१३ औं साग प्रतियोगितामा नेपालले ५० बढी स्वर्ण जित्छ : महेन्द्र राई


३ मंसिर २०७६, मंगलवार
mahedra rai DG National team scaled

सन् १९८४ को सेप्टेम्बरमा दक्षिण एशियाली खेलकुद महासंघको नामबाट शुरु भएको साग खेलकुदको १३ औं संस्करण यही मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुँदैछ । तेस्रो पटक नेपालमा हुन गइरहेको सागको तयारीका विषयलाई लिएर नयाँ पेज डटकमले राष्ट्रिम टिम तयारी समिति तथा का निर्देशक तथा १३ औं साग राष्ट्रिय टिम तयारी समितिका सचिव महेन्द्र राईसँग गरिएको कुराकानी : 

तेस्रो पल्ट नेपालले साग खेलकुद आयोजना गर्ने अवसर पाएको छ । तयारी कस्तो भइरहेको छ ?

हामी प्रतियोगिता तयारीको अन्तिम क्षणमा आइसकेका छौं । राष्ट्रिय टिम तयारी समितिको कुरा गर्दा जेठ १५ गतेदेखि १२ औंं सागका स्वर्ण पदक विजेता खेलाडीहरुलाई क्याम्पमा राखेका थियौं । साउन १ गतेदेखि आठौका प्रथम, द्वितीय र तृतीय खेलाडी र आठौंमा छुटेकाहरुलाई समेटेर एक हजार १९७ जना खेलाडीलाई क्याम्प राखेका थियौं । पहिलो, दोस्रो गरेर अन्तिम चरणको छनौट गरेका छौं । ५९९ जना खेलाडीहरु अन्तिम चरणमा आइसकेका छन् । फेरि भारत्तोलनमा अन्तर्राष्ट्रिय नियम अनुसार एक दिन अगाडि मात्रै तीन–तीन गरेर ६ खेलाडी हटाउनुपर्ने हुन्छ । अन्तिममा ५९३ जना खेलाडी सागमा भाग लिन्छन् ।


नेपालले २६ खेलमा भाग लिने खेलाडीको चाँहि तयारी र शारीरिक अवस्था चाँहि कस्तो छ ?

खेलाडीको तयारी अवस्था राम्रो छ । सबै खेलको खेलाडी छनौट भइसकेका छन् । दुई देश मात्र सहभागी हुने भएकाले पाराग्लाइडिङ खेल नहुने भएको छ । यो खेल नहुँदा एक किसिमको दुःख पनि लागेको छ । यदि भई दिएको भए नेपाललाई थप स्वर्ण पदक प्राप्त हुने सम्भावना थियो । २६ खेलको बास्केटबल ३–३ हुन्छ । वीच भलिबल गरेर २८ खेलका खेलाडीहरुको अन्तिम छनौट सकेर एग्रिग्रेसन कार्डका लागि ओलम्पिक कमिटीमा पठाइसकेका छौं ।

हाम्रा खेलाडीहरुलाई देशभित्र मात्र प्रशिक्षण गराउनु भयो कि बाहिरी पनि पठाउनु भएको छ ?
आवश्यकतालाई मध्यनजर गर्दै लगभग २२–२३ वटा खेलका खेलाडीहरुलाई प्रशिक्षणका लागि विदेश पनि पठाएका छौं । अन्य त सबै नेपालीमै प्रशिक्षित खोलाडी छन् ।

बैदेशिक प्रशिक्षणमा गएका खेलाडी कहिलेसम्ममा फर्किनु हुन्छ ?
खोखोका खेलाडीहरु आइसकेका छन् । कबबडी, तेक्वान्दो, इसक्वास, जुडोलगायतका खेलाडीहरु आउँदैछन् । करीब–करीब यो हप्ताभित्र सबै खेलाडीहरु आइसक्छन् ।

साग प्रतियोगिता नजिकिंदै गर्दा फुटबलका चार खेलाडी एन्फाको कारबाही परेका छन् यसलाई चाँहि कसरी लिनु भएको छ ?

फुटवलका यी खेलाडीमाथि अनुशासनको कारबाहीको कुरा आएको छ । खबर सुनेपछि मैले तुरुन्तै फोन गरेर एन्फाका उपाध्यक्ष पंकज नेम्बाहाङ र प्रक्षिक (कोच) बालगोपाल महर्जनलाई सोधेको छु । उहाँहरुले बैठक बस्दैछौं भन्नु भएको छ । त्यसपछि एन्फाका महासचिव इन्द्रमान तुलाधारसँग पनि कुरा गरें । यसमा एन्फाले गर्ने निर्णयको महत्व रहन्छ । एन्फा, प्रमुख प्रशिक्षकले के गर्ने भनेर पत्र पठाएपछि ती खेलाडीका विषयमा के गर्ने भनेर हामी निर्णय गर्छौ ।

भारतमा भएको १२ औं साफमा नेपालले तीन वटा मात्र स्वर्ण हात पार्न सफल भएको थियो । यो पटक फेरि आफ्नै देशमा साग प्रतियोगिता हुँदैछ कति स्वर्ण पदकको अपेक्षा गर्नु भएको छ ?
हाम्रो आंकलन र अपेक्षा ५० भन्दा बढी स्वर्ण जित्ने हो । ५० स्वर्ण जित्ने आधारहरु नेपाली खेलाडीहरुमा प्रशस्त देखेका छौं ।

नेपालले कुन खेलमा चाँहि धेरै स्वर्ण जित्ने सम्भावना छ ?
हामीले सबै भन्दा बढी मार्सल आर्टबाट स्वर्ण पदकको अपेक्षा गरेका छौं । उसु, तेक्वान्दो, कराते, जुडो, फुटबलमा पनि आशा छ । यस्तै अस्ती भर्खरै सेन्ट्रल जोन एशियन भलिबलमा नेपालले स्वर्ण जितेर आएको छ । त्यसमा पनि हामीलाई पूर्ण आशा छ । आठौंमा १४ खेल समावेश गरिएका थिए । यसपालि २७ वटामा २६ वटा खेल हुँदैछ । एउटा पाराग्लाइडिङ नहुने भएको छ । त्यसले गर्दा नयाँ खेलहरुमा पनि स्वर्ण जित्ने विश्वास हाम्रो छ । म आफैं पनि राष्ट्रिम टिमकोे निर्देशक र १३ औं सागको राष्ट्रिय टिम तयारी समितिको सचिवको हैसियतले २७ वटै क्याम्पमा पुगेर खेलाडीहरुको अवस्था बुझेर आएको छु । खेलाडी, प्रशिक्षकहरुको प्रतिक्रिया लिएको छु । उहाँको मनोबल उच्च छ । हामीले ५० भन्दा बढी स्वर्ण जित्ने लक्ष्य राखेका छौं ।

हुन त नेपाल होम ग्राउण्डमा खेल्दैछ । तर, खेल खेलाइने मैदान पूर्ण रुपमा तयार भइसकेको समाचारहरु आइरहेका छन्, यसले नेपालको लक्ष्यमा असर पुग्दैन ?
हो नेपाली खेलाडीको सौभाग्य भनौं उनीहरुले होम ग्राउण्डमै खेल्न पाउँदै छन् । तपाई पनि देख्न सक्नु हुन्छ अहिले दशरथ रङ्गशाला निर्माणको अन्तिम काम चलिरहेको छ । सम्बन्धित निकाय यसमा जोडतोडका साथ लागिरहनु भएको छ । एक हप्ताभित्र मैदान पूर्णरुपमा निर्माण तयार भइसक्छ । मैदानका कारण खेलमा असर पुग्छ जस्तो लागेको छैन ।

प्रशिक्षण केन्द्रमा केहि खेलाडीहरुले क्याम्प राम्रो भएन भन्ने गुनासो गरेको सुनिन्छ, के यो वास्तविक हो ? खेलाडीको यस्तो गुनासो सुनिनुमा कसको कहाँ कमजोरी भयो ?

१३ औँ सागको मिति दुई पटक सरिसकेको थियो । म असार ४ गते राष्ट्रिय टिम तयारी समितिको निर्देशक भएर आइसकेको थिएँ । त्यसपछि राष्ट्रिय खेलकुद परिषदको सदस्य–सचिव असारको अन्तिमतिर आउनु भयो । त्यो अवस्थामा साग खेल हुँदैन भन्ने चर्चा परिचर्चा थियो । तर, यो अवस्थामा पनि सदस्य सचिवले आँट गर्नुभयो । साग खेल हुन्छ भन्नुभयो । म निर्देशकको हिसाबले खेलाडीहरु तयार गरेर बस्ने मनस्थितिमा थिए । अलिकति कार्यबिधि समयमा पारित नभई दिएका कारण र बजेटको अभावले गर्दा दुःख सुखका साथ प्रशिक्षण गराएको कुरा पक्का हो ।

२०७२ सालको भूकम्पले खेल क्षेत्रका पूर्वाधारमा क्षति पु¥याएकाले केही खेलहरु र खेलाडीलाई थोरै असहज छ । त्यही कारणले पनि यस पटक अधिकांश खेलहरुलाई बैदेशिक प्रशिक्षणमा जान सदस्य सचिव ज्यूले कसैलाई रोक्नु भएन । १३ औं साग प्रतियोगिताका अधिकांश खेलाडीहरुले बैदेशिक प्रशिक्षण र प्रतियोगितामा जान पाएका छन् । जस्तै अहिले टेबुल टेनिस हलको मर्मत भइरहेको छ । टेबुल टेनिसका खेलाडी लगभग एक महिनाका लागि बैदेशिक प्रशिक्षणमा जानु भएको छ । हामीमा केही–केही भेन्यूहरुमा समस्या छन् । त्यही कारणले धेरै खेलहरुलाई बैदेशिक प्रशिक्षणमा पठाएका छौं । कतिपय अप्ठ्याराहरुलाई खेलाडीहरुले पनि महसुस गर्नु भएको छ ।

खेल शुरु हुने मिति नजिक आइसकेको छ , प्रतियोगिता काठमाडौं, पोखरा र जनकपुरमा हुँदैछ उताको तयारी कस्तो छ । त्यहाँका व्यवस्थापक, प्रतियोगिताका टिम व्यवस्थापकहरुसँगको समन्वय चाँहि कस्तो छ ?

म राष्ट्रिय टिम तयारी समितिको सचिव भएकाले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई हेर्ने हो । राष्ट्रिय टिम तयारी समितिले खेलाडी अन्तिम छनौट सकिसकेको छ । भोलि–पर्सीसम्ममा प्रशिक्षक र व्यवस्थापकको अन्तिम नाम फाइनल गर्नेछौं ।

हाम्रा खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन् । जनकपुरमा म जान पाएको छैन । त्यहाँबाट तयारीका कामहरु राम्रो भइरहेको खबर दिनु भएको छ । पोखरामा म दुईपल्ट पुगिसकेको छु । पोखरामा पनि तयारीका कामहरु द्रुतगतिमा भइरहेका छन् । मंसिरको पहिलो हप्ताभित्र भौतिक पूर्वाधारका सबै कामहरु पूरा हुन्छन् । म आज मात्रै खो–खो कर्भड हल कीर्तिपुर गएको थिएँ । एकहप्ता अगाडि जाँदा मलाई खेल गर्न सकिंदैन कि क्या हो भनेर आश हराएको अवस्था थियो । तर आज हेर्दा अब एक हप्तामा त्यहाँको सम्पूर्ण काम सकिने देखिएपछि उत्साह जागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७