प्रहरी कर्मचारीलाई निजामतीमै जस्तो ग्रेड सुविधा


८ माघ २०७५, मंगलवार
nepal police sketch

काठमाडौं, ८ माघ । गृह मन्त्रालयका अनुसार समायोजनमा जान चाहने प्रहरी कर्मचारीलाई निजामतीमा जस्तै ग्रेड सुविधा दिएर पठाइने छ ।

nepal police sketch

जसअनुसार प्रदेशमा जान चाहने प्रहरी कर्मचारीको सेवासुविधा साबिकको भन्दा एक ग्रेड बढ्नेछ । समायोजनमा संघ नै रोज्ने प्रहरी कर्मचारीको हकमा भने यो नियम लागू हुनेछैन । समायोजन सहज होस् भन्ने उद्देश्यले विधेयकमा यस्तो उल्लेख गरिएको गृहको भनाइ छ ।

‘निजामती कर्मचारीजस्तै प्रदेशमा जान चाहने प्रहरी कर्मचारीको साबिकको भन्दा एक ग्रेड बढुवा हुने गरी समायोजन विधेयक तयार भई मन्त्रिपरिषद्मा पुगेको छ । निजामती कर्मचारीको समायोजन विधि अपनाइएकोे हो,’ गृहका एक सहसचिवले भने, ‘यसले प्रदेश जान चाहने प्रहरी कर्मचारीलाई उत्साहित पार्नेछ र समायोजन प्रक्रिया सजिलो र सहज पनि हुनेछ ।’

गृहले यसअघि समायोजनपछि प्रदेश जान चाहने प्रहरी कर्मचारीको ग्रेड नभई तह नै बढुवा हुने गरी समायोजन कानुनको मस्यौदा तयार गरेको थियो । तर, वैज्ञानिक नहुने देखिएपछि यो विधिलाई गृहले छाडेको छ । ‘समायोजन ऐनको मस्यौदा तयार गर्दा एक तह बढुवा हुने गरी नै भएको हो ।

व्यापक रूपमा छलफल हुँदा यो त्यति वैज्ञानिक देखिएन, किनकि यसले प्रहरीको चेन अफ कमान्ड बिग्रनेजस्तो देखियो,’ ती सहसचिवले भने, ‘सुरक्षाजस्तो संवेदनशील विषयमा यस्तो व्यवस्था नराखौँ भन्ने विज्ञको सुझाब आएपछि हटाइएको हो ।’ नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७