सीमानामा हेल्थ डेस्क जहाँ परीक्षण हुँदैन

नेपाल फर्कनेको संख्या बढे पनि नाकामा सतर्कता अपनाइएको छैन


११ चैत्र २०७७, बुधबार
Trinagar.jpg .2021 03 24

झापा, ११ चैत । भारतमा कोभिड– १९ संक्रमण बढेसँगै पूर्वीनाका काँकडभिट्टाबाट स्वदेश फर्कनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भारतबाट दैनिक १२ सय नेपाली भित्रिन थालेका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने, ‘पछिल्लो समय आउनेको संख्या केही बढेको देखिन्छ । अहिले भारतबाट दैनिक १२ सय नेपाल फर्किने गरेका छन् । नेपालबाट पनि दैनिक दुई हजारको संख्यामा भारततिर गइरहेका छन् ।’

भारतमा कोभिड– १९ को संक्रमण बढेसँगै नेपाल फर्कनेको संख्या बढे पनि नाकामा खासै सतर्कता अपनाइएको छैन । विगत केही दिनदेखि नाकामा ज्वरो नाप्न थालिएको छ । नाकामा बसेका प्रहरीले नेपाल आउनेको नाम टिप्छन् र गन्तव्यमा पठाउँछन् । विगतमा काँकडभिट्टामा भारतबाट आएकालाई राख्न होल्डिङ सेन्टर थियो । तर, अहिले त्यो पनि हटाइएको छ । ‘विगतमा होल्डिङ सेन्टर थियो, अहिले छैन,’ प्रजिअ तिमिल्सिनाले भने, ‘अहिले पनि सामान्य स्वास्थ्य जाँच गर्दै आएका छौँ । यसलाई व्यवस्थित गर्न स्वास्थ्य कार्यालयलाई भनेका छौँ ।’

मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन सेन्टरको बैठकले सबै स्थानीय तहलाई क्वारेन्टिनको व्यवस्थापन गर्न निर्देशन दिइएको उनले बताए । ‘हामी चनाखो बन्नुपर्ने अवस्था छ । हामीले मास्क र स्यानिटाइजर लगाउन छाडेका छौँ । तर, अब सचेत बन्नुपर्छ । स्थानीय तहमा यसअघिका क्वारेन्टिनका संरचना छन्,’ उनले भने, ‘अब त्यसलाई व्यवस्थित गरेर तुरुन्त सञ्चालनमा ल्याउन सकिन्छ । अब जति वेला पनि सञ्चालनमा ल्याउन सक्ने गरी तयारी गर्नुपर्छ भनेर स्थानीय तहलाई आग्रह गरेका छौँ ।’

झापामा १४२ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । कोभिड– १९ महामारी सुरु हुँदा गत वर्ष सिमानामा कडाइ गरिएको थियो । तर, अहिले सिमानाका प्रहरी आफ्नो कार्यस्थलमा फर्किसकेका छन् । सीमावर्ती भारतीय नागरिक नेपालतिर आएर खेती गर्न सुरु गरेका छन् भने मुख्य नाका बाहेकका खुला सीमाबाट पनि सहजै आवतजावत हुँदै आएको छ । अब भएको जनशक्तिबाट नै खुला सीमालाई व्यवस्थित गरिने उनले बताए ।

‘पहाडी जिल्लामा रहेका प्रहरीलाई यसअघि सीमाको सुरक्षामा राखिएको थियो । उनीहरू फर्किसकेका छन् । अब भएको जनशक्तिबाट बोर्डरमा कडाइ गर्ने हिसाबले हामी अघि बढ्छौँ,’ प्रजिअ तिमिल्सिनाले भने, ‘माथिबाट पनि केही निर्देशन पक्कै आउला । त्यहीअनुसार अघि बढ्छौँ ।’ भिडभाड गरेर कार्यक्रम नगर्न अपिल गर्ने निर्णय गरेको पनि उनले बताए ।

नाकामा कडाइ गर्ने पर्सा प्रशासनको निर्णय

वीरगन्ज । केही दिनयता कोभिड– १९ का संक्रमित भेटिन थालेपछि स्थानीय प्रशासनले नाकामा सतर्कता अपनाउने निर्णय गरेकोे छ । जिल्लास्तरीय कोभिड– १९ संकट व्यवस्थापन केन्द्र समिति पर्साको मंगलबार बसेको बैठकले भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिको नाकामा रहेको हेल्थ डेस्कमा जाँच गर्ने निर्णय लिएको छ ।

शंकास्पद व्यक्तिको तापक्रम परीक्षणपछि मात्रै नाकाबाट प्रवेश गर्न दिने निर्णय गरेको समितिले जनाएको छ । पछिल्लो तीन दिनमा वीरगन्जमा २० जनामा कोभिड– १९ संक्रमण पुष्टि भएपछि प्रशासन सतर्क भएको छ । नयाँ संक्रमण देखिएकाहरूको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ ।

छिमेकी मुलुक भारतमा कोभिड– १९ को संक्रमण बढेपछि सतर्कता अपनाएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । नेपाल आउने सबै शंकास्पद व्यक्तिको तापक्रम परीक्षण गर्ने निर्णय भएकाले जाँच गर्ने उनले बताए । भारतबाट आउनेको नाकामा तापक्रम नाप्ने र ज्वरो आएकाहरूको परीक्षण गर्ने उनको भनाइ छ ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरका अनुसार नयाँ संक्रमितमा दोस्रो फेजको कोभिड– १९ संक्रमण भएको आशंका गरिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ महानगरपालिकाले गर्ने उनले बताए । मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुर पछिल्लो चरणमा देखिएको संक्रमण दोस्रो फेजको कोभिड– १९ हुन सक्ने बताउँछन् ।

‘दोस्रो फेजको कोभिड– १९ भारतमा तीव्र गतिमा फैलिएको छ । हामीले सतर्कता अपनाउनुपर्नेछ । व्यक्तिगत दूरी, मास्क र सरसफाइमा ध्यान दिनुपर्छ,’ उनले भने ।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले पछिल्लो समय कोभिड– १९ संक्रमण देखिएकाले अब नाकामा कडाइ गर्ने बताए । कोभिड– १९ नियन्त्रणमा आएपछि महानगरपालिकाले चार–पाँच महिनाअघि पिसिआरका लागि स्वाब संकलन बन्द गरेको थियो ।

बेलहिया नाकामा आजदेखि कडाइ गर्ने तयारी
भैरहवा । भारतबाट कोभिड– १९ भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बेलहिया नाकामा पनि सतर्कता अपनाइएको छ । स्थानीय प्रशासनले सीमानाकामा सुरक्षाका काम सुरु भएको बताउँदै बुधबारदेखि कडाइ हुने जानकारी दिएको छ ।

सतर्कता अपनाउने प्रयासस्वरूप बेलहियामा हेल्थ डेस्क स्थापना भएको छ । भारतबाट आउनेको सामान्य रूपमा ज्वरो नाप्ने गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । उनका अनुसार रोजगारी गरी फर्किनेको संख्या दैनिक दुई सय पचासको हाराहारीमा छ । भारतबाट नेपाल आउने कोभिड– १९ कै कारणले आएको भन्ने अवस्था अझै नरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

भारतबाट कोभिड– १९ भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बेलहिया नाकामा नै परीक्षण गर्ने तयारी गरेको स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ साहले जानकारी दिए । सीमा क्षेत्रमा रहेका दुईवटा हेल्थ डेस्कमध्ये एकबाट लगत लिने र ज्वरो नाप्ने काम हुन्छ भने अर्कोमा मलेरिया जाँच र कोभिड– १९ को परीक्षण गर्ने फोकल पर्सन साहले बताए । हेल्थ डेस्कका लागि आवश्यक जनशक्ति स्थानीय सरकारले उपलब्ध गराएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर अधिकारीले बताए ।

भारतीय बजारमा जान र आउन सहज छ । यसले हेल्थ डेस्क स्थापना गरिए पनि अन्य सुरक्षाका विषयमा भने काम हुन सकेको छैन । बेलहियामा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्वास्थ्य कर्मचारी खटिए पनि सामान किनबेचका लागि ओहोर–दोहोर गर्नेलाई सोधपुछ गर्ने गरिएको छैन ।

नेपालगन्ज नाकामा अझै स्थापना भएन हेल्थ डेस्क

बाँके । भारतबाट आएका नेपालीमा कोरोना संक्रमण देखिएपछि सरकारले नाकामा कडाइ गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ । तर, नेपालगन्ज उपमहानगरले अहिलेसम्म जमुनाह नाकामा हेल्थ डेस्क सञ्चालन गरेको छैन ।

नाकाको हनुमानगढी मन्दिर परिसरमा हेल्थ डेस्कका लागि त्रिपाल टाँगिएको भए पनि काम सुरु नभएको उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । नाकामा ल्याब सुविधासहितको हेल्थ डेस्क सञ्चालन गरिन लागेको उनले बताए । हेल्थ डेस्कमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेडिकल अधिकृतसहित ल्याब टेक्निसियन, नर्सिङ स्टाफ र पारामेडिक्स दुई–दुईजना खटाएको चन्दले बताए ।

बाँकेको जमुनाह नाका हुँदै स्वदेश फर्किने नेपालीको संख्या धेरै बढेको छ । यो नाका भएर अहिले दैनिक सरदर सात सय नेपाली भारतबाट फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ विष्णु गिरीले बताए ।

नाकामा गत वर्ष स्थापना गरिएको हेल्थ डेस्क प्रयोगविहीनजस्तै छ । खुले पनि कर्मचारी बस्दैनन् । ‘यो कामका लागि भारत गएकाहरू फर्किने समय पनि हो, तर फर्किने नेपालीमा लकडाउन र कोरोनाको सन्त्रास पनि देखिन्छ,’ सइ गिरीले भने ।

भारतको चण्डीगढमा मजदुरी गर्ने दाङको बबई गाउँपालिका– ५ जलुके घर भएका चेतबहादुर बुढा मंगलबार नेपालगन्ज नाका हुँदै नेपाल भित्रिए । कोरोनाका कारण भारतका विभिन्न सहरमा लकडाउन हुन थालेपछि हतारहतार घर फर्किएको उनले बताए । ‘लकडाउन भयो भने घर आउन पाइँदैन भन्ने लागेर हतारहतार घर फर्किएँ,’ उनले भने, ‘गहुँ भित्र्याउने, मकै छर्ने वेला भएको छ ।’

सुदूरपश्चिमी नाकाहरूमा भारतबाट फर्कनेको भिड

धनगढी । रोजगारीका लागि भारत गएकाहरू स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । फर्किने सबैको नाकामा स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

सुदूरपश्चिमेलीहरूको मौलिक पर्व बिसु र चैतेअष्टमी मनाउन यतिवेला घर फर्किनेहरूको संख्या बढेको छ । भारतमा संक्रमण तीव्र बनेका सहरबाट पनि नेपाली फर्किरहेका छन् । स्वास्थ्य सतर्कता नअपनाए पुनः संक्रमण तीव्र रूपमा फैलिन सक्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् । शनिबार गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरेका एकजनामा कोरोना पुष्टि भएको थियो ।

कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट अहिले दैनिक करिब एक हजार जना नेपाली भित्रिरहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमरबहादुर थापाले बताए । यी दुई नाकाबाट १ चैतयता करिब साढे सात हजारजना भित्रिएको प्रहरीले जनाएको छ ।

नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको भए पनि भारतबाट फर्कने सबैको ज्वरो नाप्ने र कोरोनाका लक्षणहरूबारे बुझ्ने काम भएको छैन । त्रिनगर नाकामा मंगलबारबाट भने स्वास्थ्य सावधानी तुलनात्मक रूपमा केही बढाइएको छ । नाकामा खटिएका अहेव गणेशबहादुर साउदले जनशक्ति कम भएकाले सबैको स्वास्थ्य जाँच गर्न नसकिएको बताए । ‘हिजोसम्म हेल्थ डेस्कमा एक्लै थिएँ, एक्लैले सबैको जाँच गर्न सम्भव थिएन,’ उनले भने, ‘स्वास्थ्य कार्यालय कैलालीले आजबाट चारजना खटाएकाले केही सहज भएको छ ।’ मंगलबार पनि भारतबाट फर्केका सबैको परीक्षण गर्न नसकिएको उनले बताए ।

कोरोना संक्रमण देखिएको महाराष्ट्रबाट फर्किएका सयजनामा भने एन्टिजेन परीक्षण गरिएको छ । तीमध्ये चारजनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कैलालीका ल्याब असिस्टेन्ट विकास वडले बताए । ‘केही त परीक्षण गर्न नै मान्दैनन्, लाइन नलागेरै गइहाल्छन्,’ उनले भने, ‘प्रशासनले कडाइ नगर्दासम्म सबैको जाँच गर्न सम्भव छैन ।’

गड्डाचौकी नाकामा भारतबाट फर्कने सबैको कोरोना परीक्षण गरिएको छैन, शंकास्पद व्यक्तिको मात्रै एन्टिजेन परीक्षण गरिएको भीमदत्त नगरपालिकाले जनाएको छ । ‘भ्याए जतिको ज्वरो नाप्ने काम भइरहेको छ । सबैको परीक्षण गर्नेबारे निर्णय भएको छैन,’ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नरेन्द्रराज जोशीले भने, ‘शंकास्पद र लक्षण देखिएकाहरूलाई एन्टिजेन परीक्षण गरिरहेका छौँ ।’ नगरपालिका र स्वास्थ्य कार्यालयको ६ जनाको टोली पालैपालो हेल्थ डेस्कमा खटिएको उनले बताए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका चारवटा नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गर्न सम्बन्धित स्वास्थ्य कार्यालयहरूलाई परिपत्र गरेको छ । कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएको हेल्थ डेस्कमार्फत एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।

सावधानी नअपनाए सुदूरपश्चिममा संक्रमणले विगतको भन्दा भयावह रूप लिन सक्ने निर्देशक अवस्थीले बताए । ‘अहिले नयाँ प्रजातिको कोरोना भाइरस देखा परिरहेको छ । त्यसको संक्रमण र मृत्यु दर बढी छ,’ उनले भने, ‘सुदूरपश्चिममा भित्रिए स्थिति जटिल बन्न सक्छ । समयमै सावधानी अपनाउन आवश्यक छ ।’ नाकामा परीक्षण र परीक्षणबाट संक्रमित देखिएकाहरूलाई कहाँ, कसरी राख्ने भन्ने विषयमा सरकारले चाँडै निर्णय गर्नुपर्ने उनले बताए ।

प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भारतबाट फर्किनेहरूको नाकामा परीक्षण गर्न सम्बन्धित स्थानीय तहहरूलाई एन्टिजेन पठाइएको बताए । ‘भारतमा संक्रमण तीव्र बन्न थालेको छ र सुदूरपश्चिममा अहिले भारतबाट फर्कनेको संख्या बढ्दो छ,’ उनले भने, ‘त्यसैले हामीले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिरहेका छौँ ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशभरि अहिले एक सय ४७ जना सक्रिय संक्रमित छन् । हालसम्म एक लाख ३७ हजार पाँच सयको पिसिआर परीक्षण गरिएकोमा १६ हजार ६८ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म प्रदेशभर ५६ जनाको मृत्यु भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७