लोकसेवा संवाद : समर्पित भएर पढ्नुहोस्,सफलता प्राप्त हुन्छ


१८ माघ २०७६, शनिबार
suman shrestha Goverment Officer scaled

अहिले निजामति सेवामा धेरै युवाको आकर्षण छ । अहिले अधिकांश युवा उच्च शिक्षा अध्ययनसँगै निजामती सेवामा प्रवेश गर्नका लागि लोकसेवाको तयारी समेत गरिरहेका छन् । मुलुक संघीय संरचनामा गइसकेको अवस्था र तीन तहको सरकारमा कर्मचारीको उच्च माग भएका कारण पनि निजामती सेवामा प्रवेश गर्न चाहने युवाको जमात ठूलो छ । तर निजामती सेवामा प्रवेश गर्ने चाहना भए पनि कतिपय युवाको सपना पूरा हुन सकेको पाइँदैन । पारिवारिक अवस्थामा सुधार ल्याउन सकिने क्षेत्र निजामती सेवामा प्रवेश गर्न चाहे पनि कतिपय युवाहरुमा लोकसेवा तयारीका लागि कस्ता सामग्री पढ्ने, कसरी पढ्ने र परीक्षा कसरी दिने भन्ने कुराको आवश्यक ज्ञान नहुँदा उनीहरुको सपना साकार बन्न सकिरहेको छैन ।

यसरी धेरै मेहनत गर्दा पनि र धेरै पटक कोशिस गर्दा पनि निजामती सेवामा प्रवेश गर्न नसकिरहेका युवालाई लक्षित गरी हामीले करदाता सेवा कार्यालय इटहरीका कर अधिकृत सुमन श्रेष्ठको लोकसेवा आयोग अनुभव पस्किएका छौं । विभिन्न पदमा लोकसेवा भिडेर ज्ञान अनुभव हासिल गर्दै लोकसेवा भिड्दै गरेका विद्यार्थीहरुका लागि उपयोगी पुस्तक समेत लेखिसक्नु भएका श्रेष्ठसँग नयाँपेजले गरेको लोकसेवा कुराकानीको अंश :

तपाईको परिवारमा को– को हुनुहुन्छ ? के गर्नुहुन्छ ?
हामी सात जना छौं । बुबा शिक्षक हुनुहुन्छ । दाइ र भाइ व्यवसायमा संलग्न हुुनुहुन्छ ।

तपाईको बाल्यकाल कहाँ–कसरी बित्यो ?
मेरो बाल्यकाल काभ्रे जिल्लाको चण्डेनी गाउँमा बित्यो । मैले कक्षा १० सम्मको अध्ययन श्री उमा सहशिक्षालय माविमा गरें । जुन विद्यालयमा मैले वि.सं. २०७० देखि २०७२ सम्म अध्यापन पनि गरें ।


पढ्ने टिप्स : 

१. लोकसेवामा लगाव राख्नुहोस्

२. लक्ष्य यही हो भने मात्र यता हात हाल्नुहाेस् ।

३. विस्तृत अध्ययन गर्नुहोस्

४.आफुमा भएको ज्ञानलाई संस्थागत गर्नुहोस् ।

५. डाटाको राम्ररी अध्ययन गर्नुहोस् ।

६. पढ्दा हाइलाइट गरेर पढने

७. फेसबुक लतको सदुपयोग गर्नुहोस्

शिक्षादीक्षा कसरी लिनुभयो, सहजपूर्ण वा संघर्षपूर्ण रह्यो ?
म अध्ययन गरेको विद्यालय घरबाट १५ मिनेटको दूरीमा थियो । पढाईमा म मध्यम नै थिएँ । बुबा, अंकल शिक्षक भएकाले मलाई पढाईमा सहयोग भएको थियो । म कक्षामा प्रथम नै हुन्थें ।

एसएलसी पास गरेपछि के बन्ने सपना देख्नु भयो ? किन ?
एसएलसी पास गरेपछि मैले एच.ए. अध्ययनका लागि भरतपुरबाट प्रवेश परीक्षा दिएँ । उक्त प्रवेश परीक्षामा म उत्तीर्ण भइँन । तत्पश्चात म सानोठिमी क्याम्पसमा गणित र अंग्रेजी मुख्य विषय लिएर शिक्षाशास्त्रमा भर्ना भएँ । मास्टर्स सक्ने बेलासम्म जागिर खाने बाहेक केही सपना थिएन ।

यो पेशाको विषयमा कसरी थाहा पाउनु भयो ?
कुनै सरकारी कार्यालय जाँदा होस् या अरुले सरकारी सेवाको आकर्षणबारे कुरा गर्दा म पनि यो सेवाप्रति आकर्षित भएँ ।


निजामती कर्मचारी बन्ने प्रेरणा कहाँबाट पाउनु भयो ? कसरी आकर्षित हुनु भयो ?
मेरा साथीहरुले निजामती सेवामा नाम निकालेर तालिम गर्दाका फोटोहरु, विभिन्न कार्यक्रममा भाग लिएका फोटोहरु राखेका हुन्थे जुन कुराले मलाई म पनि सक्छु र यस्तै बन्छु भन्ने प्रेरणा मिल्थ्यो । नाम निकालेका साथीभाइले पनि तयारी गरे सकिन्छ भनेर हौसला दिन्थे ।

शुरुमा तपाईलाई यो पेशामा राम्रो लागेका पक्षहरु के थिए ?
वृत्ति विकासका अवसरहरु नै यो पेशाको मुख्य आकर्षण हो । विभिन्न भौगोलिक क्षेत्रमा काम गर्न पाउने अवसर एव्म विभिन्न भूमिकामा काम गर्न पाउने अवसर हुनु अर्काे राम्रो लागेको पक्ष हो । मैलै वि.सं. २०६७ सालतिर एकपटक लोकसेवाको कक्षा लिएर केही समय तयारी गरें । उक्त परीक्षा मैले पुरै दिइन् र त्यो क्रमको निरन्तरता मेरो स्नातकोत्तरको अध्ययन नसकिउञ्जेलसम्म रहेन । वि.सं. २०७२ सालमा मैले गणित विषयको निमावि स्थायी शिक्षकको रुपमा काठमाडौंमा नाम निकालें । तत्पश्चात मलाई तयारीको अवसर मिल्यो । मैले वि.सं. २०७३ सालबाट लोकसेवाको तयारी थालें ।

लोकसेवाको तयारी के–कसरी गर्नु भयो ?
म गणित विषयको शिक्षक भएको कारणले विद्यालयमा अतिरिक्त कक्षा पनि लिनुपर्ने हुन्थ्यो । बिहान–बेलुका र बिदाको दिन सदुपयोग गरेर मैले लोकसेवाको तयारी गरें ।

घरमै पढ्नु भयो कि कुनै तयारी कक्षा लिनुभयो ?
मैले लोकसेवा तयारी कक्षा लिएँ । दुई वर्ष लिएँ । अघिल्लो वर्ष पूरा कोर्सको लिएँ भने पछिल्लो वर्ष लिखित तयारी कक्षा लिएँ ।

पढ्ने विधि कस्तो थियो ?
मलाई पर्याप्त समय नभएकाले सामान्य ज्ञान (जि.के.) चाहिँ सूत्र बनाएर, क्लिक वर्डहरु बनाएर कण्ठ पार्थेँ । क्लिक वर्ड भनेको सम्झन सजिलो हुने रमाइलो वा सजिलो शब्द हो । जस्तो नेपाल सरकारले खुल्ला दिशामुक्त क्षेत्र २०७६ आश्विन १३ मा ग¥यो भने त्यसलाई सम्झन आतेर ( आश्विन तेह्र) गर्याे भनेर हाइलाइट गरेर राख्ने अर्काे पटक हेर्दा बिर्सन्न पनि । कतिपय कुरा घोक्दा लगातार २–३ मिनेट लेख्ने र पढने सँगसँगै गर्दा प्याटर्न बनेर माइण्डमा सेट हुन्छ । अर्काे भनेको म कलेक्सन गरेर पढथें । साथीभाइसँग किताब, प्रश्न सेटहरु खोजी–खोजी बजारमा उपलब्ध सामग्री खोजी खोजी पढथें । म पढाईलाई इन्जोय गर्थे ।

दैनिक कति घण्टा पढ्नु हुन्थ्यो, कुन–कुन समयमा ?
बिहान पढ्ने मौका नपाउने हुनाले म बेलुका ५ देखि ११–१२ बजेसम्म पढ्थें । बिदाको दिनमा चाहिँ म पुरै समय सदुपयोग गर्थे ।

एक्लै पढ्नु हुन्थ्यो कि साथीभाइसँग मिलेर ?
म एक्लै पढथेँ । कहिलेकाँही साथीभाइसँग छलफल हुन्थ्यो ।

कुन–कुन पुस्तकहरु पढ्नु भयो ?
मैले बजारमा उपलब्ध भएको धेरै पुस्तकहरु पढें । म कुन किताब कस्तो केही समीक्षा नगरी पढथें । कहिलेकाँही त कस्तो हुन्थ्यो भने शुक्रबार किनेको किताब म शनिबार अध्ययन गरेर सक्थेँ । बढी पुस्तक अध्ययन गर्दा केही न केही थप कुरा थाहा पाइन्थ्यो, त्यसले ज्ञानलाई संस्थागत गर्न मद्दत गथ्र्याे । पुस्तकहरु साथै इन्स्टिच्युटका परीक्षाका प्रश्नहरु पनि संकलन गरेर समाधान गर्थे । त्यसले मलाई खोजको विकास गराउँथ्यो र नयाँ नयाँ समस्याहरु थाहा हुन्थ्यो । अचेल अध्ययन गर्न सजिलो छ, आइक्यू त झन अझ सजिलो छ, कुनै प्रश्न समाधान गर्न आएन भने इन्टरनेटमा खोज्दा सजिलै पाइन्छ । दुई–तीनथरी तरिका पनि थाहा हुन्छ । यसले तयारीका लागि सजिलो पनि हुन्छ । एउटै मात्र पुस्तक अध्ययन गर्दा वा सीमित पुस्तक अध्ययन गर्दा सीमित कुरा मात्र थाहा हुन्छ ।

तयारी गर्दाका दुःखहरु कस्ता थिए ?
तयारी गर्न समयको अभाव थियो । बिहान पढ्न जान्थें । दिनभर विद्यालयमा पढाउनुपथ्र्यो । समय बेलुकी मात्र मिल्थ्यो । काठमाडौंमा नै भएको कारण पुस्तकको सहज उपलब्धता भने थियो । इन्टरनेटको सुविधा भएकाले द्विविधा परेका कुराहरु सजिलै खोज्न मिल्थ्यो । शिक्षण पेशामा भएकाले खर्चको अभाव थिएन । त्यस्तो खासै दुःख थिएन ।

कति पटकमा नाम निकाल्नु भयो ?
पटक–पटक परीक्षा त दिएँ तर तयारी बिना दिँदा प्रथम पत्रमा नाम नै निस्किँदैनथ्यो । वि.सं. २०७३ सालमा अफिसर र नासुको प्रथम पत्रमा पास भएँ तर तयारी नपुगेको हुनाले अरु पत्रको परीक्षा दिइनँ । केही साल लोकसेवा बन्द हुने हल्लाले गर्दा निजामती कर्मचारी हुनैपर्छ भन्ने प्रेसर फिल गरें र खरिदारको परीक्षा जसरी पनि उत्तीर्ण हुनुपर्छ भनेर लागि परें । पुरै परीक्षा दिएको हरेकपल्ट नाम निस्क्यो । वि.सं. २०७४ चैत्रमा खरिदारमा, २०७५ असोजमा नायब सुब्बामा र २०७५ कार्तिकमा शाखा अधिकृतमा नाम निकालें । संयोग नै भन्नुपर्छ हरेकपल्ट आफ्नो क्षेत्रको टप टेनभित्र अटाएँ ।

कति समयको तयारीमा कुन पदमा नाम निकाल्नु भयो ?
मेरो मुख्य तयारी कार्तिकदेखि चैत्रसम्मको हुन्थ्यो । अरु बेला त्यति जाँगर लगाएर पढ्दिन थिएँ । २०७३ र २०७४ सालमा त्यसरी अध्ययन गरें । पहिलोपटक खरिदारमा नाम निस्केको थियो । नाम निस्किँदा एकदम खुशी भएको थिएँ । हल्का नर्भस पनि अनुभूति भएको थियो । नाम निस्केको सूचना इन्टरनेटबाट हेरें । अन्तको रिजल्ट आइरहेको थियो तर काठमाडांँको रिजल्ट धेरै कुर्नुप¥यो । नाम निस्कँदा एकदम खुशी भएँ । एउटा सपना पुरा भएको जस्तो अनुभव भयो । घर परिवार, विद्यालय र छिमेकीसँग खुशी बाँडे ।

तयारीका लागि समय व्यवस्थापन एउटा महत्वपूर्ण पाटो हो । कसैले छोटो र थोरै समयमा नाम निकालेका छन् भने कसैले धेरै प्रयत्न गर्दा पनि ननिकालेको उदाहरण छ । यसर्थ आफूलाई पायक पर्ने समयमा अर्थपूर्ण तवरले व्यवस्थित अध्ययन गर्नुपर्दछ ।

नाम निस्केपछि पहिलोपटक कहाँ पोस्टिङ भएर जानुभयो ?
मेरो पहिलो नियुक्ति महालेखा परीक्षकको कार्यालय बबरमहलमा भयो । सरकारी सेवातर्फ खरिदारको रुपमा महालेखा परीक्षकको कार्यालयमा ६ महिना, नायब सुब्बाको रुपमा आन्तरिक राजश्व कार्यालय टंगालमा करिब एक महिना काम गरें । त्यसयता कर अधिकृतका रुपमा कार्यरत छु ।

सरकारी कर्मचारीको रुपमा तालिम गर्दाका अनुभव र अनुभूति कस्तो छ ?
मैले शाखा अधिकृत हुँदा मात्र तालिमको अवसर पाएँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा तालिमको अवसर मिल्यो । त्यो सुनौलो अवसर थियो । अनुभवी प्रशिक्षक, नयाँ प्रशिक्षण शैली, देश घुम्ने अवसर, विभिन्न अनुभवहरु लिन पाउँदा निकै नै खुशी लाग्यो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ब्याच ३३ को तीन महिने तालिम समूहमा उत्कृष्ट प्रशिक्षार्थी पनि बन्ने मौका मिल्यो, त्यो खुशीको क्षण थियो ।


तालिम सकेर पहिलो पटक सरकारी कुर्सीमा बस्दाको अनुभव कस्तो रह्यो ?
तालिम सकिएपछि मेरो नियुक्ति करदाता सेवा कार्यालय इटहरीमा भयो । त्यहाँ मेरो नियुक्ति कार्यालय प्रमुखको रुपमा भयो । शुरुका केही दिन चाहिँ निकै नै रमाइलो, नर्भस तथा जिम्मेवारी अनुभूत भयो ।

सोचे जस्तो भयो वा भएन ? सोचे जस्तो के पाउनु भयो, फरक के ?
म कार्यरत कार्यालयमा टिमवर्क राम्रो पाएँ । कामको गति राम्रो थियो । केही भीडभाड हुने भएता पनि मैले त्यत्ति जनगुनासो पाएको छैन । यहाँ आएपछि के अनुभव गरें भने टिमवर्क राम्रो भयो भने जुनसुकै कार्यालय सहजरुपमा सञ्चालन गर्न सकिन्छ ।

तपाईले लोकसेवा तयारी गरिरहेका विद्यार्थीहरुका लक्षित गरेर पुस्तक पनि लेख्नु भएको छ । पुस्तक कस्तो छ ?
मैले अहिलेसम्म दुईवटा पुस्तक निकालेको छु । कम्प्यूटर सीप परीक्षणका लागि र अन्तरवार्ताका लागि समेटेर एउटा पुस्तक र प्रथम पत्रलाई हुने गरेर GK Shortbook (जिके सर्टबुक) निकालेको छु ।

पहिलोपल्ट प्रकाशित गर्नु भएको पुस्तकको प्रतिक्रिया कस्तो पाउनु भयो ?
पुस्तकको सकारात्मक प्रतिक्रिया पाएँ । म आफैले लोकसेवामा खरिदारमा नाम निकालेपछि कम्प्यूटर सीप परीक्षण तयारीको पुस्तक नपाएको हुनाले त्यो ग्याप फिल गर्न पुस्तक लेख्ने सोंच बनाएको थिएँ । काठमाडौँ र मोफसलका लोकसेवा तयारीमा लाग्नु भएकाले त्यो पुस्तक मन पराई दिनुभयो ।

तपाईले अहिले बजारमा ल्याउनु भएको नयाँ पुस्तक विद्यार्थीका लागि कतिको उपयोगी हुन्छ जस्तो लाग्छ ? र किन ?
छोटो समयमा तयारी गर्नका लागि उपयुक्त हुने गरी अहिले सामान्य ज्ञान (जिके सर्टबुक) बजारमा ल्याएको छु । त्यसमा प्रत्येक खण्डको अत्यावश्यक सामान्य ज्ञानलाई अन्य पुस्तकको भन्दा भिन्दै तरिकाले प्रस्तुत गरेको छु । खोजीको बानी विकास गराउन त्यसमा प्राक्टिस सेट पनि राखिएको छ । छोटो समय छ भने, अन्तिम नोटका लागि उपयुक्त हुने कन्सेप्ट अनुसार मैले त्यो पुस्तक बजारमा ल्याएको हुँ । तयारीका लागि थोरै समय हुनेका लागि एकदमै उपयुक्त हुन्छ भन्ने मेरो अपेक्षा हो ।

आफूले अरुको पुस्तक पढ्दा र आफँले लेख्दा कस्तो अनुभव गर्नुभयो ?
मैले धेरै पुस्तकको अध्ययन गरेको थिएँ, तसर्थ पुस्तक लेखनमा रुची पनि बस्यो । तयारीमा सफलता हात पार्न सहयोगी हुने गरी लेखन, संकलन, सम्पादन गर्दा छुट्टै सन्तुष्टिको अनुभूति हुँदोरहेछ ।

तपाई जस्तै सरकारी कर्मचारी बन्ने सपना देखेका नयाँ विद्यार्थीहरुलाई तपाईको टिप्स ?
मेरो पहिलो टिप्स भनेको लगाव राख्नुहोस् भन्ने हो । तपाईको लक्ष्य यही हो भने मात्र यता हात हाल्नुस्, नत्र दिई हेरौं न त भन्ने तरिकाले समयको बर्बादी मात्र हुन सक्छ । दोश्रो टिप्स भनेको विस्तृत अध्ययन गर्नुहोस्, आफुमा भएको ज्ञानलाई संस्थागत गर्नुहोस् । के हुन्छ भने दिनहुँ पढिन्छ तर कतिपय कुरा याद नै राखिन्न । जस्तो कि राष्ट्रिय निकुञ्जबारे अध्ययन धेरै गरिन्छ, तर राष्ट्रिय निकुञ्ज कुन जिल्लामा फैलिएको छ, याद गरिन्न । परीक्षामा त्यस्तो प्रश्न सोधिदियो भने त, त्यो त छुटयो नि त । त्यसैले ज्ञानलाई संस्थागत गर्नुपर्याे । लोकसेवाले कुन तरिकाले र के कस्तो प्रश्न सोधेको छ, त्यसको प्याटर्न पनि अध्ययन गर्दा तयारीका लागि के महत्वपूर्ण छ, त्यो पनि थाहा हुन्छ ।

पछिल्लो समय मिति भन्दा डाटा बेस्ड प्रश्नहरु बढी सोध्न थालिएको छ । तसर्थ डाटाको राम्ररी अध्ययन गर्नुपर्‍यो । पढ्दा हाइलाइट गरेर पढने, Hook Words, Click Words बनाएर गरेर पढ्ने बानी बसालियो भने परीक्षामा सम्झन सजिलो हुन्छ । अचेल त सजिलो छ, विभिन्न वेभसाइट छन् विभिन्न पेजहरु छन्, विभिन्न एप्सहरु छन् तिनको माध्यमबाट पनि अध्ययन गर्न सकिन्छ । अनि, अचेलको मुख्य (जेन्युइन) समस्या भनेको फेसबुकको लत पनि हो, यो लत छुट्याउन सकिँदैन भने, यो लतको सदुपयोग गर्न सकिन्छ । आफ्नो अध्ययन अवधिभर लोकसेवासँग सम्बन्धित पेज मात्र लाइक गर्ने अनि त्यस्ता साथीसँग मात्र संगत गरियो भने तपाईलाई लोकसेवाप्रति केन्द्रित रहन मद्दत गर्दछ ।

तयारी कसरी गर्ने ?
तयारीका लागि समय व्यवस्थापन एउटा महत्वपूर्ण पाटो हो । कसैले छोटो र थोरै समयमा नाम निकालेका छन् भने कसैले धेरै प्रयत्न गर्दा पनि ननिकालेको उदाहरण छ । यसर्थ आफूलाई पायक पर्ने समयमा अर्थपूर्ण तवरले व्यवस्थित अध्ययन गर्नुपर्दछ । अर्काे महत्वपूर्ण पाटो भनेको टार्गेट सेट गर्नु हो । म यसमा यतिसम्म सक्छु भनेर लाग्नु पर्‍यो । कसैलाई आइक्यू सजिलो लाग्ला कसैलाई जि.के., आफूलाई जे सजिलो लाग्छ, त्यसमा टार्गेट राख्ने र जे असजिलो लाग्छ त्यसमा पनि न्यूनत (मिनिमम) टार्गेट राख्ने हो भने तयारीलाई त्यही अनुसार बढाउन सकिन्छ ।

लेखन कसरी सुधार्ने त, यसका लागि पहिलो कुरा भनेको अध्ययन नै हो । जति बढी अध्ययन गर्नुहुन्छ, त्यति बढी ज्ञान प्राप्त हुन्छ र त्यति नै बढी सम्झनु हुन्छ ।

एउटा पाटोको मात्र तयारीले त सफलता हात लाग्दैन । सबै विषयमा औसत भइयो भने लोकसेवामा नाम निस्किन्छ भन्ने मलाई चाहिँ विश्वास छ । तेश्रो कुरा भनेको अध्ययनको विस्तार हो । धेरै भन्दा धेरै पढियो भने पक्कै पनि धेरै जानिन्छ । खोजीको बानीको विकास गर्न सकियो भने त्यसले रुची पनि जगाउँछ । मेरो के बानी थियो भने मलाई कुनै प्रश्न आएन भने म त्यसको बारेमा खोजी गर्थे, कुनै नयाँ कुरा सुनेँ भने त्यसको बारे खोजी गर्थे । कुनै विषयको बारेमा धेरै श्रोतबाट पढियो भने आधारभूत कुरा चाहिँ पक्कै बिर्सिदैन । नाम निकाल्ने कुनै सहज तरिका नि छैन र कुनै त्यस्तो कठिन तपस्या पनि गर्नुपर्दैन, यति हो अध्ययनको निरन्तरता र लगाव रहिरहनुप¥यो । नजानेर भन्दा नपढेर फेल भइन्छ, यो कुरा ख्याल गर्नुपर्‍यो, कतिपय कुरा त एकपटक देख्दा, सुन्दा, हेर्दा नै कण्ठस्थ पनि त हुन्छ नि त । त्यसैले बढी भन्दा बढी अध्ययन सामग्री पढनुहोस् र आधारभूत कुराहरुलाई आफूलाई सहज हुने तरिकाले सम्झनामा राख्नुहोस् ।

परीक्षा कसरी लेख्ने ?
लेखन अर्काे समस्याको पाटो हो । कति लेख्ने ? कसरी लेख्ने ? के लेख्ने ? भनेर लोकसेवा तयारी गर्नेको मुख्य जिज्ञासाको विषय हो । लेखन कसरी सुधार्ने त, यसका लागि पहिलो कुरा भनेको अध्ययन नै हो । जति बढी अध्ययन गर्नुहुन्छ, त्यति बढी ज्ञान प्राप्त हुन्छ र त्यति नै बढी सम्झनु हुन्छ ।

अध्ययन चाहिँ सकेसम्म विषयसँग मिल्ने सरकारी डकुमेन्ट, विज्ञको लेख पढनु भयो भने केही राम्रा शब्दावली, केही राम्रा सुझाव, केही राम्रा प्रस्तुति तपाईले भेटनु हुन्छ । यदि ती कुराले तपाईलाई हिट गर्छ भने त्यसलाई नोटमा टिप्नुहोस् र आफ्नो लेखनमा उपयुक्त ठाउँमा मिसाउनुहोस् । कुनै पनि विषयको कन्सेप्टमा राम्ररी फोकस हुनुपर्‍यो । कन्सेप्ट बुझ्नुभयो भने तपाईको मौलिक लेखाई पनि देखिन्छ । कन्सेप्ट नै बुझ्नुभएन भने मौलिकता झल्किन्न । प्रश्न एकातिर उत्तर एकातिर हुन्छ । कुनै विषयको आधारभूत कुरा र परिभाषालाई सकेसम्म कण्ठस्थ गर्नुहोस् । त्यस्ता कुरालाई क्लिक वर्ड, क्याची वर्ड, सूत्र बनाएर वा कसरी सम्झन सकिन्छ, सम्झने प्रयत्न गर्नुहोस् ।

परिभाषा यो लेख्छु भनेर पहिले नै तय गर्नुहोस्, परिभाषामा मौलिकता त्यत्ति राम्रो हुन्न । परीक्षामा पढेको भन्दा सम्झेको कुरा लेखिने भएकाले बढी भन्दा बढी पढनुपर्‍यो, तर आधारभूत कुरा चाहिँ कण्ठस्थ नै पार्नुपर्दछ, आधारभूत कुरा भन्नाले परिभाषा, अवधारणा, प्रकार, व्यवस्थाहरु आदि हुन् । लेखन प्याराग्राफ भन्दा बुँदागत रुपमा लेख्दा राम्रो हुन्छ । लेख्दा सिलसिलेवार रुपमा एकदम महत्वपूर्णबाट क्रमशः कम महत्वपूर्णतिर लेख्दै जानुपर्दछ । जानेको जति भन्दा पनि सोधेको जति लेख्नुपर्ने भएकाले अंकभार अनुसार उत्तरको प्रस्तुतीकरण हुनुपर्‍यो ।

यो पनि पढ्नुहोस्
सुमन श्रेष्ठ स्टाफ कलेजको ३३ औँ ब्याचका उत्कृष्ट शाखा अधिकृत

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७