मणिपाल अस्पतालकाे नक्सा पासविनाका भवन, पटकपटक ताकेता गर्दा पनि तिरेनन १४ करोड कर

काठमाडौं, २० पुस । मणिपाल शिक्षण अस्पतालले सरकारसँग भाडामा लिएकोे जग्गामा बनेका कुनै पनि संरचनाको सम्पत्ति कर पोखरा महानगरपालिकालाई बुझाएको छैन । निर्माण गरिएका कुनै पनि भवनको सम्पन्नता प्रमाणपत्र पनि अस्पतालले नलिएको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
नेपाल सरकार र मणिपाल ग्रुप इन्डियाबीच ३ साउन ०५२ मा सम्झौता भएर ४९ वर्षका लागि मणिपालले जमिन भाडामा लिएको हो । फूलबारीमा निर्माण गरिएका संरचनाको सम्पत्ति कर बुझाउन र भवनहरूको सम्पन्नता प्रमाणपत्र लिन महानगरले गरेको आग्रहलाई अस्पताल प्रशासनले आलटाल गरिरहेको मेयर मानबहादुर जिसीले बताए ।
भाडामा लिएको एक सय ९३ रोपनी क्षेत्रफलमा निर्माण गरिएका कुनै पनि भौतिक संरचनाको सम्पत्ति कर मणिपालले महानगरलाई नबुझाएको महानगरको राजस्व प्रशासन महाशाखा प्रमुख छवि शर्माले जानकारी दिए ।
राजस्व प्रमुख शर्माका अनुसार मणिपालले महानगरलाई सम्पत्ति कर र भौतिक संरचनाको सम्पन्नतासहित महानगरलाई १३ करोड ८१ लाख तीन हजार नौ सय ९६ रुपैयाँ तिर्नुपर्ने देखिएको छ । यसका लागि महानगरले पटकपटक ताकेता गरिरहेको छ ।
अस्पतालले दुई वर्षको सम्पत्ति कर मात्रै सात करोड ८१ लाख तीन हजार नौ सय ९९ रुपैयाँ तिर्न बाँकी रहेको उनले बताए । अस्पतालले आफ्नो ३२ रोपनी जमिनमा बनेको भौतिक संरचनाको सम्पत्ति कर तिरे पनि सरकारसँग भाडामा लिएको जमिनमा बनेका भौतिक संरचनाको सम्पत्ति कर बुझाउन आनाकानी गर्दै आएको छ ।
‘महानगरले पटकपटक ताकेता गर्दा पनि अस्पतालले बेवास्ता गर्दै आएको छ,’ मेयर जिसीले भने । समयावधि पुगेपछि सरकारलाई नै हस्तान्तरण गर्ने भौतिक संरचनाको सम्पत्ति कर नबुझाउने अडान अस्तालले लिँदै आएको छ ।