बुन्डेस लिगामा बायर्नको फराकिलो जित
काठमाडौं, ५ असार (एजेन्सी) । जर्मन बुन्डेस लिगामा साविकको विजेता बायर्न म्युनिखले फारकिलो जित निकालेको छ । घरेलु टोली बायर्नले १० खेलाडीमा समेटिएको कोलोग्नमाथि ४–० को फराकिलो जित निकालेको हो ।
बायर्नको लागि फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई तथा फिलिपे कौटिन्हो र इभान पेरिसिसले समान एक गोल गरे ।
एलिनाज एरिनामा खेलको तेस्रो मिनेटमा नै रोवर्ट लोवान्डोस्कीले जोसुवा किम्मिचको पासमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० ले अघि बढाए ।
दोस्रो हाफमा बायर्नले ३ गोल गर्न सफल भयो । ४८औं मिनेटमा रोवर्टले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई सहज जिततर्फ अग्रसर गराए ।
५९औं मिनेटमा कोलोग्नीका किङ्सले इजिवु सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि ६२औं मिनेटमा फिलिपे कौटिन्होले गोल गरे । बायर्नले खेलमा ३–० को अग्रता लियो । कौटिन्होको बुन्डेस लिगामा पहिलो गोल हो ।
७३औं मिनेटमा कौटिन्होको पासमा इभान पेरिसिसले गोल गर्दै बायर्नलाई ४–० को फराकिलो जित दिलाए ।
जितसँगै बायर्न ५ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित कोलोग्न ३ अंक जोडेर १६औं स्थानमा छ । े