संकटा र सातदोबाटोले बराबरी अंक बाँडे


२३ पुष २०७८, शुक्रबार
sankata team pic a division K8oAmNPsOF

काठमाडौं । संकटाले शुक्रबार सहिद स्मारक एक डिभिजन लिगमा नव प्रवेशी सातदोबाटो युथसँग १-१ को बराबरी खेलेको छ । यससँगै संकटाले शीर्ष स्थानका मनाङ मर्स्याङ्दी र मछिन्द्रसँग अंक दूरी घटाउने मौका गुमाएको छ । बराबरीपछि संकटा १४ अंकका साथ तेस्रो स्थानमा यथावत छ । आज जितेको भए संकटाले दोस्रो स्थानको मनाङसँग अंक बराबर गर्ने थियो । तर, बराबरीपछि त्यो मौका गुमायो । मछिन्द्र १७ अंकका साथ शीर्ष स्थानमा छ ।

मनाङले शनिबार पोखरा रंगशालामा च्यासल युथविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने मछिन्द्रले पुछारको फ्रेन्ड्सविरुद्ध खेल्नेछ । बराबरीपछि सातदोबाटो भने ९ अंकका साथ आठौँ स्थानमा यथावत छ ।

टेम्पी च्यासल युथ क्लबविरुद्धको खेलपछि घाइते भएका थिए । उनी अब तीन महिना मैदान बाहिर रहने संकटाका साहायक प्रशिक्षक राजकुमार केसीले बताए । शुक्रबार संकटाका सबै खेलाडीले टेम्पीको तीन नम्बर जर्सी लगाएका थिए । मैदानमा रहेका खेलाडी पनि भित्र टेम्प्को तीन नम्बर जर्सी लगाएका थिए ।

सातदोबाटोले विपक्षी गोलकिपर राजाबाबु थापाले गरेको गल्तिको फाइदा उठाउँदै २३औँ मिनेटमा अग्रता लिएको थियो । संकटाका रक्षक निरज बस्नेतले दिएको ब्याक पासलाई गोलकिपर राजाबाबुले राम्रोसँग क्लियर गर्न सकेनन् । राजाबाबुले सातदोबाटो युथका दीपकराज सिंह ठकुरीलाई कटाएर क्लियर गर्न लाग्दा चिप्लिएर लडे । त्यसपछि प्रहार गरेको बल सातदोबाटोकै फरवार्ड सुशिल राईको छातीमा लागेर खाली पोस्टमा छिर्‍यो ।

३०औँ मिनेटमा सातदोबाटोका सुदीप गुरुङ आभागी बने । दीपकराजले दिएको ब्याक पासमा सुदीपले २३ यार्डबाट हानेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । त्यसको दुई मिनेट बित्न नपाउँदै संकटाका जय गुरुङले बराबरी गोल फर्काए । ३२औँ मिनेटमा दीपेश आलेमगरको पासमा जय गुरुङले २५ यार्डबाट दोस्रो बार च्यापेर हानेको लामो प्रहारलाई सातदोबाटोका गोलकिपर अबिशेक बरालले रोक्न सकेनन् । दोस्रो हाफमा सातदोबाटोले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७