ध्रुव राई, जसले गाउँको अवस्था बदले तर आफू बदलिएनन्


११ बैशाख २०७९, आईतवार
Dhurba RaI 1 scaled


काठमाडौं : टेम्केमैयुङ, भोजपुर सदरमुकामबाट २८ किलोमिटर पश्चिममा रहेको सुन्दर गाउँपालिका । भोजपुरको प्रसिद्ध पर्यटकीयस्थलहरु टेम्के, मैयुङ, सेल्मेडाँडा र चखेवा डाँडाको फेदीमा अवस्थित । यो गाउँपालिका तुलनात्मक रुपमा प्रदेश नम्बर एकको स्थानीय तह मध्येमा हमेसा चर्चामा रही रहने गाउँपालिका । चर्चाको कारण, यो गाउँपालिका अध्यक्ष ध्रुवराज राई । उनी २०७४ मा निर्वाचनमा उम्मेदवार बन्दादेखि यसपाली दोस्रो पटक उम्मेदवार बन्दासम्म चर्चामा छन् । नेकपा (एमाले)का उम्मेदवार राई विरुद्ध २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको महागठबन्धन थियो । यसपाली महागठबन्धनमा अर्को दल थपिएको छ, नेकपा (एकीकृत समाजवादी) । तर उनी फेरि पनि एक्लै छन् ।

अध्यक्ष जितिसकेपछि पनि उनै सधैं चर्चामा रहे । चर्चाको कारण हो, ‘उनले गरेका काम र उनका गतिबिधि ।’ गएको निर्वाचनमा ७ सय ५३ स्थानीय तह मध्ये नेकपा (एमाले)ले २९४ मा मेयर र ३३१ गाउँपालिकामा जित्दै पहिलो बनेको थियो ।

यी मध्ये ध्रुव राई यस्ता अध्यक्ष हुन्, ‘जसले अलग परिचय र पहिचान बनाए । ‘देशभरी अध्यक्ष थुप्रै भए, तर भोजपुरको ध्रुव राईले आफ्नो काम मार्फत आफ्नो गाउँपालिकालाई चिनाइरहे,’ नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राई भन्छन्, ‘भोजपुरको ९ स्थानीय तहमा राष्ट्रियस्तरमा चर्चामा हुने गाउँपालिका टेम्केमैयुङ र यसका अध्यक्ष ध्रुव राई हो ।’

गाउँको अवस्था बदले

साविकको तिम्मा, छिनामखु, अन्नपुर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क गाविस मिलाएर बनाइएको हो, टेम्केमैयुङ गाउँपालिका । २०७४ निर्वाचन अघि मट्टीतेलको टुकीमा अध्यारो चिर्नुपर्ने बाध्यता थियो, यो गाउँपालिका जनतालाई । अघिल्लो निर्वाचनमा उनको पहिलो प्रतिबद्धता थियो, ‘म अध्यारो गाउँपालिकालाई उज्यालो घोषणा गर्छु अर्थात् हरेकको घरमा बत्ती–विजुली बाल्छु । टुकीको युग समाप्त पार्छु’ उनको यो घोषणालाई धेरैले ‘नेताको चुनावी भाषण’को भन्दै पत्याएनन् । धेरैले भनेका थिए, ‘चुनावको बेला यो ‘ध्रुवे’ले ठुलो कुरा गर्दैछ । तर निर्वाचित भएपछि उनले आफ्नो गाउँपालिकालाई उज्यालो घोषणा गररै छोडे ।

गाउँपालिकाको ६ करोड ६० लाख, नेपाल विद्युत् प्राधिकरणको ६ करोड २० लाख, संघीय सरकारको ५० लाख र प्रदेश सरकारको ५० लाख लागतमा गाउँपालिका भरी विद्युत् बिस्तार भयो । गाउँपालिकाभर तीन हजार ७ सय ३८ घरमा बत्ती बल्यो । गाउँलाई उज्यालो बनाउँदाको उनको संघर्षको कथा निकै लामो छ । यसको निम्ती कैयनपटक आफ्नै ठुला नेतासँग चर्चरी झगडा गरे । कर्मचारीहरुसँग पाखुरा सुर्केे । थर्काए । तर उनी कहिल्यै थाकेनन् । भन्छन्, ‘गाउँपालिकालाई उज्यालो पार्ने मेरो सपना र प्रतिबद्धताले मलाई निदाउँन थिएन । थाक्न दिएन । अनेकौं अप्ठ्यारो र अबरोध पन्छाएर भएपनि हाम्रो प्रतिबद्धता पुर गरेँ ।’ उनी आफै बिजुलीको पोल बोकेर खटे । पोल गाड्न तम्सिए ।

तीन साता अघि भोजपुरको भिन्तुना होटलको छतमा साँझ बसेर आफ्नो पालिकातिर हेर्दा निकै दंग थिए । झिलिमिल बत्ती बलीरहेको देख्दा उनी बढो आनन्दित हुँदा रहेछन् । भन्दै थिए, ‘यहाँबाट टेम्केमैयुङमा झिलिमिली बत्ती बलिरहेको देख्दा असाध्यै आनन्द पो लाग्छ । मेरो मनै उज्यालो हुन्छ ।’ त्यसो यही बत्ती बालेर उनको पहिचान फेरिएको छ । काठमाडौं शहरमा बिजुली गएको बेला ‘कुलमान गयो’ भन्ने चलन छ । कुलमान अर्थात् उज्यालोको प्रतिक । टेम्केमैयुङमा बत्ती गयो भने ‘ध्रुवे गयो’ भनिने रहेछ ।

Sherdhan rai Rajendra rai
उज्यालो गाउँपालिका घोषणासभामा तत्कालिन मुख्यमन्त्री शेरधन राई र वर्तमान मुख्यमन्त्री राजेन्द्र राई सहित अध्यक्ष राई

भोजपुरको अधिकांस गाउँपालिकामा अझैं विजुली बलेको छैन । बल्न अझैं दसक लाग्ने देखिन्छ । तर ध्रुव राईको भोजपुरको पहिलो उज्यालो स्थानीय गाउँपालिका घोषणा गराउन सफल भए । गाउँमा विजुली आएपछि टेम्केमैयुङवासीहरुको जीवनशैलीमा आकाश–जमिनको फरक आएको छ । मट्टीतेलबाट बालिने टुकीहरु कथामा सिमित भएको छ । उनी भन्छन्, ‘गाउँमा विजुली आएपछि जीवनका धेरैपक्षमा उज्यालो आउने रहेछ ।’

त्यसो त विजुलीको कुरा मात्रै होइन उनको पालामा भौतिक पूर्वाधार र बिकासका अनेक योजना सम्पन्न भएको छ । गाउँपालिका ७५ प्रतिशत जनता फुसको छानोमुक्त भएका छन् । गाउँपालिकाभित्रका २८० किमि कच्ची सडक मर्मत भएको छ । १०९ किलोमिटर नयाँ सडक निर्माण भएको छ । २१ किमि सडक ग्राभेल सम्पन्न भएको छ । सबै वडामा स्वास्थ्य कार्यालयको भवन निर्माण भएको छ । गाँउपालिकामा १५ शैयाको अस्पताल भवन धमाधम बन्दैछ । अध्यक्ष राई भन्छन्, ‘भौतिक पूर्वाधारमा पनि हामीले धेरै ठुलो फड्को मारेका छौं ।’

अध्यक्ष राईको एउटा महत्वपूर्ण विशेषता हो, ‘अरुहरु उनी निर्देशन दिएर बस्दैंनन् ।’ सकेसम्म आफै मैदानमा भिड्छन् । त्यसको उदाहरण हो, बाँदर व्यवस्थापन । बाँदरको कारण गाउँपालिका धेरै जनता हैरान थिए । यतिसम्मकी कतिपय गाउँका जनताहरु बाँदरकै कारण गाउँ छोड्नु पर्ने अवस्थामा पनि नपुगेका होइनन् । ध्रुव राई कतिपय अवस्थामा भरुवा बन्दुक बोकेर आफै बाँदर खेदाउन जङ्गल पुगे ।

‘आइकन नेता’


भोजपुर बहुमुखी क्याम्पसमा २ पटक स्ववियू सभापति हुदैअनेरास्ववियुको केन्द्रीय राजनीतिबाट गाउँ फर्किएका अध्यक्ष राईको देशभरी अलग र गहिरो परिचय छ । अरुलाई जस्तो काठमाडौंमा पनि परिचय खोजीरहनु पर्ने भन्झट छैन उनलाई । नेता, मन्त्री, कर्मचारी सबैले ‘ध्रुवे राई’ भनेपछि चिन्छन् । यही परिचयको फाइदा उनले उठाए । उनी भन्छन्, ‘म यो ५ वर्षमा मुस्कीलले ३ पटक काठमाडौं पुगेँ । सबैले योजना र बजेटहरु फोनकै भरमा ल्याउन सफल भएँ ।’

पर्यटनको सन्दर्भमा पनि उनको गाउँपालिका भोजपुरकै एक नम्बर पर्यटकीय केन्द्र बनेको छ । नेपालका जानैपर्ने एक सय गन्तव्यमा परेको ‘मुन्दुम पदमार्ग’ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनिएको छ । ‘मुन्दुम पदमार्ग’को भौतिक संरचना निर्माणदेखि यसको प्रचार–प्रसार र प्रबद्र्धनमा उनी आफै खटे ।

Temke Dhurba Rai
बत्ती बलेपछि टेम्केमैयुङ्ग गाउँपालिका ।

आफ्नो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार तथा प्रबद्र्धनको निम्ती उनले कहिले गीत गाए, कहिले डान्स गर्न समेत भ्याए । पत्रकार एक्सन राई भन्छन्, ‘कहिले मुन्दुम पदमार्गतिर गीत गाएको त, कहिले महभीर र सावा झरनामा नाँचेको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो । प्रचार र प्रबद्र्धनको अध्यक्षजीको आफ्नै तरिका छ ।’ टेम्केमैयुङको पर्यटकीय स्थलको प्रचारप्रसार र प्रबद्र्धनमा अध्यक्ष राईको यसप्रकारको सृजनशीलताले असाध्यै ठुलो भूमिका खेलेको उनको भनाई छ ।

पर्यटन प्रबद्र्धनको पनि अनेक काइदा छ उनको । पछिल्लो पटक महभीर झरनामा नाँचिरहेको उनको दृश्य देशभरी भाइरल भयो । त्यसपछि कतिपयले उक्त झरनाको नामै नै मान्छेहरुले ‘ध्रुवे झरना’ राखीदिए । उनको भाइरल भिडियोपछि धेरै मान्छेहरु ‘ध्रुवे झरना’ खोज्दै पुगे । उनी भन्छन्, ‘नेतृत्व सृजनशील पनि हुनुपर्छ । जे गर्दा आफ्नो पालिकाको समृद्धि र विकास हुन्छ । त्यस प्रकारको सम्भावनाको खोजी गर्छु ।’

तर आफू बदलिएनन्

२०५४ सालमा उम्मेदवार बन्दा उनको हुलिया थियो, ‘धुलोमैलो मिसिएको कपडा, एक थान बाइक । सानो साइड ब्याग ।’ चर्को र खस्रो बोली । नेताहरुको साँझा विशेषता हो, ‘पदमा पुगेपछि बदलिने ।’ तर ध्रुव राईको हुलिया उस्तै छ, ‘एक थान बाइक, मैलोले चुनौती दिइरहेको एक साथ साइड ब्याक, उस्तै खस्रो बोली ।’ कतिपयले उनलाई भन्छन्, ‘खासमा ध्रुब राई नेता जस्तो नै छैन ।’ तर समाज र राजनीतिलाई गहिरोगरी बुझ्नेहरु भन्छन्, ‘खासमा नेता हुनु त ध्रुव राई जस्तो ।’

हाम्रो समाजमा नेताको बिषयमा एउटा मानक बनेको छ । एउटा बिम्ब बनेको छ । त्यो बिम्ब हो, ‘नेता सुकिलामुकिला हुन्छन् । गमलामा राखिएको सुन्दर फुल जस्तो चिटिक्क । नेता गाउँ पस्दा लावालस्कर सहित चिल्ला गाडीमा गाडीको लस्कर सहित छिर्छ । सकभर हेलीकेप्टरमा धुलो उडाएर बस्छ ।’ तर जनताहरुले यो नेता कुन पैसाले चिल्लो गाडीमा आइरहेको छ ? कुन पैसाले हेलीकेप्टर चढरहेको छ ? प्रश्न कहिल्यै गदैनन् ।

mundhum trail Visit
मुन्धुम पदमार्गमा पर्यटनहरु

हो, लावालस्कर सहित धुलो उडाउदै गाम छिर्ने मात्रैलाई नेता मान्नेहरुको अर्थमा ध्रुव राई बिलकुल नेता होइनन् । उनी गाउँकै सामान्य मान्छे जसरी भटभटे बाइकमा धुलो बोकेर गाउँघर छिर्छन् । नक्कली कुरा गदैनन् । बरु उही खस्रो बोलीमा ठाडो बोल्छन् । कतिपयलाई लाग्छ, ‘अध्यक्ष बोली चै ठिक छैन ।’ तर उनलाई नजिकबाट बुझ्नेहरु भन्छन्, ‘जे छ त्यही बोल्ने, सिधा बोल्ने र नक्कली कुरा नगर्ने उनको शैली नै सम्पति हो ।’

सबै जसो गाउँपालिकाका प्रमुख र उपप्रमुखले गाडी खरिद गरे । उनले पनि चाहेको भए चिल्लो गाडी खरिद गर्न सक्ने थिए । तर उनी भन्छन्, ‘गाडी खरिद गरेपछि, चालक राख्नुपर्छ । तेल हाल्नुपर्छ । मर्मत गर्नुपर्छ । गाडीको निम्ती लाग्ने लाखौं खर्च पालिकाको विकासमा लगाउनु उपयुक्त हुन्छ भनेर खरिद नगर्ने निर्णय गरेको हुँ ।’

अबको सपना जनताको अवस्था बदल्ने

Dhurba Rai


ध्रुव राई फेरि दोस्रो पटक फेरि अध्यक्षको लागि मैदानमा छन् । ‘फेरि दोस्रो पटक किन त ?’ ‘पहिलो ५ वर्षका धेरै अपुरा कामहरु छन्,’ उनको उत्तर छ, ‘भौतिक पूर्वाधारका कामहरु धेरै अपुरा छन् । पहिलो, तिनिहरुलाई पुरा गर्नुछ । दोस्रो, यो पहिलो कार्यकाल भौतिक पूर्वाधारसँग सम्बन्धित काममा अधिकांस समय बित्यो । अब दोस्रो कार्याकालमा जनताको जीवन परिर्वतन हुने गरी रुपान्तरण र समृद्धिको काम गर्छु । गाउँको अवस्था बदलेको छु, अब जनताको अवस्था बदल्छु ।’

दोस्रो, जनताको अवस्था बदल्नका लागि लामो कार्यसूची छ, अध्यक्ष राईसँग । तुलनात्मक रुपमा उनको गाउँपालिका भोजपुरको सबैभन्दा उर्बर पालिका हो । राजनीतिदेखि, कर्मचारी, प्रहरी र देशका उच्च निकायमा उत्साहजनक उपस्थीति छ, उनको गाउँपालिकाबाट । कृर्षि, पर्यटन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गर्ने नयाँ कामहरुको लामो फेहरिस्त बोकेर उनी चुनावी मैदानमा छन् । भन्छन्, ‘म गर्न सक्ने मात्रै बोल्छु । मैले धेरै कुरा भनेको छैन । तर आगमी ५ वर्षमा मेरो गाउँपालिकालाई देशकै उत्कृष्ट गाउँपालिका बनाउँछु ।’

उनको यसपालीको संकल्प र सपना पनि गजबको रहेछ । भन्छन्, ‘अब ५ वर्षमा यस्तो गाउँपालिका बन्नेछ, की देशभरका मान्छेहरु हाम्रो सफलताको शुत्र बुझ्न यहाँ आउनेछन् ।’ पर्यटनमा प्रदेश नम्बर एककै एक नम्बर गन्तव्य बनाउने योजना रहेछ उनीसँग । कृर्षिको आधुनिकरणका लागि योजना बुनेका रहेछन् । शिक्षाको हिसाबले हरेक घरमा कम्तीमा एकजना उत्कृष्ट जनशक्ति निर्माणको योजना छ उनीसँग । भन्छन्, ‘अवस्था हेरेर हरेक घरमा कम्तीमा एकजना उत्कृष्ट जनशक्ति निर्माणको अभियान सञ्चालन गर्छु । अवस्था हेरेर कुनै घरमा निजामति क्षेत्रको अधिकृत होला, कुनैमा प्रहरीको अधिकृत होला, कुनैमा डाक्टर वा इन्जिनियर होला । त्यस हिसाबले अभियान सञ्चालन गर्छु ।’ हरेक जनताको घरमा विजुली बालेजस्तै हरेक टोलमा पक्की सडक लैजाने उनको योजना छ ।

‘जनता बदल्छु म बदलिन्नँ’

Dhurba Rai


ध्रुव राईको भोजपुरमा अनेक किस्सा छ । आलोचना र गुनासो पनि छ । त्यो मध्येको एउटा आलोचना रहेछ, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको । अधिकांस प्रमुखहरुले अनौपचारिक गफमा भन्ने गरेका रहेछन्, ‘टेम्केमैयुङको अध्यक्ष नेता जस्तो भएनन् । बैठकमा आउँदा समेत धुलोमैलो भएर आउँछन् । हाफपाइन्ट लगाएर बस्छन् । केही काम ढिलो भयो भने सिधैं जाइलाग्छन् ।’

तर ध्रुव राईलाई भने यही आलोचनाप्रति गर्व छ । भन्छन्, ‘म एउटा गरिब परिवारमा जन्मिएर जनताको सेवामा लागेको सामान्य मान्छे हुँ । यो बदलियो । सुकिलामुकिला भयो भनेर आलोचना गरिएको छ भनेको भए चै मलाई पीडा हुन्थ्यो । जनता जस्तै सामान्य छ भन्दा दुःखी किन हुनु ? खुसी पो लाग्छ ।’

नेता, समाज र राजनीतिप्रतिक उनको अलग मान्यता छ । भन्छन्, ‘नेता भएपछि जनतासँग दुरीमा बस्नुपर्छ, चिटिक्क भएर मञ्चमा मात्रै देखिनुपछ, नक्कली कुरा भएपनि मिठो बोल्नुपर्छ । यसप्रकारको मान्यताप्रति मेरो फिटिक्कै सहमति छैन । हामी जे हो त्यही देखिनुपर्छ । हामी जनताको सेवक हौं । जनता जस्तै हुनुपर्छ । जनता बदल्ने हो आफू बदलिने होइन ।’

कुनै बास्न आउने अत्तरसँग कहिल्यै भेट हुन्न उनको शरीरको । उनी जिस्किएर भन्छन्, ‘मेरो ज्यानमा पसिनाको सुगन्ध आउँदा कसैलाई नेता जस्तो नलागे नलागोस् ।’

‘जनताको अवस्था बदल्ने’ संकल्प, सपना र प्रतिबद्धता बोकेर उही ध्रुव राई फेरि दोस्रो पटक मैदानमा दौडीरहेका छन् । उनको उही कुरा छ, ‘दोस्रो कार्यकालमा म मेरो गाउँपालिकालाई यस्तो बनाउनेछु की देशभरीका मान्छेहरु यसको सफलताको कथा लेख्न आउनेछन् । टेम्केमैयुङका जनता हुँ भन्दा देशभरी गर्व गर्ने अवस्था बनाउनेछुँ ।’ गाउँलाई उज्यालो र गाउँका पर्यटकीय स्थलहरुलाई चिटिक्क बनाएर आफू चै उसैगरी ज्यानभरी धुलोमैलो बोकेर दौडिरहेका ध्रुव राईको ‘जनताको अवस्था बदल्ने’ सपना पुरा हुन्छ या हुँदैन ? त्यो आगमी ३० बैशाखको चुनावमा छिनोफानो हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७