भारतले कैलाश–मानसरोवर सडक बनाउँदा नेपालतिरको बाटो भत्किएर अवरुद्ध


२७ जेष्ठ २०७८, बिहीबार
sadak darchula.jpg .2020 05 10

दार्चुला, २७ जेठ । भारतले कैलाश–मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटो समेत भत्किएको छ । भारतले कैलाश–मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदीवारि नेपालतिर ढुंगा आएर बाटो अवरुद्ध भएको छ ।

मंगलबार दिउँसो व्यास गाउँपालिका–२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा विस्फोट गराउँदा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको स्थानीयवासी मुकेश बुढाथोकीले जानकारी दिए । प्रहरी चौकी दुम्लीङबाट करिब २०० मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ । भारतको सडक निर्माणका क्रममा आएको पहिरो नेपालतिर पुगेको हो ।

स्थानीय र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको घोरेटो बाटो पूर्ण रूपमा भत्किएको छ । घोरेटो बाटो भत्किँदा नेपालतिरको आवतजावत पूर्ण रूपमा बन्द भएको बुढाथोकीले बताए । भारतले धार्चुला लिपुलेक–मानसरोवर सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ । भारतले सडक निर्माणका क्रममा अत्यधिक जिलेटिनको प्रयोग गर्ने भएकाले बेलाबेलामा नेपालतर्फको बाटो अवरुद्ध हुने गरेको छ ।

दुम्लीङदेखि बुदीसम्म भारतले सडक विस्तार र निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेर नेपालतिर क्षति पु¥याएको छ । ढुंगाहरु ठाउँठाउँमा नदीमा खसेका छन् । ठाउँठाउँमा भारतबाट आएका ढुंगा महाकाली नदीमा गएर नदीको धार परिवर्तन गरेको छ ।
अहिले मात्र नभई विगतदेखि नै भारतले सडक निर्माणका क्रममा नेपालतिरको भूगोलमा क्षति पुर्‍याउने गरेको छ । भारत सरकारले महाकाली नदी किनारै किनार भएर सडक निर्माण गरेको छ । यसबाट अधिकांश ढुंगाले नदी थुनिने र नेपालतिर क्षति पुर्‍याउने गरेको छ ।

भारतको सडक निर्माणका क्रममा ढुंगा आएर अवरुद्ध भएको छाङरु जोड्ने नेपालतिरको घोरेटो बाटो प्रहरी र स्थानीयवासीको सक्रियतामा निर्माण सुरु गरिएको छ । अवरुद्ध भएको १५० मिटर बाटो प्रहरीचौकी दुम्लीङका प्रहरी सहायक निरीक्षक जनकबहादुर सिंह तथा स्थानीयवासीको सक्रियतामा निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

उनले भने, ‘हाम्रो सक्रियताले मात्रै पूर्ण रूपमा सञ्चालन हुने अवस्था छैन तर पनि अस्थायी रूपमा मान्छे हिँड्डुल गर्न मिल्ने गरी काम हुँदैछ ।’ कल्जु तम्बाकु क्षेत्रमा घोरेटो बाटो अवरुद्ध हुँदा व्यासको छाङरु र तिंकर आवतजावत समेत बन्द भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७