‘हामी लाहुरेहरु भूपीको चेसका गोटी जस्तै भयौं’

काङमाङ नरेश राईको परिचय अनेक छ । उनी अवकाश प्राप्त गोर्खा सैनिक हुन् । एउटा घाइते सिपाही पनि । कवि तथा आख्यनकार । एकजना अभियान्ता र सामाजिक कार्यकर्ता पनि ।

भूतपूर्व गोर्खा सैनिक अर्थात् लाहुरे
भोजपुरमा जन्मिएका नरेश उच्च शिक्षाका लागि धरान झरेका थिए । भोजपुरदेखि पिखुवा र अरुण तरेर झर्दै गर्दा उनको दिल-दिमागमा लाहुर र लाहुुरे थिएन । थियो त, ‘वकिल बन्ने सपना ।’ भन्छन्, ‘वकिल बन्ने सपना बोकेर भोजपुरबाट धरान झरेको थिएँ ।’

कालो कोटमा सजिएर वकालती गर्ने सपना थियो । तर, धरानले सपना बदलिदियो । बाटो बदलिदियो । धरान पूर्वको लाहुरेहरुको शहर हो । उतिबेला धरान यस्तो शहर थियो, जहाँ बस्नेहरुलाई लाहुरे सपनाबाट टाढा हुने छुट कसैलाई पनि थिएन ।

धरानका ठुला ठुला घरहरु । सुकिला मुकिला मान्छे । सुखमय जस्तो देखिन जीवनशैली । यी सबै गोर्खा भर्ती अर्थात् लाहुरसँग जोडिएका हुन्थ्थे । नरेश पनि त्यो सपनाबाट टाढा हुने कुरै भएन । भोजपुरबाट लाहुरे बन्ने सपना बोकेर धरान झेरका नरेश २०५६ सालमा गोर्खा भर्तीमा लागे । अर्थात् उनी लाहुरे बने । तर, उनले सोचे जस्तो थिएन, लाहुर ।

घाइते सिपाही
लाहुर जान अघि अथवा गएपछि जो कोही मानसिक रुपमा युद्धका लागि मनोवैज्ञानिक रुपमा तयार हुन्छन् । नरेश पनि तयारै थिए । तर, उनले युद्ध लड्न पाएनन् । तालिमको क्रममा नै उनी घाइते भइगए । नरेश शरिर बाहिरबाट हेर्दा राम्रो देखिन्छ । तर, तालिमको क्रममा लागेको चोटको कारण उनको शरीर छिया–छिया जस्तै छ ।

एउटा खुट्टामा गम्भीर समस्या छ । त्यही कारण उनी युद्धमा जान परेन । उनीसँगैका धेरै साथीहरु इराक, अफगान लगायतका देशमा बन्दुक बोकेर पुगे । तर, त्यो बेला उनी अस्पताल धाइरहेका थिए । युद्ध लड्न नपाएको कुनै गुनासो छ की ? ‘तालिमा घाइते हुनुभन्दा युद्ध लड्दा नै घाइते भएको भए हुन्थ्यो जस्तो लागिरहन्छ,’ उनले सुनाए, ‘युद्ध नै नलडी घाइते शरिर बोकेर हिड्दा पीडा भएको छ ।’

कवि तथा साहित्यकार
उनी अहिले अवकाश प्राप्त गोर्खा सैनिक हुन् । लाहुरबाट अवकाश प्राप्त गर्दा उनीसँग युद्धका कुनै तक्मा थिएनन् । तर, उनले आफ्नो घाइते शरीर लिएर पीडाको बीच पनि अध्ययनलाई भने तेज गतिमा लगे । साथीभाई, सर्कल–समुह बनाएर अध्ययन गरे । भन्छन्,‘मैले तुलनात्मक रुपमा घाइते शरीर बोकेर भएपनि अध्ययन गर्ने समय चै अरु साथीहरु बढी नै पाएँ ।’

त्यही कारण उनी एउटा सिद्धहस्त लेखक बने । उनका सात कृर्तिहरु प्रकाशित छन् । कविता, कथा र उपन्यास लेखेका छन् । उनको पछिल्लो कृर्ति हो कथा संग्रह, ‘एघार नोभेम्बर ।’ उनी सहित अप्जसे कान्छा, गणेश राई लगायतले युद्ध साहित्य लेखनको अभियान चलाएका छन् ।

यो कथा संग्रहलाई त्यही युद्ध साहित्यकै एउटा कृर्ति भएको बताउँछन् नरेश । गोर्खा भर्ती, गोर्खा भर्तीभित्रको कथा र त्यसले उब्जाएका समस्याहरुलाई उनले कथामा बुनेमा छन् । युद्धका कारण प्रियजन र आफन्ता गुमाएको कथा लेखेका छन् ।

अभियान्ता
नरेश प्रष्ट बोल्छन् । आफ्ना विचार बढो स्पष्ट राख्छन् । उनी एकजना अभियान्ता पनि हुन् । पहिचान र परिचयसँग गाएिको सामाजिक र राजनीतिक अभियानमा समेत उनी सामेल भए ।

गोर्खा सैनिकहरुको अधिकार प्राप्तीको आन्दोलनमा पनि उनी उत्तिकै भिडेर लागे । उनै काङमाङ नरेश राईसँग नयाँ पेजका लागि भिडियो संवाद गरेका छन् । गोर्खा भर्तीको सपना, भर्ती भित्रको पिडा, युद्ध साहित्य र बेलायतमा गोर्खाहरुको भबिष्य बारेमा हामीले बहस गरेका छौं ।

हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्