कोरोनाविरुद्ध राजधानीमा तेस्रो पटक निषेधाज्ञा

१६ वैशाखको बिहान ६ बजेदेखि २२ वैशाखको मध्यरातसम्म लकडाउन


१४ बैशाख २०७८, मंगलवार
Lock down 1230

काठमाडौं, १४ बैैसाख । कोरोना संक्रमण सुरु भएयता देशमा तेस्रोपटक लकडाउनको अवस्था सुरु भएको छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिएपछि उपत्यकामा बिहीबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरेर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ । उपत्यकाबाहिरका संक्रमण धेरै देखिएका विभिन्न जिल्लामा पनि निषेधाज्ञा सुरु भइसकेको छ ।

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयको सिफारिस र गृह मन्त्रालयको सहमतिमा बिहीबार (१६ वैशाख)को बिहान ६ बजेदेखि निषेधाज्ञा लगाउने निर्णय भएको हो । संक्रमण तीव्र रूपमा फैलिएपछि निषेधाज्ञा सुरु भएको हो । निषेधाज्ञाअनुुुसार १६ वैशाखको बिहान ६ बजेदेखि २२ वैशाखको राति १२ बजेसम्म सार्वजनिक यातायात बन्द हुनेछन् । सोमबार उपत्यकाका मात्र एक हजार पाँच सय ६७ जनामा संक्रमण देखिएको थियो ।

निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै व्यवसाय बन्द गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । खाद्य पसल बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खुल्ने छन् । डिपार्टमेन्ट स्टोरले ग्रोसरी मात्र सञ्चालन गर्न पाउने छन् । जसका लागि १० बजेदेखि ५ बजेसम्मका लागि समय तोकिएको छ ।

विवाहको हकमा जिल्ला प्रशासनबाट अनुमति लिएर बढीमा १५ जना सहभागी हुन पाउने छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कार्यालयको परिचयपत्रका आधारमा सवारीसाधन प्रयोग गर्न पाउने निर्णय गरिएको छ । सरकारी कार्यालयमा अत्यावश्यकबाहेकको सेवा बन्द हुनेछ ।

कोरोना सुरु भएयताको तेस्रो लकडाउन तथा निषेधाज्ञा हो । सुरुमा सरकारले ११ चैत ०७६ मा देशव्यापी रूपमा लकडाउन लगाएको थियो । असारको पहिलो साताबाट सो लकडाउन अन्त्य गरिएको थियो । साउनबाट फेरि संक्रमण बढेपछि उपत्यकालगायतका ठाउँमा फेरि निषेधाज्ञा जारी गरिएको थियो । जुन बिस्तारै खुकुलो बनाइयो । अहिले दोस्रो लहर सुरु भएपछि फेरि निषेधाज्ञा सुरु भएको छ ।

तत्कालका लागि एक साता भनिए पनि यो कम्तीमा दुई साता लम्बिने गृह मन्त्रालयका एक अधिकारीले बताए । त्यसपछि परिस्थिति हेरेर निर्णय गरिने ती अधिकारीको भनाइ छ ।

देशभरि स्कुल बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले कोरोना जोखिम बढेकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोभिड– १९ संकट व्यवस्थापन समितिको सिफारिसका आधारमा यस्तो निर्णय भएको हो । साथै बैठकमा भारतसँगको सीमा बन्द गर्ने तथा देशव्यापी रूपमा लकडाउन गर्ने विषयमा समेत छलफल भएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७