गत वर्षको हिउँदमा भन्दा ४२.३ मिलिमिटर बढी वर्षा


२२ माघ २०७८, शनिबार
Rain

काठमाडौं । गत वर्ष हिउँदमा भन्दा यसपालि ४२.३ मिलिमिटर बढी वर्षा भएको छ । गत वर्ष १५.४ मिलिमिटर वर्ष भएकोमा यो हिउँद सकिन अझै दुई साता बाँकी छँदा ५७.७ मिलिमिटर वर्षा भइसकेको छ ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार हिउँदमा ६०.९ मिलिमिटरसम्म वर्षा हुनुलाई औसत मानिन्छ । ‘पोहोर हिउँदमा खडेरी थियो, यस वर्ष राम्रो पानी परेको छ, हिमपात पनि भएको छ,’ कँडेलले भनिन्, ‘यसले कृषि उत्पादनमा सहयोग गर्छ, पानीका स्रोत पुनर्भरणमा पनि मद्दत गर्छ ।’

पछिल्ला १६ वर्षमा सबैभन्दा सुक्खा हिउँद ०६५ मा थियो । सो हिउँदमा ११.८ मिलिमिटर मात्रै पानी परेको थियो । त्यस्तै, ०७४ मा १४.४ मिलिमिटर र ०६४ मा १५.३ मिलिमिटर वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठले यस पटकको झरी नियमित नै रहेको बताए । ‘हिउँदमा हरेक वर्ष एकनास हुँदैन, कुनै वर्ष पानी पर्ने त कुनै वर्ष सुक्खा हुन्छ,’ उनले भने, ‘पोहोर सुक्खा थियो, यो वर्ष राम्रो पानी परेको छ ।’

नेपालमा १५ मंसिरदेखि १६ फागुनसम्मको अवधिलाई हिउँदेयाम भनिन्छ । हिउँदमा वार्षिक वर्षाको करिब तीन प्रतिशत पानी पर्छ । देशभरिका २० वटा प्रतिनिधि मौसम मापन केन्द्रको तथ्यांकअनुसार पछिल्लो तीन दशकका हिउँदमा देशभरिमा सरदर ६०.९ मिलिमिटर वर्षा कायम गरिएको हो ।

हिउँदको उत्तरार्धमा देशभर वर्षा र हिमपात
बुधबारदेखि नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीले शुक्रबार देशभर वर्षा भयो । पश्चिमी क्षेत्रमा खोलामा बाढी नै आउने गरी वर्षा भएको छ । काठमाडौं उपत्यकासहित देशका सबैजसो हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । तराईमा असिनापानी र चट्याङ परेको छ ।

बिहीबार रातिबाट देशभर फैलिएको पश्चिमी वायुले शुक्रबार सबैभन्दा धेरै बाँकेको नेपालगन्जमा ६४.८ मिलिमिटर वर्षा गराएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४१.९ मिलिमिटर वर्षा भएको छ । सुदूरपश्चिम र कणर्ालीसँगै लुम्बिनीका पश्चिमी भूभागमा धेरै वर्षा भएको छ । त्यसपछि गण्डकी र बागमती प्रदेशमा बढी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घन्टामा वीरेन्द्रनगरमा ५२.२, जुम्लामा ५०.७, दिपायलमा ४८.६, भैरहवामा ३०.९, पोखरामा २९.६, सिमरामा २८.७, ओखलढुंगामा २२.६, जनकपुरमा १८.४, धनकुटामा ११.६ र विराटनगरमा ७.६ मिलिमिटर वर्षा मापन भएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार १ पुसयता मात्रै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गरेको आठौं पटक हो । हिउँदे झरी परेको भने पाँचौं पटक हो । यसपटकको पश्चिमी न्यूनचापीय प्रणालीले पाकिस्तान र दिल्लीमा पनि असर पारेको छ ।

आज पूर्वमा वर्षा, साँझदेखि मौसम सुधार
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमबाट प्रवेश गरेको न्यूनचापीय प्रणाली पूर्वतर्फ सर्दै गएको छ । शनिबार पश्चिमतर्फ वर्षा कम र पूर्वी क्षेत्रमा बढी वर्षा हुने अनुमान छ । ‘पश्चिम नेपालमा क्रमशः मौसममा सुधार हुँदै गएको छ । शनिबार दिउँसो काठमाडौंमा बदलीसँगै हल्का वर्षा हुन सक्छ । तुलनात्मक रूपमा पूर्वमा धेरै वर्षा हुन्छ,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘शनिबार साँझबाट देशभर मौसममा सुधार हुँदै जानेछ ।’

शनिबार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७