ठेकेदारले छाडे पनि मेलम्ची समय सीमाभित्रै सकिन्छ : मन्त्रालय


४ पुष २०७५, बुधबार
khane

काठमाडौं, ४ पुस । काठमाण्डौंबासीले वर्षौदेखि प्रतिक्षा गरिरहेको मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले काम छोडेको समाचारले निरास बनाइरहेका बेला खानेपानी मन्त्रालयले भने मेलम्चीको काममा कुनै पनि अवरोध नआउने स्पष्ट पारेको छ ।

khane

आयोजना निर्माणमा संलग्न इटलियन कम्पनी को–अपरेटिभ मुरातोरी सिमेस्ट्री (सिएमसी) ले आयोजना निर्माणको अन्तिम समयमा काम छाडे पनि आयोजनाको काम नरोकिने खानेपानी मन्त्रालयले दावी गरेको छ ।

ठेकेदार कम्पनीसँगको समस्या हल गर्दै तोकिएकै समय सीमाभित्र आयोजना पूरा गर्न मन्त्रालयले कुनै कसर बाँकी नराखिने जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘पछिल्लो समय ठेकेदार कम्पनीका कामदारहरूको लापर्वाहीले गर्दा विकसित परिस्थितिले आम जनतामा आयोजनाप्रति भ्रम सिर्जना भएको जनाइएको छ । तर निर्धारित कार्यतालिका प्रभावित नहुने गरी आयोजना निर्माण कार्यका लागि विभिन्न विकल्पमा छलफल भइरहेको छ ।’

मन्त्रालयले सोमबार र मंगलबार समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधि, परामर्शदाता इप्टिसा, एसियाली विकास बैंकलगायत सरोकारवाला संस्था र ब्यक्तिहरुसँग विभिन्न चरणमा परामर्श गरेको छ ।

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरका अनुसार कानुनअनुसार जुनसुकै विकल्प प्रयोग गरेर भए पनि अयोजना समयमै सकिने छ ।

विज्ञप्तीमा भनिएको छ, ‘अहिलेकै (सीएमसी) ठेकेदारले काम नगर्ने अवस्थामा पनि समय सीमाभित्रै आयोजन सम्पन्न गर्न मन्त्रालय तयार छ’ स्रोतका अनुसार ठेकेदार कम्पनीले कानुन अनुसार राखेको करिब ३ अर्व रुपैयाँ घरौटी जफत गरेर सरकार आफैले काम बढाउने विकल्पमा पनि छलफल भएको छ ।

मन्त्रालयले परामर्शदाता कम्पनी इटिप्सालाई आयोजनाको सुरुङको प्राविधिक अवस्था मूल्याकंन गरी एक साता भित्र प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ ।

आयोजना पूरा हुन ४६ दिन मात्र बाँकी रहँदा सीएमसीका प्रमुख म्यानेजर क्रिष्टियानो ग्रेसहितको टोलीले निर्माण कार्य छाडेर हिंडेका थिए ।

सिएमसीले भूकम्प, नाकाबन्दीलगायत विभिन्न कारणले आयोजना निर्माणमा भएको ढिलाइका कारण निर्माण कम्पनीले थप क्षति व्यहोर्नुपरेको भन्दै क्षतिपूर्ति रकम आयोजना समक्ष मागदाबी गरेको थियो ।

तर सो बापतको रकम आयोजनाबाट पाउन नसकेपछि सिएमसीले २ साताअघि नै काम छाड्ने सूचना दिएको थियो । तर आयोजनाले समयमै सुनुवाई नगरेको भन्दै उनीहरु काम छाडेर स्वदेश फर्कन खोजेका थिए ।

खानेपानी मन्त्रालयले भने ठेकेदारले एकतर्फीरुपमा लापर्वाही गरी काम छाडेको आरोप लगाएको छ । गत आइतबार म्यानेजर ग्रेसहितका आठ जनालाई नियन्त्रणमा लिएर उनीहरुको राहदानी समेत सरकारले जफत गरेको छ ।

मेलम्ची आयोजना वि.सं. २०६५ सालमा सीआरसीसी नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तर उक्त कम्पनीले काममा लापरवाही गरेपछि वि.सं. २०६९ आसोज ९ गते निमार्ण सम्झौता भंग भएको थियो ।

खानेपानी मन्त्रालय अन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले सीएमसी कम्पनीसँग ३६ महिनाभित्र आयोजना सम्पन्न गर्नेगरी वि.सं. २०७० असार ३१ गते दोस्रो निर्माण सम्झौता गरेको थियो । सीएमसी कम्पनीसँग ७ अर्ब ७२ करोड ३४ लाख ७१ हाजार ३ सय ४२ रुपैयाँमा सम्झौता भएको थियो । आयोजनाको ९० प्रतिशत भन्दाबढी निर्माण कार्य सम्पन्न भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७