कर्णाली नदीकाे कटानले सत्ती पुल अवरुद्ध भएपछि हजारौंको टुट्यो सम्पर्क


१३ असार २०७८, आईतवार
pul bhasiyo

सुर्खेत, १३ असार । कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजारौ नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौं नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ ।

कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान हुँदा सुदूरपश्चिम र लुम्बीनी प्रदेश जोड्ने यो बाटो बन्द भएको छ । सत्ती पुल भएर दैनिक हजारौँ नागरिक र सयौं सवारीसाधन आवतजावत गर्ने गर्दथे ।

शनिबार दिउँसो कर्णाली नदीको पूर्वी भागमा पुलको स्ल्याब कटान गरेपछि हुलाकी राजमार्ग पूर्णतया अवरुद्ध भएको हो । कर्णाली नदीको बहाव पूर्वपट्टि हान्दै गएकाले पहिलेदेखि नै त्यहाँ पुलको स्पान थप्नुपर्ने स्थानीयवासीको माग थियो तर समयमै काम नहुँदा नदी कटानले बाटो अवरुद्ध भएको हो ।

नदीले पुलको स्ल्याब कटान भएपछि कैलाली र बर्दिया नियमित चल्ने बस तथा सवारी साधन वारि र पारि रोकिएका छन् । राजापुरका स्थानीयवासी विक्रम कायस्थ खेतीपातीको समयमा वारिपारि गर्ने नागरिकलाई अझ बढी समस्या भएको बताउँछन् ।

‘कैलालीका सयौँ नागरिकको खेतीपाती बर्दियामा छ । उनीहरु यो समयमा बिहान जाने, साँझ फर्कने गर्दथे’, कायस्थ भन्छन्, ‘उनीहरुलाई समस्या शुरु भएको छ । यसका साथै कैलालीको उत्पादन बर्दियामा बिक्री हुने र बर्दियाको कैलाली आउने व्यापारिक सामान समेत नसकिने भएको छ ।’

बर्दियाको राजापुरका अधिकांंश नागरिक उपचार र किनमेल जस्ता कार्य गर्न टीकापुर आउने गर्दछन् । पुल भत्किँदा यी सबैलाई समस्या भएको छ । पाँच वर्षअघि पुल निर्माण सम्पन्न भएकै वर्ष दुईवटा स्पान थप्नुपर्छ भन्ने माग भए पनि काम नभएपछि यस्तो अवस्था आएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाको भनाइ छ । ‘हामीले पुल निर्माणकै क्रममा बर्दियातर्फ दुई स्पान थप्न आग्रह गर्‍यौंँ, कसैले सुनेनन्’, उनले भने, ‘पाँच वर्षसम्म त निर्माण कम्पनीले हरेक बर्षात पुलपारि तटबन्ध गरेर पुल जोगायो तर गत वर्ष निर्माण कम्पनीको सम्झौता म्याद सकियो । यस वर्ष पुल नै रहेन ।’

वडाध्यक्ष ठुकल्लाले समयमै ध्यान नदिएकै कारण अहिले ठूलो क्षति भएको बताए । पुल भत्केपछि कैलाली र बर्दिया जिल्लाको व्यापारिक विकासमा वाधा पुगेको स्थानीयवासी बताउँछन् । आवतजावत बन्द हुँदा टीकापुर– ८ श्रीलङ्कामा बसिरहेका ४० परिवारसँगको सम्बन्धसमेत टुटेको छ । श्रीलङ्कामा वर्षे धान खेती गर्ने समयमा त्यहाँ आवतजावत गर्ने सम्पर्क टुटेको स्थानीयवासी रमा बुढाले बताए । ‘हामी टीकापुर बस्छौँ तर खेतीपाती उतै छ । खेती गर्ने समयमा अब कसरी जानु ?’, उनले भने, ‘श्रीलङ्कामा सयौं बिघा खेतीयोग्य जमीन छ । अब मानिसलाई दुःख हुने भयो ।’

राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले अब विकल्पका रूपमा पुलबाट करिब पाँच किलोमिटर उत्तरको दौलतपुर घाटस्थित डुङ्गाबाट आवातजावत गर्नुपर्ने अवस्था आएको बताए । ‘अब पुलबाट आवतजावत गर्ने अवस्था छैन । अब नागरिकले पुनः डुङ्गाबाट आवतजावत गर्नुपर्ने बाध्यता आइलागेको छ’, प्रमुख चौधरीले भने, ‘पुल बनेपछि सुख पाएका नागरिकलाई पुनः जोखिमपूर्ण यात्रा गर्नुपर्नेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७