पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था निकै गम्भिर

उपचारमा संलग्न डाक्टर भन्छन्, ‘थोरै भए पनि बचाउने आशा छ’


१४ फाल्गुन २०७७, शुक्रबार
1577697466nabindraraj joshi 1

काठमाडौं, १४ फागुन । मस्तिष्कघात भएपछि उपचारमा रहेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् ।

जोशीलाई बचाउने आशा अझै ३० प्रतिशत रहेको चिकित्सकले बताएका छन् । नेता जोशीको स्वास्थ्य अवस्थाबारे शुक्रबार दिउँसो जानकारी दिँदै उपचारको नेतृत्व गरिरहेका न्युरो सर्जन डा. राजीव झाले जोशी बाँच्ने थोरै भए पनि आफूहरूले आशा गरेको बताए ।

मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल लगिएको थियो । दोस्रो हात बाउँडिन थालेपछि जोशीले श्रीमती र छोरीलाई अस्पताल लैजान भनेका थिए । अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भइसकेका थिए । सिटी स्क्यान गरेर हेर्दा टाउकोमा रगत जमिसकेको पाएपछि वीरबाट नर्भिक अस्पताल लगिएको थियो ।

उनको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा. राजीव झा भन्छन्, ‘उहाँ कोमामा हुनुहुन्थ्यो । सास फेर्न गाह्रो भएको थियो र बान्ता फोक्सोमा पुगिसकेको थियो ।’ सास फेर्न सहज होस् भनेर पाइप राख्नुका साथै फोक्सोमा पुगेको वान्ता निकालिएको छ । डा. झा भन्छन्, ‘हेर्दै जाँदा उहाँको एउटा आँखाको नानी फुलेको देखियो । दुबै आँखाको नानी फुल्ने चाहिँ मृत्यु भएको अवस्थामा मात्र हुन्छ । एकातिर त्यस्तो देखिनु भनेको आधा दिमागले काम नगरेको देखियो ।’

सिटी स्क्यान गर्दा दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा रगत पुगेर ब्लक गरेको पाइएको डा. झाले जानकारी दिएका छन् । सुगर, प्रेसरलगायतका रोगबाट समेत पीडित जोशीले रगत पातलो बनाउने औषधि खाइरहेका थिए । यस्तो मानिसको सर्जरी गर्दा धेरै रक्तश्राब हुने भएकाले रगत जोहो गरेर सर्जरी गरेको उनले बताए ।

डा. झा भन्छन्, ‘अहिलेसम्म १२०–१३० मिलिलिटर पानी निकालेका छौं । उहाँलाई भेन्टिलेटरमा राखेका छौं ।’ यो अवस्था निकै जटिल भएको र यस्तो अवस्थामा पुगेका ६०–७० प्रतिशतलाई बचाउन नसक्ने उनले सुनाए । डा. झा भन्छन्, ‘उहाँलाई कसरी बचाउने भनेर हामी लागेका छौं ।’ उनका अनुसार यस्तो अवस्थाबाट बाँचेकाहरुमा ठूलो प्यारालाइसिस लामो समयसम्म रहनसक्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७