बिना अनुमति आफ्नो ३० वर्ष पुरानो ‘सिमसिमे पानीमा’ गीत नगाउन रेखा शाहको चेतावनी


८ पुष २०७८, बिहीबार
rekha sha singer

काठमाडौं । गायिका रेखा शाहले आफ्नो गीत बिना अनुमति नगाउन चेतावनी दिएकी छिन् । उनको पुरानो गीत ‘सिमसिमे पानीमा’ अनुमति बिनै विभिन्न स्टेजमा दुरुपयोग भएको रेखाले बताएकी छिन् ।

आफ्नै शब्द/संगीत रहेको यो गीत रेखालाई चिनाउने गीत हो । पछिल्लो समय भएका विभिन्न ‘रियालिटी शो’ मा आफ्नो गीत बिना अनुमति गाइएको भन्दै रेखाले मन दुखाएकी छिन् । रियालिटी शो को स्टेजमा गाउँदासम्म कम्तिमा अनुमति मागेको भए हुन्थ्यो भन्ने रेखालाई लागेको थियो ।

तर पछिल्लो समय रियालिटी ‘शो’ बाट उदाएका कलाकारले स्टेज कार्यक्रममा गाउन थालेपछि भने रेखाले नगाउन आग्रह गरेकी छिन् । उनले आफ्नो आग्रहलाई वेवास्ता गरे प्रतिलिपी अधिकार अनुसारको कानून र अनुमतिबिना कसैको सम्पत्तिको भोगचलन बापतको ठगी मुद्दा अनुसारको कानूनी कारबाही गर्ने चेतावनी दिएकी छिन् ।

रेखाले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो गीत बिना अनुमति प्रयोग नगर्न भनेकी छिन् । उनले लेखेकी छिन, ‘मेरो रचना/सङ्गीत (शब्द/लय) रहेको गीत ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ रेडियो नेपालमा गाएर स्वणर् पदक पाएको ३० वर्ष पुगिसकेको छ । आज मेरो पहिचान नै त्यही गीत बनेको छ । मसँग प्रतिलिपी अधिकार सुरक्षित रहेको मेरो गीत मेरो अनुमति बिना विभिन्न रियालिटी शोहरू गाइएका छन् । प्रतिभा पहिचान गर्ने हो भनेर मैले कुनै आयोजकलाई कुनै प्रतिक्रिया दिइनँ ।’

उनी अगाडि लेख्छिन, ‘अहिले आएर त्यही प्रतियोगिताहरूमा विजेता बनेका भाइ बहिनीहरूले व्यवसायिक प्रयोजनका निम्ति गाइने स्टेज शोहरूमा गाउँदै पैसा कमाइरहेको देखिरहेकी छु । अझै मेरो अनुमतिबिना म्युजिक ट्रयाक बनाई गाएकोले एउटा स्रष्टा र सर्जकमाथि अन्याय र हेपाहा प्रवृत्ति देखा परेको मलाई महसुस भएको छ । आगामी दिनमा त्यसरी व्यवसायिक प्रयोजनका निम्ति मेरो गीत प्रयोग नगरिदिनु हुन अनुरोध छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७