लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजबाट, भोलि अविश्वासको प्रस्तावमा मतदान


१९ बैशाख २०७८, आईतवार
shankar pokhrel scaled

बुटवल, १९ बैसाख । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज (आइतबार) बाट शुरु हुँदैछ । प्रदेश सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा यही वैशाख ६ गते दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ । मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव आज संसदमा पेस हुने र भोलि मतदानमार्फत टुङ्ग्याउने कार्यसूची रहेको छ ।

भोलि मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि सभामुखले निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेण्डामा छलफल भएको थियो । बैठकपछि सभामुख पूर्णबहादुर घर्तीले दुई दिनमा टुङ्ग्याउने गरी कार्यसूची तय गरेका छन् । केही सांसदले एकै दिन अविश्वासको प्रस्तावको टुङ्गो लगाउनुपर्ने बताए पनि सभामुख घर्तीले दुई दिनमा टुङ्ग्याउने गरेर कार्यसूची तय गरेका हुन् ।

लुम्बिनीमा सांसदको संख्या घटेर ८१ मा झरेको छ । एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका दुई, जनमोर्चाका एक सांसद छन् । मुख्यमन्त्री पोखरेललाई सत्ता जोगाउन ४१ सांसद आवश्यकता पर्ने देखिएको छ । एमालेको ४१ सांसद रहेको भए पनि पार्टीभित्रको आन्तरिक विवादका कारण पूरै मत पाउने सम्भावना भने कम देखिएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर भएका तीनसहित जसपाका चार सांसद सरकारमा सहभागी भएपछि उनीहरूको सांसद पद गुमेपछि संसद्को अंक गणित फेरिएको हो ।

विपक्षीलाई फ्लोर क्रसको आश, मुख्यमन्त्रीलाई सरकार ढल्ने त्रास
लुम्बिनी प्रदेश सभामा एमालेका ४१ जनामध्ये दुई जना माधव नेपाल पक्षमा खुलेका सांसद छन् । तर उनीहरुले कर्णालीमा जस्तै फ्लोर क्रस गर्छन् भन्ने निश्चित छैन । उनीहरुमध्ये एक जनाले मात्रै फ्लोर क्रस गरे पनि अविश्वास प्रस्ताव पारित भई सरकार ढल्न सक्छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक घर्ती भने अविश्वास प्रस्ताव पारित गर्ने गरी आफूहरु अघि बढेको दाबी गर्छन् । मुख्यमन्त्री शंकर पोखरेललाई कतै फ्लोर क्रस त हुँदैन भन्ने त्रास बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७