ओली निवास अघिबाट राष्ट्रिय युवा संघले शुरु गर्‍यो साताव्यापी रक्तदान अभियान


१३ माघ २०७८, बिहीबार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास अगाडिबाट राष्ट्रिय युवा संघ नेपालले सप्ताहव्यापी खुला रक्तदान अभियान शुरू गरेको छ ।

युवा संघले पार्टी अध्यक्ष ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बुधबारदेखि यो अभियान शुरु गरेको हो । उपत्यकामा बढ्दो रगत अभावलाई कम गर्ने उद्देश्यले बालकोटस्थित ओली निवास अगाडिबाट रक्तदान अभियान शुरु गरिएको युवा संघले जनाएको छ । रक्तदान कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै ओलीले राम्रा कामका लागि सधैँ अगाडि बढ्न आग्रह गरे ।

oli vPAP9it1VD

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले युवा रगत मात्रै नभई आवश्यक परे देशका लागि बलिदान गर्न तयार भएको बताए । ‘सधैँ सकारात्मक कामका लागि युवा सङ्घ अगाडि बढ्छ,’ उनले भने ।

एमालेका पोलिटब्युरो सदस्य एवं सङ्घीय सांसद गोकुल बाँस्कोटाले पनि सहभागीलाई हौसला प्रदान गर्दै अभियानको सफलताको कामना गरे । त्यस अवसरमा अध्यक्ष ओलीलाई नेता बस्नेतले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मायाको चिनो प्रदान गरेका थिए भने बस्नेत र नेता बाँस्कोटाले रक्तदातालाई सङ्घले प्रकाशन गरेको पुस्तक ‘तस्विरमा ओली सरकार’ उपहार प्रदान गरेका थिए ।

सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले बालकोटबाट शुरु भएको रक्तदान कार्यक्रम उपत्यकाका तीन जिल्लाका १५ ठाउँमा सञ्चालन गरिने जानकारी दिए । भक्तपुरको बालकोट र दरबारस्क्वायर ललितपुरको जावलाखेल तथा पुल्चोक, काठमाडौँको बानेश्वर, नयाँ बसपार्क, कोटेश्वर, कलङ्की, माइतीघर मण्डला, न्युरोडलगायतका ठाउँमा रक्तदान अभियान सञ्चालन गरिने युवा संघले जनाएको छ । अभियानमा पहिलो दिन ५५ जना रक्तदाताले रक्तदान गरेको राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७