पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने संकेत, निगमले देखायो आउँदो १५ दिनको तीन अर्ब घाटा


१७ फाल्गुन २०७८, मंगलवार
petrol picturer1

काठमाडौं । नेपालमा फेरि पेट्रोलियम पदार्थको भाउ बढ्ने संकेत देखिएको छ । भारतीय आयात कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । फागुन १७ (मार्च १) गते प्राप्त नयाँ मूल्यसूचीअनुसार आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

‘रसिया र युक्रेनबीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झन्डै अमेरिकी डलर ९५ देखि १०५ प्रतिब्यारेलसम्म पुगिसकेको अवस्था छ’, नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इण्डियन आयल कर्पोरेसनबाट यसअघि फेब्रुअरी १६ (फागुन ४) मा प्राप्त मूल्यभन्दा आज मार्च १ (फागुन १७) मा प्राप्त नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल तीन रुपैयाँ ८९ पैसा, डिजेल तीन रुपैयाँ ०८ पैसा, मट्टितेल १० रुपैयाँ ३० पैसा, हवाई इन्धन तीन रुपैयाँ ३२ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर ९९ रुपैयाँ १७ पैसाले बढेर आएको हुँदा निगमलाई आगामी १५ दिनमा करिब तीन अर्ब नौ करोड घाटा हुने स्थिति देखिएको छ ।’

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकोले पुनः मूल्य बढ्ने संकेत निगमले गरेको छ । “चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म निगमले करिब २८ अर्ब नोक्सानी व्यहोरिसकेको छ । पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाई राख्न पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ बमोजिम सानो अंशले मूल्य समायोजन गर्दा अब प्रतिमहिना करिब ६ अर्बभन्दा बढी नोक्सानी हुने स्थिति रही सो बराबरको रकम ऋण लिनुपर्ने बाध्यात्मक अवस्था सिजना भएको’, आयल निगमको विज्ञप्तिमा भनिएको छ ।

निगमको सञ्चिति रकम र अरू दायित्व रकमहरू सबै पेट्रोलियम पदार्थको खरिदमा सकिएको र निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरीकरण कोष तथा इन्धन बिक्रीबाट प्राप्त रकम संकलन गरी इण्डियन आयल कर्पोरेसनलाई पेट्रोलियम पदार्थ खरिदबापतको रकम भुक्तानी गरिरहेको जनाएको छ ।

निगमले घाटा चुलिँदै जाँदा पूर्वाधार निर्माणका नयाँ कामहरू सबै स्थगित गर्ने तयारी रहेको र पेट्रोलियम पदार्थ खरिदबापत आवश्यक पर्ने रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाइराख्न आगामी दिनहरूमा निगमलाई अत्यन्त कठिन रहेको उल्लेख गरेको छ ।

निगमसँग सञ्चित रकम पनि नभएको र घाटा उच्च हुँदै जाँदा मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको निगमले जनाएको छ । आज प्राप्त नयाँ मूल्यसूचीअनुसार निगमलाई काठमाडौंको बिकी विन्दुसम्मको पेट्रोललमा प्रतिलिटर २० रुपैयाँ ५२ पैसा घाटा रहेको जनाइएको छ ।

त्यस्तै, डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ०८ पैसा, मट्टितेलमा १४ रुपैयाँ ६९ पैसा नाफा, हवाई इन्धन (आन्तरिक) मा १४ रुपैयाँ ४१ पैसा नाफा र हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा ४८ रुपैयाँ ४४ पैसा नाफा रहेको निगमले जनाएको छ ।

यस्तै, एलपी ग्यासको खरिद लागतअनुसार प्रतिसिलिन्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा हुने निगमले जनाएको छ । १५ दिनमा निगमलाई सबैभन्दा धेरै डिजेलमा एक अर्ब ३९ करोड ७१ लाख, एलपी ग्यासमा एक अर्ब २६ करोड र पेट्रोलमा ६७ करोड ५४ लाख रुपैयाँ घाटा रहेको निगमले उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७