गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा डेकिन्द्र कुमार राई


२० भाद्र २०७९, सोमबार
Dekindra Kumar Rai

काठमाडौं : युवा व्यवसायी डेकिन्द्र कुमार राई नेपाली बैंकिङ्ग उद्योगको अग्रणी फाइनान्स गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालक समिति (बोर्ड अफ डाइरेक्टर) अध्यक्षमा नियुक्त भएका छन् । आगमी तीन वर्षको लागि राईलाई फाइनान्सको अध्यक्षको जिम्मेवारी दिइएको हो ।

गत वर्ष सम्पन्न सञ्चालक समितिको ४३१ औं बैठकबाट उनी सदस्यमा नियुक्त भएका थिए । निवर्तमान अध्यक्ष गौरव बुढाथोकीले आफ्नो कार्यव्यस्तताको कारण राईलाई अध्यक्षको प्रस्ताव गर्दै जिम्मेवारी हस्तान्तरण गरेका हुन् । यसअघि उनी अघिल्लो कार्यकालमा सदस्यको जिम्मेवारीमा थिए ।

त्यसअघि राईले ज्योति विकास बचत तथा क्रृण सहकारी संस्था लिमिटेडका सुर्यबिनायक भक्तपुरको प्रबन्धकको जिम्मेवारी सम्हालेका थिए । यसैगरी कैलाश बचत तथा क्रृण सहकारी संस्था लिमिटेडका मध्यपुर थिमी भक्तपुरको सञ्चालक समितिको अध्यक्ष जिम्मेवारी सम्हालेका थिए । दुवै संस्थाका सफल जिम्मेवारी सम्हालेका राई सक्रिय समाजिक अभियान्ता समेत हुन् ।

किरात राई विद्यार्थी संघको केन्द्रीय महासचिव, आदिवासी जनजाति विद्यार्थी महासंघको केन्द्रीय उपाध्यक्ष लगायतको जिम्मेवारी सम्हालेका राई अधिवक्ता समेत हुन् । राईले उर्जाशिल, इमानदार, उत्साहित र अनुभवी युवा उद्यमीको परिचय बनाएका छन् ।


उत्कृष्ट वित्तिय संस्था बनाउँछौं : अध्यक्ष राई

अध्यक्ष राईले गोर्खाहरुको गौरवमय इतिहास र पहिचानसँग जोडिएको गोर्खाज फाइनान्स लिमिटेडलाई देशकै उत्कृष्ट वित्तिय संस्थाको रुपमा स्थापित गर्न काम गर्ने बताए । उनले भने, ‘गोर्खालीहरुको दुई सय वर्षभन्दा बढीको गौरवमय इतिहास र पहिचान छ । विरता, इमान र सहासको प्रतिकको रुपमा पहिचान बनाएको त्यही गोर्खालीहरुको वित्तिय संस्थालाई देशकै उत्कृष्ट संस्थाको रुपमा विकास गर्न सामुहिक प्रयासमा लाग्नेछौं ।’

गोर्खाज फाइनान्स लिमिटेडलाई देशको अग्रणी वित्तिय संस्थाको रुपमा स्थापित गर्न ब्रिटिस गोर्खा, सिङ्गापुर गोर्खा र भारतीय गोर्खाहरुसँग विशेष समन्वय र सहकार्यको कार्यक्रम अघि सारिने उनको भनाई छ ।

तीनै देशका गोर्खाहरु यसमा संग्लन भए देशको उत्कृष्ट बैंकको रुपमा स्थापित गर्न सकिने उनको विश्वास छ । ‘ब्रिटिस गोर्खा, सिङ्गापुर गोर्खा र भारतीय गोर्खाहरुवीच गहिरो सहकार्य र समन्वय हुन सकेमा यो देशको नम्बर वान बैंकको रुपमा स्थापित गर्न सकिन्छ । मेरो प्रयास यसमा हुनेछ ।’

हाल फाइनान्सका देशभर २६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६ वटा एटिएम छन् । यो भौगोलिक पहुँच र ९० हजार भन्दा बढी ग्राहक संख्याका ग्राहक वर्गका हिसाबले नेपालको अग्रणी फाइनान्समध्ये मध्ये एक हो ।

गोर्खाज फाइनान्स लिमिटेडले गत असारमा चारवटा नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । फाइनान्सले विशेष गोर्खाज बचत खाता खोल्दा दीर्घरोग बिमा तथा दुर्घटना बिमाको सुविधा पाउनुको साथै निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क एटिएम, निःशुल्क डिम्याटलगायतका सुविधासहितको योजना ल्याएको हो ।

त्यस्तै, फाइनान्सले एकको दुई र एकको तीन मुद्दती निक्षेप योजनासमेत सार्वजनिक गरेको छ । संस्थाले बचत गरेको निक्षेप पाँच वर्ष नौ महिनामा दोब्बर र नौ वर्षमा तेब्बर हुने योजना ल्याएको प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७