धनगढी प्रहरी हत्या प्रकरण : तस्करीका नाइके व्यापारी गुप्ता पक्राउ


१९ कार्तिक २०७७, बुधबार
rajib 1

कैलाली, १९ कार्तिक । कैलालीको धनगढीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्याकाण्डसँग जोडिएको केराउ तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले धनगढीका एक व्यापारीलाई पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्याकाण्डको अनुसन्धानका क्रममा धनगढीका व्यापारी राजीव गुप्ताको मुख्य संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको हत्या भएको राति जुगेडा क्षेत्रबाट तस्करी भएको सामान गुप्ताको भएको खुलेपछि उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् । ‘यसअघि नियन्त्रणमा लिइएकाहरुको बयानबाट गुप्ताको नाम पनि आएकाले सोधपुछका लागि हामीले नियन्त्रणमा लिएका छौँ’, एसएसपी सिंहले भने ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत कात्तिक १ गते राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक विक र जवान साउदको विभत्स हत्या गरिएको थियो । दुवै जनाको शव हत्या गरेको अवस्थामा मोहना नदीमा फेला परेको थियो ।

प्रहरीको अनुसन्धानबाट केराउ तस्करी गर्ने समूहले दुवै प्रहरीको हत्या गरेको खुलेको थियो । धनगढीबाट भारततर्फ भइरहेका मटर तस्करी रोक्न खोज्दा दुई प्रहरीको हत्या गरिएको अनुसन्धानबाट खुलेको छ । कात्तिक १ गते रातिको समयमा भारततर्फ निकासी भइरहेको मटर गुप्ता रहेको खुलेको एसएसपी सिंहले बताएएका छन्् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले घटनामा संलग्न ८ जनालाई यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीले धनगढी उपमहानगरपालिका– १० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना(क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल रानालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७