सुकुम्बासी बस्तीमा पुष्पलालका प्रिय ‘कमरेड स्याङ्बो’


१७ पुष २०७८, शनिबार
harsha syangbo

‘भक्तपुर जडिबुटी पुल अगाडिको पेट्रोल पम्प’
पुराना कम्युनिष्ट नेता हर्ष स्याङ्बोले भेट्नका लागि दिएको ‘लोकेसन’ हो यो, २०७३ असार २७ गते सोमबार । राजधानीको चर्को सडक जाम । उखरमाउलो गर्मी । गएका बर्षहरु काठमाडौंमा उतिधेरै उधुम गर्मी भएको सम्झना छैन मलाई । काठमाडौंको यहि सकस पार गरेर दिउँसो ३ बजेतिर क. स्याङ्बोले दिएको ‘लोकेसन’ मा पुगें । फोन गरें । फेरि नयाँ ‘लोकेसन’ आयो, ‘त्यहाँबाट सिधै मनहरा खोलाको नयाँ सुकुम्बासी बस्तीतिर आउनुहोला ।’

‘नयाँ सुकम्बासी बस्तीतिर किन ?’ मेरो दिमागमा प्रश्न उठ्यो । म पनि त उही समाज र समयको मान्छे न हुँ, सोचेको थिएँ, ‘क. स्याङ्बो पनि अरु कम्युनिष्ट पार्टीका नेताहरुको जस्तै त्यतै कतै आफ्नै भव्य घर होला !’ तर, यसपालि मेरो अनुमानले पहिलोपटक नराम्ररी फेल खायो । क. स्याङ्बो आफ्नै घरमा होइन घरीघरी राज्यले छाड्न उर्दी जारी गरेर आतंकित पारिरहने असुरक्षित सुकम्बासी बस्तीको सानो झुपडीमा बसेका रहेछन् ।

भक्तपुर जडिबुटी पुल अगाडिको पेट्रोल पम्पदेखि करिब ३ सय मिटर भित्र । पुलको ढोकैमा फोहोरको भिमकाय थुप्रोले स्वागत गर्छ । अहो ! कति चर्को गन्ध । त्यही फोहोरमा प्लाष्टिक र नदीले बगाएर ल्याएका कपडाहरु छानिरहेका थिए, सुकुम्बासी बस्तीका कलिला नानीहरु । त्यही नानीहरुलाई सोधे, ‘हर्ष स्याङ्बोको घर चिन्छौं ?’ अलि ऊ पर….घरै देखाई दिए । दिउँसो भएर होला सुकुम्बासी बस्तीमा उतिधेरै चहलपहल थिएन । उदास उदास जस्तै थियो । मनहरा खोलामा बाढी आइरहेको थियो । तर, चर्को गन्ध भने उस्तै । हिलो र गन्धसँगै पुगें, क. स्याङ्बोको ‘घर’ ।

एकतले सानो छाप्रो । साँघुरा चार वटा कोठा । कतै टिन, कतै प्लाष्टिक र त्रिपालले छाइएको । टिन तातिएर चर्को गर्मी । गन्ध पनि आइरहेकै थियो । हो ! त्यही सकसपूर्ण साँघुरो कोठाभित्र बस्दारहेछन्, ‘९२ बर्षका पुराना कम्युनिष्ट नेता क. हर्ष स्याङ्बो । कोठामा कम्युनिष्ट पार्टीका दस्ताबेज र कम्युनिष्ट पार्टीसँग जोडिएका पुस्तक थुप्रै थियो । ‘यिनै पुस्तकहरु पढ्छु । लेख्छु यसरी बित्दैछ दिनहरु’ उनले कुराकानी शुरु गरे ।

रेल स्टेसनमा पुष्पलालसँग पहिलो भेट
स्याङ्बोको थाँतथलो सिन्धुपाल्चोकको गोथाङ हो । यहिंबाट उनको वुवा–आमा दार्जिर्लिङ बसाई सरेर गएका थिए । दार्जिर्लिङको चिया बगानमा काम गर्थे उनका बुवा । १९८४ मा जन्मिएका स्याङ्बोको बाल्यकाल सुखद नै थियो । बाल्यकालमा अभाव भोग्नु परेन उनले । उतिबेला नेपालमा औपचारिक शिक्षामा प्रतिबन्ध थियो । तर, दार्जिर्लिङमा शिक्षाको उज्यालो फैलिसकेको थियो । स्याङ्बो पनि त्यही उज्यालोमा रमाउन पाए । उनका वुवा सचेत थिए ‘सन्तानहरुलाई राम्रो शिक्षा दिनुपर्छ ।’ प्रारम्भिक शिक्षापछि उच्च शिक्षाको लागि दार्जिर्लिङबाट पढ्न गोरखपुर पठाए ।

एकतले सानो छाप्रो । साँघुरा चार वटा कोठा । कतै टिन, कतै प्लाष्टिक र त्रिपालले छाइएको । टिन तातिएर चर्को गर्मी । गन्ध पनि आइरहेकै थियो । हो ! त्यही सकसपूर्ण साँघुरो कोठाभित्र बस्दारहेछन्, ‘९२ बर्षका पुराना कम्युनिष्ट नेता क. हर्ष स्याङ्बो ।

दार्जिलिङे विद्यार्थीहरुको समूह । पढाईमा सबै अब्बल । २००५ सालतिर गोरखपुरको औपचारिक अध्ययनको समय उनको जीवनको स्वर्ण समय थियो । भन्छन्, ‘हामी खुल्ला आकाशमा रमाइरहेका चरा जस्तै थियौंै ।’ त्यही विद्यार्थीहरुको समूह एक दिन गोरखपुरबाट बनारस घुम्न निस्क्यो । उनीहरु घुम्दै गर्दा रेल स्टेसनमा देखिए एक जना आकर्षक नेपाली युवा । नेपाली देखेपछि उनीहरुले बोलाए । त्यही आकर्षक युवा थिए पुष्पलाल । ‘नेपाली अनुहार देख्ने बित्तिकै हामीले बोलायौं, कुराकानी हँुदं जाँदा उहाँ नेता हुनुहुँदोरहेछ । हाम्रो पुरा ठेगाना लिनुभयो । पछि सम्पर्क गर्ने भनेर हामी त्यो दिन छुट्टियौं ।’

फेरि उनको पुष्पलालसँग भेट भयो । तर, त्यतिबेला कम्युनिष्ट पार्टी स्थापना भइसकेको थिएन । शुरुमा उनलाई पुष्पलालले राष्ट्रिय कांग्रेसको सदस्य बनाए । उनीहरुको समूह फेरि गोरखपुर फर्केर अध्ययनमा नै लाग्यो । फेरि २००६ सालमा डायरीको ठेगानाको आधारमा स्याङ्बोलाई खोज्दै पुष्पलाल गोरखपुर पुगें । ‘२००६ सालतिर गोरखपुर आउनु भयो । उहाँले कम्युनिष्ट मेनिफेस्टो नेपालीमा अनुवाद गर्नु भएको रहेछ । कम्युनिष्ट मेनिफेस्टो र कम्युनिष्ट पार्टीका अन्य दस्ताबेजहरु हामीले पढ्यौं ।’ कम्युनिष्ट विचार र पुष्पलालको भनाईबाट उनी उत्प्रेरित भए र कम्युनिष्ट बनेर राजनीतिमा लाग्ने निधो गरे । ‘त्यसपछि पार्टीको सदस्य भएर गोरखपुरमा केही विद्यार्थी र युवकहरुको सेल खोलेर पार्टीको तर्फबाट काम गर्न लाग्यौं’ उनले सुनाए ।

आर्दश र प्रिय नेता पुष्पलाल

गोरखपुरमा उच्च शिक्षा लिइरहेका दार्जिलिङे तन्नेरी पुष्पलालसँगको भेटपछि एकाएक कम्युनिष्ट आन्दोलनमा जुटे । गोरखपुर–दार्जिर्लिङ गर्दै रमाइलो जीवन बिताइरहेका त्यो अल्लारे ठिटो कठिन यात्रामा होमिए । यसपछि २००८ सम्म पुष्पलालसँग असाध्यै नजिक भएर उनले काम गरे । पुष्पलालले बोलाउने नाम उनको ‘कमरेड स्याङ्बो’ थियो ।

भारतमा छँदा भारतीय कम्युनिष्ट पार्टीका धेरै नेताहरुसँग भेटाई दिने काम गरे । भन्छन्, ‘कमरेड पुष्पलाललाई पश्चिम वंगाल कम्युनिष्ट पार्टी नेता माइला बाजेलगायत धेरैसँग मैले भेट गराएँ ।’ उनकै भाषामा पुष्पलाल ‘डाइनमिक’ नेता थिए । ‘आन्दोलनतिर लाग्नुको एउटा कारण पुष्पलालको व्यक्तित्व पनि हो । उहाँ असाध्यै समर्पित नेता हुनुहुन्थ्यो । सधँै सक्रिय हुनुहुन्थ्यो । ‘रेस्ट’ गरेको कहिल्यै देखिनँ’ पुष्पलालबारे उनले सुनाए ।

नेपालमा कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने ? रेलमा होस् या गाडीको यात्रामा पुष्पलालसँग सधै यहि बहस हुन्थ्यो । ‘उहाँलाई दृढ विश्वास थियो, नेपालमा कम्युनिष्टहरुको उदय सम्भव छ’ उनले सुनाए, ‘पुष्पलाल जस्तो अनुशासित र समर्पित नेता मैले कोही पनि आजसम्म देखेको छैन ।’ त्यसो त पुष्पलालले पनि उनलाई असाध्यै माया गर्थे । उतिबेला नै उच्च शिक्षा लिइरहेका सचेत र शिक्षित विद्यार्थी कम्युनिष्ट आन्दोलनमा लागेकोमा खुशी थिए पुष्पलाल । स्याङ्बो पुष्पलालको कार्यकर्ता मात्रै भएनन्, सुख–दुःखका साथी समेत थिए । पुष्पलालको अनेक दुःखमा सहयोग गर्ने सहयात्री समेत थिए । ‘आर्थिक कारणले पुष्पलालले असाध्यै कठिन दिनहरु पनि बिताउनु भयो, हामीले सकेसम्म आर्थिक संकलन गरेर पनि उहाँलाई दियौं’ उनले सुनाए ।

२००७ सालको क्रान्तिको आधारभूमि बनाउने अभियानमा पनि उनी सक्रिय भए । बनारसमा पर्चा छाप्ने र बाँड्ने काममा सक्रिय भए । २००७ सालको क्रान्तिमा उनी भैरहवामा आएर आन्दोलनमा सक्रिय भए । पार्टी खासगरी पुष्पलालकै सल्लाहमा उनी भैरहवा आएर क्रान्तिमा सक्रिय सहभागी भए ।

२००७ सालको क्रान्तिपछि पनि पुष्पलालसँग नजिक रहेर भारतमै रहेर कम्युनिष्ट आन्दोलनको अभियान र आन्दोलनमा सक्रिय भएर लाग्दै थिए । तर, २००८ सालमा भारतमा इन्दिरा गान्धीले कम्युनिष्ट पार्टीहरुमाथि प्रतिबन्ध लगाइन् । त्यसपछि भारतमा बस्न उपयुक्त नभएपछि पुष्पलालले नै उनलाई नेपालको पश्चिम गण्डकमा पार्टी निर्माणको अभियानमा खटाए ।

पश्चिम गण्डकको सुन्दर आठ बर्ष
थाकखोलाबाट विद्यार्थीहरु भारतको गोरखपुर, कलकत्ता र दार्जिर्लिङ अध्ययन गर्न जान्थे । त्यहाँ पुष्पलालले सम्पर्कमा आएका विद्यार्थीमध्ये समशेर शेरचन थिए । उनैको माध्यमबाट थाक टुकचेमा पार्टीको काम सञ्चालित थियो । यहि सम्पर्कबाट उनी थाक टुकुचे पुगे ।

२००८ सालतिर यातायातको केही सुविधा थिएन । भैरहवाबाट वुटवलको कच्ची सडकमा पुरानो इण्डियन मिलिटेरीबाट लिलामीमा लिएको पुरानो थोत्रो जीपहरुलाई बस वाहनमा परिवर्तन गरी यातायातको साधन बनाइएको थियो । उनी वुटवलबाट काली नदीको तीरैतीर ७ दिन हिंडेर मुस्ताङको टुकुचे भन्ने गाउँमा पुगे । उनको मुख्य काम थियो, ‘जनताहरुलाई संगठित गरेर कम्युनिष्टबारेमा पढाउने ।’ तर, नेपालमा पनि कम्युनिष्टहरुलाई सहज थिएन ।

२००८ सालमा भारतमा इन्दिरा गान्धीले कम्युनिष्ट पार्टीहरुमाथि प्रतिबन्ध लगाइन् । त्यसपछि भारतमा बस्न उपयुक्त नभएपछि पुष्पलालले नै उनलाई नेपालको पश्चिम गण्डकमा पार्टी निर्माणको अभियानमा खटाए ।

उनले उनै समशेरको घरमा बसेर अभियान शुरु गरे । समशेर कलकत्ता र दार्जिलिङका विद्यार्थी थिए । उनले दिउँसो शिक्षकको रुपमा रर ातभरी कम्युनिष्टको रुपमा गाउँमा अभियान शुरु गरे । ‘कमरेड महेन्द्र शेरचन, भक्त तुलाचन र म जनता विद्यालयमा अध्यापन गराउँथ्यौ । बेलुकी टुकुचेको सुब्बाहरुको घरमा काम गर्ने आराङसी काराङसीको लागि रात्रि पाठशालामा पढाउँथे । सप्ताहमा २÷३ पल्ट प्रगतिशील अध्ययन मण्डल पनि सञ्चालन ग-यौं,’ उनले सुनाए, ‘प्रगतिशील मण्डलमा हामीहरु विशेष माक्र्सवाद, वर्ग संघर्ष, समाजको ऐतिहासिक वैज्ञानिक विकास र चिनियाँ जनमुक्ति संघर्षबारे युवकहरुलाई चेतनामुलक प्रशिक्षण दिन्थ्यौं ।’

त्यततिबेला कम्युनिष्टहरुको बारेमा गलत प्रचार थियो । कम्युनिष्ट भनेर होइन शिक्षक र अध्ययन मण्डलको नामबाट कम्युनिष्टको बारेमा विस्तारै बुझाउनु पथ्र्यो । ‘पुरानो ढुङ्गाको छानो भएको र प्रायः प्रत्येक घरमा लुङदर हावामा फरफराई रहेको रमाइलो गाउँ थियो ।

कमरेड समशेर शेरचन्द्र, महेन्द्र शेरचन्द र नरसिहं भक्त तुलाचनका सहयोगबाट सञ्चालित जनता विद्यालयका शिक्षक भएर एक वर्ष काम गरें’ उनले सम्झिए, ‘त्यस बेला कम्युनिष्ट बन्ने शब्दको उच्चारण गर्न पनि सामाजिक वहिष्कारको कारण हुन सक्थ्यो । कारण कम्युनिष्टहरु जातभात मान्दैनन्, छुवाछुत मान्दैनन्, बुढाबुढीलाई मार्छन्, दिदी बहिनीसँग यौन दुर्व्यवहार गर्छन् भन्ने प्रचार थियो । विभिन्न आवरणभित्र रहेर संगठन गर्नु वाहेक अन्य विकल्प थिएन । त्यसैले हामीलाई स्कुल र प्रगतिशील अध्ययन मण्डलको माध्यमबाट नै काम गर्न सजिलो थियो ।’

मुस्ताङपछि उनी त्यतिबेला भनिएका पश्चिम गण्डकको सबै ठाउँ पुगे । कास्की, बागलुङ, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङलगायतका जिल्लाहरुमा पुगेर मुस्ताङमा जस्तै शिक्षकको भेषमा प्रगतिशील अध्ययन मण्डल बनाएर जनतालाई प्रशिक्षित र संगठित गदै हिडें उनी । उनले यही क्रममा २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीको प्रथम महाधिवेशनमा गण्डकी अञ्चल प्रतिनिधिको रुपमा भाग लिए । २००९ देखि करिब २०१६ सम्म उनले कास्कीलाई केन्द्र बनाएर पार्टी काममा लागे ।

महेन्द्रको ‘कु’ पछि फेरि भारत
पश्चिम गण्डकपछि उनी काठमाडौं आए । अभियानमा लागिरहेकै बेला उसलाई पूर्व सूचना आयो, ‘नेपालमा अब ‘कु’ हुँदैछ कम्युनिष्टहरुलाई बस्न उपयुक्त हुँदैन ।’ उनको जेठान अर्थात् श्रीमती विद्या राणा (जो कम्युनिष्टकै महिला अभियानमा सक्रिय थिइन्) को दाजु नेपाली सेनाको कर्णेल थिए । जेठानले नेपालमा बस्न उपयुक्त नहुने सुझावपछि उनीहरु १०१७ सालमा भारतको सिक्किम पलायन भए ।

त्यहाँ बसेर पनि उनी पार्टीको काममा सक्रिय नै थिए । उनीहरुको सम्पर्क भइ नै रहेको थियो । फेरि उनीलाई त्यहाँबाट पनि सिक्किम जनआन्दोलनमा भाग लिएको आरोपमा देश निकाला गरियो । पुष्पलाल पनि भारतमै थिए । सिक्किमबाट देश निकाला गरिएपछि उनी फेरि नेपाल नै फर्किए । सानोतिनो व्यवसायसँगै त्रिशुली क्षेत्रमा पार्टी काममा खटिए । उनी त्रिशुलीबाट २०२२ सालमा पक्राउ परे । २ बर्षपछि उनी जेलमुक्त भए ।

कठिन दिन
भारतमा उच्च शिक्षा लिइरहेका तन्नेरी पुष्पलालसँगको भेटपछि एक्कासी कम्युनिष्ट आन्दोलनमा होमिएका थिए । २००६ सालदेखि उनी निरन्तर पार्टीको काममा पूर्णकालीन जस्तै भए । यता परिवार पनि थियो । आर्थिक अवस्था जर्जर थियो । पञ्चायती शासकको कारणले पार्टीको काम पनि गारो भइरहेको थियो । ‘आर्थिक अवस्था जर्जर भएपछि पार्टीको कामसँगै व्यवसायतिर लागें’ उनले सुनाए । यसपछि उनले धादिङ, सिन्धुपाल्चोकमा गएर निर्माण क्षेत्रमा काम गरे ।

पुष्पलाल बितेपछि टुहुरो भए
सुख–दुःख व्यवसायसँगै पार्टी अभियानमा लागि नै रहेका थिए उनी । पुष्पलालसँग सम्पर्कमा नै थिए । २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टिच्युटमा उपचार गराउँदा गराउँदै पुष्पलालको मृत्यु भयो । उनको लागि यो जीवनको सबैभन्दा नमिठो क्षण थियो । पुष्पलालको मृत्युको कुरा गरिहँदा उनी निकै भावुक भए । ‘म भन्दा उहाँ २ बर्ष मात्रै जेठो हुनुहुन्थ्यो, उहाँकै कारण कम्युनिष्ट आन्दोलनमा लागें । उहाँको मृत्युपछि म टुहुरो भएँ’, उनले लामो सास फेरेर सम्झिए, ‘पुष्पलाल आजसम्म बाँचिरहनु भएको भए सायद म पनि आज यो बस्तीमा हुन्थिनँ होला ।’

पुष्पलाल बाँचिरहेको भए नेपालको कम्युनिष्ट आन्दोलनको बाटो उज्यालो र नयाँ उचाईमा पुगिसकेको हुने उनको विश्वास रहेछ । भन्छन्, ‘पुष्पलालले असाध्यै अभावपूर्ण र कष्टमय दिनहरु बिताउनु भयो । तिनै कारणहरुले पनि उहाँ बेलैमा बित्नु भयो । त्यति महान् नेताले जीवनकालमा उचित सम्मान पाउनु भएन ।’

पुष्पलालको निधनपछि उनी पार्टीको परिभाषित जिम्मेवारीमा रहेर राजनीतिमा सक्रिय रहेनन् । २०४६को जनआन्दोलनमा भने तत्कालीन साहना प्रधानसँग नजिक रहेर सक्रिय सहभागिता जनाए । उनी थापाथली क्षेत्रको कमाण्डर थिए । एमाले विभाजनपछि सबै उनका नजिकका धेरै नेताहरु मालेमा लागे । २०५६ सालको आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट उम्मेदवार बनेर पराजित भए । त्यसयता उनी सक्रिय राजनीतिमा छैनन् ।

प्रिय विद्या कामरेडको अवसान
उनी सुत्ने साँघुरो कोठा । मुस्किलले एउटा खाँट अटेको थियो । उनको शिरानीनिर एउटा महिलाको ठुलो शालिक देखे. । सोधें, ‘कसको मूर्ति हो ?’ ‘विद्या कमरेडको हो’ उनले सुनाए, ‘मेरो श्रीमती विद्या राणाको शालिक हो, उहाँ पनि पार्टीमा नै हुनुहुन्थ्यो २०६१ सालमा बित्नुभयो ।’ श्रीमती विद्या राणा पनि महिला संगठनको नेतृत्वदायी भूमिकामा नै थिइन् ।

साँघुरो कोठाको त्यो ठूलो शालिकलाई कुनै उयपुक्त स्थानमा प्रतिस्थापन गर्ने उनको चाहना रहेछ । उनले सुनाए, ‘उहाँले पनि जीवनभर कम्युनिष्ट आन्दोलनमा नै बिताउनु भयो । उहाँको यो प्रतिमालाई कतै प्रतिस्थापन गर्न पाए हुन्थ्यो भन्नेछ ।’

शहरदेखि सुकुम्बासी बस्तीमा
२०२८ सालमा जेलबाट निस्किएपछि निर्माण क्षेत्रमा काम गरेर उनले काठमाडौंको नयाँ वानेश्वरमा घर जोडेका थिए । तर, दुई छोरीहरुलाई पढाउने क्रममा समस्या भएर घर बेचे । श्रीमती विद्याको निधन अघिसम्म शहरमै डेरामा बसेर जसोतसो परिवार चलाएका थिए । श्रीमतीको निधनपछि एमालेको नेताहरुकै सल्लाहमा ‘पुष्पलाल स्मृति प्रतिष्ठान’ को भवनमा २ बर्षसम्म बसे उनी ।

भक्तपुरको मनहरा नदी किनारमा उनको जिल्ला सिन्धुपाल्चोकका थुप्रै सुकुम्बासीहरु बसिरहेका थिए । त्यहाँ घरीघरी प्रहरीले बस्ती उठाउन सुकुम्बासीहरुलाई आतंकित पारीरहन्थे । त्यही बेला उनलाई गाउँलेहरुले ‘आउनुहोस् बाजे यतै बसौं’ भनेर प्रस्ताव राखे । उनले सुनाएँ, ‘उनीहरुलाई अभिभावक पनि चाहिएको थियो, मलाई नि साथ चाहिएको थियो अनि यतै आएर बसें ।’ उनको साथमा एक जना छोरी छिन् । ‘मैले एडप्ट गरेको छोरी छिन् उनकै सहयोगमा बसिरहेको छु’ सुनाए ।

त्यसो त उनका दुई वटै छोरीहरु सम्पन्न नै छन् । ठूली अमेरिकामा इन्जिनियर र कान्छी नेपालमै महत्पपूर्ण पदमा रहेर काम गरिरहेकी छिन् । छोरीहरुले सँगै बसौं नभनेका पनि होइन । तर, उनले झन्झट माने । उनले भने, ‘छोरीहरुको आफ्नो परिवार छ । आफ्नै काममा व्यस्त छन् । बुढेसकालमा जहाँ भए पनि भइहाल्छ भनेर यतै बसें ।’ दुई छोरीहरुले बेला बेलामा उनलाई खर्च दिन्छन् । छोरीहरुकै सहयोगमा उनको दैनिकी चलिरहेको छ ।

क्रान्तिले बाटो भुल्दैन
क. स्याङ्बोहरुले बनाएको कम्युनिष्ट पार्टी आज नेपालको राजनीतिको केन्द्र भागमा मात्रै होइन सत्ताको केन्द्र भागमा छ । उनले मान्दै आएको पार्टी नेकपा (एमाले) सरकारमा छ (त्यो दिनसम्म) । उनले कम्युनिष्ट बनाएका सैयौं कार्यकर्ताहरु आज ठूला निकायमा छन् । संसद र मन्त्री छन् । तर, कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका प्रिय ‘कमरेड स्याङबो’ सुकुम्बासी बस्तीमा सकसपूर्ण जीवन बाँचिरहेका छन् । सोधें, ‘९२ बर्षको उमेरमा यस्तो ठाउँमा बस्न अप्ठ्यारो होला है ?’ ‘किन अप्ठ्यारो हुनु’ कमरेड स्याङबाले कामरेडी शैलीमा भने, ‘म जुन वर्गको संसार बनाउन हिंडे आज त्यही वर्गसँग बसिरहेको छु । म खुशी छु । कुनै गुनासो छैन ।’ उनले निकै पटक दोहो¥याएर भने, ‘मैले सजिलो र सहज बाटो छोडेर जुन वर्गका लागि लड्न हिंडे जीवनको उत्तराद्र्धमा यही वर्गका मान्छेहरुसँग बस्न पाउँदा खुशी छु ।’

कम्युनिष्ट आन्दोलनको बाटो सुनाए । सपनाको कुरा सुनाए । हिजो कम्युनिष्ट आन्दोलन शुरु गर्दाका उनीहरुका सपना र योजनाका कुरा पनि सुनाएँ । मैले सोधे ‘कम्युनिष्ट आन्दोलनले बाटो भुल्यो भन्छन् नि ?’ ‘बाटो नेताहरुले भुलेका हुन्, पार्टीहरुले भुलेका होलान्’ उनले बढो आत्मविश्वासका साथ सुनाए, ‘नेताले बाटो भुल्दैमा क्रान्तिले बाटो भुल्दैन । माक्र्सवादले भने अनुसार समाज अघि बढिरहेको छ । क्रान्तिको एउटा प्रक्रिया चलिरहेको छ । नेतृत्व गर्ने पात्रहरु परिवर्तन हुँदै जान्छन् ।’ अहिले जे छ, जे चलिरहेको छ, त्यो क्रान्तिकै एउटा प्रक्रिया भएको उनको बुझाई छ । भन्छन्, ‘समय आएपछि समाजवादलाई कसैले रोक्न सक्दैन ।’

म मोबाइलको उज्यालो बालेर बाटो लाग्दै गर्दा मनमा एउटा प्रश्न उठ्यो, ‘उज्यालो विचार बोकेर हिंडेका मान्छेहरु सधैं अँध्यारोमा किन हराउन बाध्य हुन्छन् ?’ यो प्रश्न फेरि कुनै दिन त्यही सुकुम्बासी बस्तीमा गएर कमरेड स्याङ्बोलाई सोध्नु छ ।

पाण्डुलिपी छ, पैसा छैन
अन्तरवार्ता टुग्यांउन लाग्दा एक्कासी पानी प-यो । टिनको आवाजले एकअर्काको कुरा सुन्न मुस्किल परिरहेको थियो । बाहिरबाट छड्के पानी भित्र छिरिरहेको थियो । पानी रोकिएपछि फेरि निकैबेर अनौपचारिक संवाद भयो । विस्तारै पानी कम हुँदै थियो । मैले दैनिकी सोधें । अहिले उनको दैनिक लेखपढमा बित्छ । एउटा कविता संग्रह र उपन्यास उनको यसअघि नै प्रकाशित भइसकेको छ । तामाङ समुदायको इतिहास लामो अनुसन्धानपछि तयार पारेका छन् । ‘निकै लामो अध्ययनपछि लेखिसकेको हुँ । पुस्तक तयार भएको छ, छाप्ने पैसा छैन के गर्ने ?’ उनले सोधे । यो पुस्तक छाप्ने तीव्र चाहना रहेछ उनको । तर, आर्थिक समस्याले रोकिएको छ ।

मैले उनलाई हिंड्ने बेला सोधे तपाईका बाँकी सपना के छन् ? ‘कम्युनिष्ट आन्दोलनले देखेको सपना नै मेरो सपना हो’ उनले सुनाए, ‘यस बाहेक म बसेको सुकुम्बासी बस्तीमा ८ सय गरीब सुकुम्बासी छन् । उनीहरुलाई यो माटोको मालिक बनाउने मेरो सपना छ ।’ उनकै जीवनकालमा मनहरा नदी किनारमा बसेका सबै सुकुम्बासीहरुलाई त्यो जमिनको मालिक बनेको हेर्ने उनको सपना पुरा होला या नहोला ?

तर, उनले हिंडेको बाटो र उनले देखाएका उज्यालो चाहिँ सलामयोग्य छ । अनुकरणीय छ । उनको उज्यालो सपनालाई मनमनै सलाम ठोकेर हिंड्दा सुकुम्बासी बस्ती भने अँध्यारो भइसकेको थियो । कमरेड स्याङ्बोलाई त्यतै कतै अँध्यारोमा हराए । म मोबाइलको उज्यालो बालेर बाटो लाग्दै गर्दा मनमा एउटा प्रश्न उठ्यो, ‘उज्यालो विचार बोकेर हिंडेका मान्छेहरु सधैं अँध्यारोमा किन हराउन बाध्य हुन्छन् ?’ यो प्रश्न फेरि कुनै दिन त्यही सुकुम्बासी बस्तीमा गएर कमरेड स्याङ्बोलाई सोध्नु छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७