बस्नेतको अवकाशसँगै अख्तियारका प्रवक्ता फेरिए
काठमाडौं, १६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता फेरिएका छन् । नयाँ प्रवक्तामा सहसचिव दीर्घराज मैनाली तोकिएका छन् । मैनाली राजस्व समूहमा लामो समय काम गरेका सहसचिव हुन् ।
प्रवक्ताका रुपमा काम गर्दैआएका सहन्यायाधीवक्ता पदमप्रसाद पाण्डे महान्यायाधीवक्ता कार्यालयमा फर्किसकेका छन् ।
२०७४ माघ २९ मा प्रमुख आयुक्त दीप बस्नेतको कार्यकाल सकिएपछि पाण्डे महान्यायाधीवक्ता कार्यालयमा फर्किएका हुन् । जीवराज कोइरालाको अवकाशपछि बस्नेतले पाण्डेलाई प्रवक्ता बनाएका थिए । बस्नेतको बिदाइसँगै अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे तोकिएका छन् ।