प्रचण्डको ‘जोडबल’ ले जोगियो उपेन्द्रको मन्त्री पद, मन्त्रालय खोसियो

‘मन्त्रिमण्डल पुनर्गठन अपमानजनक, सरकारमा बस्ने वा छाड्ने विषयमा छलफल गर्छौ’


५ मंसिर २०७६, बिहीबार
upendra yadav

काठमाडौं, ५ मंसिर । कतिपय मन्त्रीहरुले चालै नपाई मन्त्री पद चट्ट भएका बेला भारतमा रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवको मन्त्री पद भने जोगिएको छ । तर, उनको मन्त्रालय भने खोसिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री यादवलाई हटाउने पक्षमा रहे पनि पार्टीका नेताहरुको आग्रह उनको मन्त्री पद जोगिएको स्रोतले जनाएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलका कारण मन्त्री यादवको मन्त्री पद जोगिएको स्रोतको भनाई छ । तर, उनको मन्त्रालय भने हेरफेर भएको छ ।

अहिले पार्टीका नेताहरुको आग्रहमा उपेन्द्र जोगिए पनि प्रधानमन्त्रीले मन्त्रालय खोसेर सरकार छाडेर गए पनि हुन्छ भन्ने सन्देश दिएको स्रोतले जनाएको छ । नेकपा निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली समाजवादी पार्टीलाई सरकारबाट हटाउने पक्षमा थिए ।

राज्यमन्त्री यादवसँगै उपप्रधानमन्त्री यादव र शहरी विकासमन्त्री मो. इस्तियाक राईलाई पदमुक्त गर्ने उनको तयारी थियो । मन्त्री यादवमाथि कार्य सम्पादन निकै कमजोर हुनुका साथै राजनीतिक नियुक्तिमा मात्र मरिहत्ते गरेको र विदेश भ्रमणमा मात्र रमाएको आरोप छ ।

तर नेकपाका शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई रोकेपछि धरापमा परिसकेको मन्त्री यादवको पद जोगिएको छ । ‘प्रधानमन्त्री त यो पटक समाजवादी पार्टीलाई सरकारबाट हटाउने पक्षमा हुनुहुन्थ्यो । अर्का अध्यक्ष प्रचण्डलगायतका नेताहरुले अहिले नहटाऔं भन्नु भयो’ स्रोतले सुनायो, ‘उहाँहरुको मन्त्री पद त जोगियो । तर मन्त्रालय भने फेरिएछ ।’

कानूनमा थन्काएपछि उपेन्द्र यादवले सरकार छाड्न सक्ने नेकपा नेताहरुको अनुमान छ । यद्यपि समाजवादी पार्टीले केही बोलेको छैन । अध्यक्ष यादव भारत भ्रमणमा रहेको र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पनि राजधानी बाहिर भएकाले सरकारको कदमबारे पार्टीमा छलफल हुन नपाएको एक पदाधिकारीले बताएका छन् ।

तर कुनै परामर्श नगरी स्वास्थ्यबाट कानूनमा पठाउँदा पनि सरकारमा बसिरहनु यादवको लाचारीपन रहेको नेताहरुको टिप्पणी छ । उपेन्द्रको सत्तामोह देखेका कतिपय नेता भने कानुन मन्त्रालयमै भए पनि उपेन्द्रले मञ्जुर हुने सम्भावना देख्छन् ।

स्वास्थ्य मन्त्रालयमा कम देखिने र विदेश भ्रमणमा व्यस्त हुने यादवमाथि देशभरी संयन्त्र रहेको मन्त्रालयका काम अलपत्र पारेको आरोप लाग्दै आएको छ । स्वास्थ्य सेवाका कर्मचारीको समायोजनमा पनि उनले चासो नदिएको आरोप छ ।

त्यसैले अहिले पार्टीका नेताहरुको आग्रहमा उपेन्द्र जोगिए पनि प्रधानमन्त्रीले मन्त्रालय खोसेर सरकार छाडेर गए हुन्छ भन्ने सन्देश दिएको नेताहरु बताउँछन् । उसो त तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएसँगै उपप्रधानमन्त्री उपेन्द्र यादवलाई सरकार छाड्न चर्को दबाव परेको थियो ।

झन् सरकारले एकलौटी रुपमा प्रदेश प्रमुखहरु हटाएपछि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति मात्र होइन, तत्कालीन फोरमकै नेताहरुले सरकार छाड्न दबाव दिए । तर यादवले मानेनन् ।

संघीय परिषद् र केन्द्रीय समिति अगाडि बोलाइएको पदाधिकारी बैठकमा उनले उपचुनाव अगाडि सरकार नछाड्ने सहमति गराए । त्यसपछि पनि सरकार छाड्नु अगाडि संविधान संशोधनका लागि निर्णायक वार्ता गर्ने उनको शर्त छ ।

तर समाजवादी पार्टीले यो निर्णय गराएको साता नबित्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरे र यादवलाई स्वास्थ्यबाट हटाएर कानुन मन्त्रालयमा धकेलिदिए । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव पदमुक्त भएका छन् । मन्त्रालय हेरफेरबारे न यादवसँग परामर्श भएको थियो न उनको पार्टीका अरु नेताहरुसँग । 

तर, यादवको मन्त्रालय मात्र फेरिएको हो । उनको उपप्रधानमन्त्री पद पनि कायम छ । सरकारमा तेस्रो वरियता पनि कायमै छ । तर बजेट र देशव्यापी सञ्जालको हिसाबले आकर्षक मन्त्रालयमा पर्ने स्वास्थ्यबाट कानुनमा गरिएको सरुवाले उपेन्द्र यादवको कार्य सम्पादनप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको भने प्रष्ट हुन्छ ।
‘मन्त्रिमण्डल पुनर्गठन अपमानजनक, सरकारमा बस्ने वा छाड्ने विषयमा छलफल गर्छौ’

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिमण्डल पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै समाजवादी पार्टीले फेरि सरकार छाड्न सक्ने जनाउ दिएको छ ।

समाजवादीबाट शहरी विकासमन्त्री रहेका मोहम्मद इस्तियाक राईले अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव दिल्लीबाट फर्केपछि यसबारे छिट्टै निर्णय गरिने बताएका छन् । बुधबार मन्त्रीपरिषद् हेरफेर गर्दा प्रधानमन्त्री ओलीले यादवको जिम्मेवारी हेरफेर गरेका छन् भने एक राज्यमन्त्रीलाई हटाएका छन् ।

बुधबार काठमाडौंमा मन्त्रिपरिषद हेरफेर हुँदै गर्दा उपप्रधानमन्त्री उपेन्द्र यादव दिल्लीमा भाजपाका महासचिव राम माधवसँग उनकै पार्टी कार्यालयमा भेटवार्ता गर्दै थिए । ‘पार्टीले यसअघि नै सरकारमा बस्ने वा नबस्ने विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ, अब के आधारमा सरकारमा बसिरहने वा किन हट्ने भन्ने निर्णय गर्नु हुनेछ’, राईले भने, ‘म गृह जिल्ला बाँकेमा छु, अध्यक्ष यादव कार्यक्रममा सहभागी हुन दिल्ली जानु भएकाले मेरो सम्पर्क हुन सकेको छैन ।’

मन्त्रिपरिषद हेरफेर हुँदा यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयमा नेकपाका भानुभक्त ढकाललाई ल्याइएको छ भने यादवलाई कम आकर्षक मानिने कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको जिम्मेवारी दिएको छ । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई हटाइएको छ ।
समाजवादी पार्टीभित्र सरकार छाड्ने विषयमा विवाद हुँदै आएको छ ।

पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराई एकीकरणदेखि नै सरकार छाड्नु पर्ने पक्षमा छन् । सरकार गठन हुँदा भएको सहमति अनुसार संविधान संशोधन नगरे सरकार छाड्ने बताउँदै आएको समाजवादी पार्टीले त्यसका समयसीमा बढाउँदै लगेको थियो । पछिल्लो समयमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री यादवबीच सम्बन्ध राम्रो नरहेको चर्चा भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७