प्रदेश ६ काे सभामुखमा एमालेका कँडेल कि ज्वाला ?


१९ माघ २०७४, शुक्रबार
prakash and yamlam pradesh

 सुर्खेत, १९ माघ : प्रदेश सहसंयोजक कँडेललाई संसदीय दलको नेता बनाएर आफू सभामुख बन्ने प्रकाश ज्वालाको योजना वाम गठबन्धनबीच प्रदेश ६ मा माओवादी केन्द्रले मुख्यमन्त्री र एमालेले सभामुख पाउने सहमति भइसकेको छ । तर, एमालेको आन्तरिक विवादले सभामुख को हुने भन्ने अझै टुंगो लागेको छैन । अहिलेसम्मको तयारी हेर्दा नेताहरु प्रकाश ज्वाला र यामलाल कँडेलमध्ये एकजना सभामुख हुनेछन्। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ । prakash and yamlam pradesh

यामलाल कँडेल/प्रकाश ज्वाला
एमाले नेताहरूका अनुसार ज्वाला सभामुखमा जाने मनस्थितिमा छन् । उनी सभामुख भए कँडेल संसदीय दलको नेता हुनेछन् । यो समीकरण अनुसार सहमति नभए आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेर ज्वाला प्रदेश सरकारमा एमालेको नेतृत्व गर्न सक्नेछन् । मुख्यमन्त्री हुने र प्रमुख सत्तासाझेदार दलले आन्तरिक मामिला वा आर्थिक मामिला तथा योजना मन्त्रालयमध्ये एक लिनेछन् ।

ज्वालाको विकल्पमा कँडेल सभामुख हुने सम्भावना छ । तर, कँडेलले संसदीय दलको नेता मात्रै हुने मनसाय देखाएका छन् । एमालेको प्रदेश समिति कँडेललाई संसदीय दलको नेता र ज्वालालाई सभामुख निर्वाचित गरी आन्तरिक समीकरण मिलाउने रणनीतिमा छ ।

एमाले केन्द्रले मुख्यमन्त्रीका लागि चुनाव गर्ने निर्णय गरेको छ । यदि प्रदेश ६ मा पनि संसदीय दलको नेताका लागि चुनाव भए कँडेलको अवस्था कमजोर देखिन्छ । प्रदेशका २० सांसदमा ११ जना ज्वाला पक्ष र ९ जना कँडेल पक्षका छन् । यसैकारण कँडेल सर्वसम्मतिमा संसदीय दलको नेता चयन गर्नुपर्ने पक्षमा देखिन्छन् । ‘मुख्यमन्त्री नभएपछि प्रदेश सभा सदस्य मात्रै भएर बस्छु, मन्त्री हुन्न’ नेता कँडेलले नयाँ पत्रिकासँग भने, ‘प्रकाशजीलाई पनि तपाईंको धारणा के हो रु भनेर सोधेको थिएँ । केही बोल्नु भएको छैन । त्यसैले को के हुन्छ, अहिल्यै भन्न सकिन्न ।’

उप–सभामुखमा महिला
सभामुख एमालेले पाएपछि उपसभामुख माओवादीको भागमा पर्छ । माओवादीले पनि कसलाई उप–सभामुख बनाउने टुंगो लगाएको छैन । यस विषयमा माओवादीभित्र छलफलसमेत भएको छैन । माओवादी नेताका अनुसार विमला केसी र सीता नेपालीमध्ये एकलाई उप–सभामुख बनाउने तयारी छ । तर, नेपालीले मन्त्रीका लागि दाबी गरिरहेकी छन् । उनले नयाँ पत्रिकासँग भनिन्, ‘उपसभामुखमा मेरो दाबेदारी छैन । पहिलेदेखि नै मन्त्रीमा दाबी गरिरहेको छु ।’

त्यस्तै माओवादीमा धर्मराज रेग्मीलाई उप–सभामुख बनाउने चर्चा पनि छ । तर, सभामुख र उप–सभामुखमध्ये एकजना महिला हुनुपर्ने कानुनी व्यवस्था भएकाले रेग्मी मन्त्रीको दाबेदारी गरिरहेका छन् ।

शाही जेष्ठ सदस्य
नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्य हिमबहादुर शाही प्रदेश सभाको पहिलो बैठक सञ्चालन गर्नेछन् । जेष्ठ सदस्य ७० वर्षीय शाही समानुपातिकबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।

आज सर्वदलीय बैठक
प्रदेश सभा सचिवालयले शुक्रबार सर्वदलीय बैठकको बोलाएको छ । प्रदेश सभाको बैठक सञ्चालनको विधि, प्रक्रिया र कामकाजबारे जानकारी गराउन सर्वदलीय बैठक बोलाएको सचिवालयका सहसचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश सभामा एमाले २०, कांग्रेस ६, माओवादी १३ र राप्रपा १ सदस्य छन् ।

सभामुखलाई के–के सुविधा  ?

अहिले प्रदेश सभा सभामुख र उपसभामुखलाई उपलब्ध हुने सेवासुविधासम्बन्धी यकिन छैन । यसका लागि प्रदेश सभाले ऐन पारित गर्नुपर्नेछ । २१ माघमा पहिलो अधिवेशन बस्ने भएकाले त्यसपछि मात्रै सेवासुविधाबारे निर्णय हुने सहसचिव कृष्णहरि खड्काले जानकारी दिए ।

सभामुखले एउटा गाडीसहित, निवास, सुरक्षाकर्मी र पाँचजना कर्मचारीसहितको सचिवालय पाउनेछन् । त्यस्तै उपसभामुखले पनि गाडीसहित निवास, सुरक्षाकर्मी र कर्मचारीसहितको सचिवालय पाउनेछन् । सभामुख र उपसभामुख निर्वाचित भएलगत्तै कहाँको निवास उपलब्ध गराउने भन्ने टुंगो लागेको छैन । ५ माघमा नियुक्त भएका प्रदेश प्रमुख दुर्गाकेशर खनालले पनि अहिलेसम्म निवास पाएका छैनन् । उनी आफ्नै घरमा बस्छन् । त्यस्तै अहिलेसम्म सभामुख र उप–सभामुखले चढ्ने गाडी सचिवालयलाई उपलब्ध भएको छैन ।

सभामुखको कार्यालय अस्थायी

मध्यपश्चिामाञ्चल क्षेत्रीय सिँचाइ डिभिजन कार्यालयका चारवटा कोठा प्रदेश सभाको बैठक र सचिवालयका लागि प्रयोग गरिँदै छ । प्रदेश सभाको बैठकका लागि तयार भइरहेको हलसँगै जोडिएको एउटा कोठा सचिवालयको रूपमा प्रयोग गरिनेछ । चारमध्ये एउटा एट्याड वाथरुमसहितको कोठा छ, त्यसलाई सभामुखको कार्यालयका लागि सरसफाइ र व्यवस्थापन गरिँदै छ । त्यससँगै रहेको अर्को कोठा उप–सभामुखको कार्यालय हुनेछ । तीन महिनाका लागि यो भवन र त्यसपछि शैक्षिक जनशिक्त केन्द्रको तालिम केन्द्रमा सारिनेछ ।

तालिम केन्द्रका भवनहरू नै सभामुख र उप–सभामुखको कार्यालय र निवास बनाइनेछन् । मुख्य भवनको माथिल्लो तलाको अहिले कार्यालय प्रमुखको कोठालाई सभामुख र भुर्इंतला उप–सभामुखका लागि प्रयोग गरिनेछ । निवासका लागि भने तालिम केन्द्रका आवासीय भवन नै उपयोग गरिनेछन् ।

संसदीय दलको नेतामा चर्चा ?

तीनवटै दलले संसदीय दलको नेता चयनलाई प्राथमिकता राखेका छैनन् । एमालेको संसदीय दलको नेतामा प्रकाश ज्वाला र यामलाल कँडेलको दाबी छ । ज्वाला सभामुख भएमा कँडेल संसदीय दलको नेता हुनेछन् । एमाले प्रदेश कमिटी सहसंयोजक कँडेलले संसदीय दलको नेता चयनका विषयमा औपचारिक छलफल नभएको बताए । ‘संसदीय दलको नेता चयन सर्वसम्मत निर्णयअनुसार नै गरिनेछ,’ उनले भने ।

माओवादीमा पनि संसदीय दलको नेता चयनका विषयमा छलफल भएको छैन । प्रदेश सभाको २१ माघको पहिलो बैठकपछि संसदीय दलको नेताका विषयमा छलफल हुने माओवादी नेता नरेश भण्डारीले बताए । संसदीय दलका नेताका लागि भण्डारी र महेन्द्रबहादुर शाहीको दाबी छ । पार्टीको
निर्णयअनुसार नै मुख्यमन्त्री र संसदीय दलको नेता चयन हुने भण्डारीले बताए ।

त्यस्तै, कांग्रेसमा भने जीवनबहादुर शाही संसदीय दलको नेताका एक्ला दाबेदारका रूपमा देखिएका छन् । कांग्रेस नेता हृदयराम थानीका अनुसार २४ माघको राष्ट्रिय सभा निर्वाचनपछि संसदीय दल नेता चयन हुनेछ ।

एक घन्टामै सकियो ३ नं. प्रदेश सभाको पहिलो बैठक
प्रदेश ३ को पहिलो बैठक करिब एक घन्टा मात्रै चल्यो । दिउँसो १ बजेदेखि सुरु भएको अधिवेशन २ बजे नै सकिएको थियो । अधिवेशनका लागि प्रायः सांसद बिहीबार ११ बजे प्रदेश सभा सचिवालय भवनमा पुगिसकेका थिए । हेटौँडाको क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा बसेको प्रदेश सभा बैठकमा १३ जिल्लाका ११० सांसद उपस्थित थिए । अधिवेशनका लागि धेरैजसो सांसद बुधबार बेलुका हेटौँडामा आई नेता कार्यकर्ताको घर तथा होटेलमा बसेका थिए । बुधबार आउन नसकेका सांसद बिहीबार बिहानै आइपुगेका थिए । प्रदेश सभा सचिवालयलाई रङरोगन गरी आकर्षक बनाइएको थियो । सांसदका लागि बाहिर ढोकादेखि नै रातो कार्पेट बिछ्याइएको थियो । सञ्चारकर्मीलाई एकपटक फोटो खिच्न दिएपछि हलबाहिर बस्ने व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७