समायोजन भइ स्थानीय तहमा खटिएका कर्मचारी हाजिरै नगरी फिर्ता पठाइए


२६ चैत्र २०७५, मंगलवार
karmachari

काठमाडौं, २६ चैत । समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता भएका छन् ।आजको नेपाल समाचारपत्रमा समाचार छ ।

विभिन्न स्थानीय तहले आवश्यक कर्मचारी रहेकाले मन्त्रालयबाट खटाइएका बिना दरबन्दीका कर्मचारीहरूलाई हाजिर गराउन नसकिने कारण देखाई हाजिरै नगरी फकाईदिएका हुन् ।

काठमाडौं महानगरले त समायोजन भएर आएका कर्मचारी राख्न नसक्ने भन्दै फिर्ता गरेको पत्र नै पठाएको थियो ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, मध्यपुर थिमी र भक्तपुर नगरपालिकामा समायोजन गरी पठाएका ३० जनाभन्दा बढी कर्मचारीलाई हाजिर नगराई फिर्ता पठाइएको उक्त मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई स्थानीय तहले हाजिर नगराएपछि अन्य कर्मचारी पनि समायोजन भएका कार्यालयमा जान आनाकानी गरिरहेको मन्त्रालयले जनाएको छ।

मन्त्री लालबाबु पण्डितको संयोजकत्वमा रहेको कर्मचारी समायोजन निर्देशक समितिमा हाजिर नगराई फिर्ता पठाएका कर्मचारीको छुट्टै फाइल खडा गरी पेश गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।

हाजिर नगराउने कर्मचारीमा कार्यालय सहयोगीदेखि शाखा अधिकृतसम्म छन् । सरकारले चैत दोस्रो साता तीन तहमा गरी ९८ हजार ५ सय ६८ जना कर्मचारी समायोजन गरेको थियो । सरकारले स्थानीय तहको ६६ हजार ९ सय ८ दरबन्दीमध्ये निजामती र साविक स्थानीय तहका गरी ४३ हजार १ सय ४० कर्मचारी समायोजन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७