क्रिकेटको अन्तर्राष्ट्रिय परीक्षामा नेपाल, अवसर र चुनौती दुवै


५ फाल्गुन २०७४, शनिबार
cricket toli

काठमाण्डौं, ५ फागुन : दुई हप्तापछि नेपाल अर्को ठूलो अन्तर्राष्ट्रिय क्रिकेटको परीक्षामा होमिंदै छ । जिम्बाब्वेमा हुने एक दिवसीय विश्वकप छनोट प्रतियोगिता नेपालका लागि एकातिर उत्कृष्ट दुई स्थानभित्र परेर विश्वकपमा प्रवेश गर्ने बाटो हुन सक्छ भने कम्तीमा पुछारको दुई स्थानभित्र पर्नबाट जोगिएमा नेपाल डिभिजन २ मा फर्किनु पर्ने छैन ।cricket toli

टेष्ट खेल्ने र एक दिवसीय मान्यता पाएका गरी १० राष्ट्र सम्मिलित सो छनोट प्रतियोगिता नेपालका लागि चुनौती र अवसर दुवै हो । जिम्बाब्वेमा दुई हप्तापछि हुने विश्वकप छनोट नेपालले खेल्ने अन्तर्राष्ट्रिय क्रिकेटको ठूलो र कठिन प्रतियोगितामध्ये हुन सक्ने क्रिकेट खेलाडीहरू बताउँछन् । उक्त प्रतियोगितामा के पनि छ भने यसले नेपाललाई एक दिवसीय मान्यता पाएका राष्ट्रहरूसँग पहिलो पटक र टेष्ट मान्यता प्राप्त राष्ट्रहरूसँग दोस्रो पटक सामना गर्ने अवसर दिएको छ । अफगानिस्तान, हङकङ, स्कटल्याण्ड र जिम्बाब्वे रहेको समूहमा नेपाल परेको छ । उनीहरूसँगको प्रतिष्पर्धा नेपाली क्रिकेटलाई प्रमाणित गर्ने अर्को क्षण हुने खेलाडीहरू ठान्छन् ।cri

राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास भन्छन्, ‘सम्भवतः नेपालले खेलेको सबैभन्दा चुनौतीपूर्ण प्रतियोगिता हुनेछ । यसमा हामी रमाउन सक्नुपर्छ । यो स्तरमा हामी उपयुक्त छौं भन्ने प्रमाणित गर्न खेलाडीहरूले ’डरमुक्त’ भएर खेल्न सक्नु पर्छ । अगाडिको बाटो सहज छैन । तर यसलाई अवसरको रुपमा लिने हो भने यो भन्दा राम्रो मौका शायदै पाउला अबको चार वर्षमा ।’ विश्वकप छनोट प्रतियोगिता खेलाडीहरूकै शब्दमा नेपालले अन्तर्राष्ट्रिय रूपमा गुमाएको साख फर्काउने अवसर हुनेछ ।criket nepal1

त्यस्तै वल्र्ड क्रिकेट लिग च्याम्पिनयशीप र चार दिवसीय प्रणालीको अन्तरमहादेशीय क्रिकेट प्रतियोगितामा सहभागी हुने ढोका समेत खुल्न सक्ने छ । ब्याटिङ नेपाली टोलीको चिन्ताको विषय बन्दै रहि आएको छ । नेपाल क्रिकेट संघका प्रमुख कार्य सञ्चालन अधिकृत छुम्बी लामाका अनुसार १० राष्ट्र सम्मिलित प्रतियोगिताको कम्तीमा पुछारको दुई स्थानमा पर्नबाट जोगिए नेपालले अन्य अवसरसहित एक दिवसीय मान्यता पाउने छ ।

उनले भने, ‘१० राष्ट्रमा चार वटा टेष्ट मान्यता प्राप्त राष्ट्र भइहाले । त्यो बाहेक बाँकी चार वटा राष्ट्रले एक दिवसीय मान्यता पाउने छ । पुछारको रहेका दुई टोली भने फेरि डिभिजन २ मा झर्ने आइसीसीले जनाएको छ । बाँकी प्रतियोगिताको निर्णय पनि चाँडै हुने बताइएको छ । त्यसका लागि सुधारिएको खेल खेल्नु पर्ने चुनौती खेलाडीहरूसामु छ । प्रतियोगिताका लागि दुई हप्ता मात्र बाँकी भएकोले नेपाललाई थप अभ्यासको समय छैन । criket a

आइपीएल प्रवेशसँगै काँधमा ठूलो जिम्मेवारी

जिम्बाब्वे जानुअघि नेपालले अब हङकङ र युएईसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसैले मुख्य चिन्ताको विषय रहेको ब्याटिङ सुधार्न १५ वर्ष राष्ट्रिय टोलीका प्रारम्भिक ब्याट्सम्यान रहेका परेश लोहनी सुझाव दिन्छन् । उनले भने, ‘मानसिक रूपमा तयार हुनुपर्छ । म क्रिजमा बस्छु । के छ र तीन वटा डट बल खाउँ । मेडन ओभर खाउँ । नन स्ट्राइक जाने र रन लिन जरूरी छ । त्यसो हुनासाथ विश्वास बढ्छ । यो त ५० ओभरको खेल हो २० ओभरको होइन नि ।’ हङकङ र अफगानिस्तानसँग बारम्बार खेलिरहेको हुनाले पूरानो अनुभव नेपालका लागि उपयोगी हुन सक्ने पनि ठानिएको छ ।

अनुभवी र युवा खेलाडी भएको नेपाली क्रिकेट टोलीमा नयाँ आशा देखिएको बताइन्छ । पूर्व कप्तान विनोद दासका अनुसार नेपालसँग क्षमता छ, कमी छ त मनोबलको मात्र । तर, पूराना अनुभवीसँगै युवा खेलाडीले नामिबियामा देखाएको प्रदर्शनबाट उनी आशावादी देखिन्छन् । उनी भन्छन्, ‘ठूलो रन बनाउन अहिले पनि नेपाल पारस खड्का, शरद भेषावकर र ज्ञानेन्द्र मल्लमा निर्भर छ ।

तर राम्रो कुरा के छ भने बिस्तारै १९ वर्षमुनिका खेलाडीहले पनि यो स्तरमा खेल्न सक्ने कुरा देखाइरहेका छन् । जुन भविष्यका लागि राम्रो संकेत हो ।’ अर्कोतर्फ अफ्रिकी राष्ट्र जिम्बाब्वेमा खेल हुनु नेपालका लागि फाइदा हुन सक्ने ठानिएको छ । किनकी नामिबिया र जिम्बाब्वेको मौसम र विकेटमा समानता देखिन्छ । कप्तान पारस खड्काले भने जस्तै नेपालले फेरि एक पटक प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प देखिंदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७