रसुवागढी नाकाबाट पनि कारोबार शुरु


२३ फाल्गुन २०७४, बुधबार
rasuwagadhi Naka.jpg

काठमाण्डौं, २३ फागुन : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा मंगलबारदेखि फेरि कारोबार शुरु भएको छ । कारोबार शुरु भएसँगै ८० वटा कन्टेनर नेपाल भित्रिएका छन् भने ५० वटा कन्टेनर चीन प्रवेश गरेका छन् ।rasuwagadhi Naka.jpg

चीनको केरुङबाट स्याउ र लसुन बोकेका ८० वटा कन्टेनर नेपाल भित्रिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका गुल्मपति प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताएका छन् । ल्होसारको कारण फागुन १ देखि २१ गतेसम्म नाकामा कारोबार ठप्प भएको थियो । चीनतर्फ ल्होसारको समयमा चिनियाँ ट्रान्सपोर्ट बन्द भएपछि कारोबारमा कमी आएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । ‘ल्होसारको कारण चीनबाट नेपालमा आयात हुने रेडिमेड गार्मेन्ट र इलेक्ट्रोनिक सामग्री आयात २१ दिनसम्म रोकिएको थियो,’ प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले भने, ‘मंगलबारदेखि सामग्री आयात पुनः शुरु भएको छ ।’

लामो समयसम्म नाकामा कारोबार नहुँदा लक्ष्य अनुसारको राजस्व संकलन गर्न कठिन हुने उनले बताए । ‘२१ दिनमा १७ करोड राजस्व उठेको छ,’ प्रमुख भन्सार अधिकृत कोइरलाले भने, ‘लक्ष्य अनुसार राजस्व उठ्ने सम्भावना बढेको छ ।’ फागुनमा २९ करोड राजश्व उठाउने लक्ष्य राखिएको छ । कारोबार ठप्प भए पनि दुवैतिरका भन्सार भने नियमित सञ्चालन भएका थिए ।

चीनको केरुङस्थित पाङसिङमा चार सयभन्दा बढी कन्टेनर रोकिएका नेपाली व्यापारी पुरुषोत्तम पौडेलले बताए । चीनबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका उपकरण, फलफूल र टेलिकमका सामग्री आयात हुने गरेको छ । त्यसैगरी, नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायत सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । कार्यालयले साउनदेखि पुस मसान्तसम्ममा एक अर्ब ६० करोड ९५ लाख राजस्व संकलन गरेको जनाएको छ । २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् । चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्न २४ किलोमिटर दूरी पार गर्नु पर्ने खबर नागरिकले लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७