नेछ । यिनै विषयमा अडिएर बाँकी रहेका कम्युनिष्ट पार्टीले पनि यो एकताको अभियानलाई साथ दिनु पर्छ र एकतावद्ध हुनुपर्छ । त्यसो गर्दा कम्युनिष्ट पार्टी स्थापनाको महत्व हुनेछ । संस्थापक महासचिव कमरेड पुष्पलालप्रतिको सच्चा श्रद्धा, सम्मान र श्रद्धाञ्जली हुनेछ ।
(लेखक युवा संघ नेपाल स्थायी कमिटी सदस्य हुन्)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७