कोरोनाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता


१६ असार २०७८, बुधबार
korona covid 19 1 scaled

चितवन, १६ असार । चितवन कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कोरोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो ।

कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित स्वास्थ्य परीक्षणदेखि खानपानमा समेत ध्यान दिन लागिएको हो । उनले भने, ‘अहिले समस्या छैन, समस्या आउँछ कि भनेर सावधानी अपनाएका छौं ।’

थुनुवालाई पहिले टेलिफोन सेवा उपलब्ध गराइएको भए पनि अहिले त्यो सुविधासमेत कटौती गरिएको उनले बताए । कारागारमा कैदीबन्दीको संख्या बढी भएकाले पनि सावधानी अपनाउनु परेको उनले जानकारी दिए । कारागारमा अहिले ६७४ कैदीबन्दी छन् ।

कारागारमा रहेका कैदीबन्दीमा विभिन्न प्रकारको रोग रहेकाले एक जनामा कोरोना सङ्क्रमण देखिए फैलन सक्ने भएकाले क्वारेन्टिनमा रहेकालाई छुट्टै भान्छाको व्यवस्था गरिएको छ । नियमित अस्पताल लैजानु पर्ने बिरामीलाई पनि क्वारेन्टिनमा राखिएको उनले बताए । कारागारमा २५ महिलाको क्षमता रहेकामा ५१ र २५५ पुरुषको क्षमता भएकामा ६२३ रहेका छन् । उनीहरुसँग तीन आश्रित बालबालिका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७