नवौं राष्ट्रिय खेलकुद : एकै दिन पार्की दाजुभाइको स्वर्णमा ‘ह्याट्रिक’


३ कार्तिक २०७९, बिहीबार
parki11 SA1MIPJ5pI

पोखरा । राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्स खेलाडी गोपीचन्द्र पार्कीले स्वर्ण जित्दा सोही दिनै भाइ शिवराज पार्कीले पनि स्वर्ण जितेका छन् । संयोगवश दुबै दाजुभाइको राष्ट्रिय खेलकुदमा यो ह्याट्रिक जित हो । गोपीले तीन राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार स्वर्ण जित्दै ह्याट्रिक पूरा गरे ।

यता शिवले भने नवौं राष्ट्रिय खेलकुदमा तीन स्वर्ण जित्दै ह्याट्रिक पूरा गरे । दुबै दाजुभाइले स्वर्ण जित्दै ह्याट्रिक पूरा गरेपछि गोपीले आजको स्वर्णले धेरै खुसी दिलाएको बताए । दौडको टाइमिङ हिसावले पनि उनी निकै खुशी छन् । नवौंमा नै गोपीले १० हजार मिटर दौडमा रजत जिते । उक्त विधामा कर्णालीका दुर्गाबहादुर बुढाले स्वर्ण जितेका थिए ।

‘राष्ट्रिय खेलकुदमा स्वर्ण जित्दा कसलाई पो खुशी नमिल्ला र ? म सारै खुशी छु । मेरो ५ हजार मिटरमा ह्याट्रिक हो । सातौं र आठौं खेलकुदमा मैले यसै विधामा स्वर्ण जितेको थिएँ,’ गोपीले सुनाए । पोखरा रंगशालामा भइरहेको ५ हजार मिटर दौडमा नेपाल एपीएफ क्लबका लागि गोपीले स्वर्ण जित्दै निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गरे ।

अहिलेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गोपीको यो पहिलो स्वर्ण हो । अघिल्लो राष्ट्रिय खेलकुदभन्दा समयको हिसावले यो उनको राम्रो सुधार हो । अघिल्लो राष्ट्रिय खेलकुदमा उनको १४ मिनेट ४३ सेकेन्ड थियो । हरेक दौडमा आफ्नो स्ट्याडिजी फरक हुने गोपी बताउँछन् । उनले त्यसै अनुसार तयारीमा लाग्दा यो खेलमा स्वर्ण जित्न सफल भएको बताए । १० हजार मिटरमा भने केही लय नमिल्दा रजत आएको उनको भनाइ छ ।

गोपीको अबको लक्ष्य भनेको ओलम्पिक हो । अन्तिम समयमा उनको ठाउँमा अर्काे खेलाडी पठाउँदा उनले टोकियो ओलम्पिकको मौका गुमाएका थिए । त्यसबेला निकै निराश रहेका उनलाई उनलाई यो पटक भने ओलम्पिक खेल्न पाउँछु भन्ने आशा छ ।

‘अबको मेरो लक्ष्य भनेको ओलम्पिक हो । यसअघि जान पाइन तर, यो पटक भने मैले अवश्य मौका पाउँछु भन्ने आशा छ,’ उनले भने । यसपाली ५ हजार मिटर दौडमा कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा दुरी पार गर्दै रजत जिते । त्यस्तै, कास्य जितेका त्रिभुवन आर्मी क्लबका मुकेश पालले १४ मिनेट र ३६.६० सेकेन्ड दुरी पार गरे ।

गोपीले गोल्डमा ह्याट्रिक गरेको दिनै उनका भाइ शिवले पनि यसै राष्ट्रिय खेलकुदमा स्वर्णको ह्याट्रिक पूरा गरे । एकै दिन दुई दाजु–भाइले ह्याट्रिक पूरा गर्दा शिव पनि निकै खुशी छन् । ‘मलाई मेरो भन्दा धेरै चिन्ता दाइको थियो । उहाँले जित्नु नै मेरो लागि खुशीको कुरा हो । दाजुभाइले एकै दिन स्वर्ण जित्दा झनै विशेष भयो,’ शिवले सुनाए ।

एपीएफबाट शिवले पुरुषको २ सय मिटर दौडमा स्वर्ण जिते । उनले निर्धारित दूरी २१.९१ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । उनले एक सय मिटर दौड तथा रिलेमा पनि स्वर्ण जितेका थिए । २ सय मिटर दौडमा एपीएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा रजत तथा आर्मीका युवराज विकले २२.५० सेकेन्डमा कास्य हात पारे ।

शिवले आफू दाइको मार्गदर्शनमा चल्ने भएकाले उनले जस्तो तरिकाले सल्लाह दिन्छन्, त्यसैअनुसार अघि बढ्ने बताए । पछिल्लो समय आफू रेकर्डका लागि पनि अघि सर्ने उनले बताए । शिव भन्छन्, ‘म दाइको मार्गदर्शनअनुसार दौडन्छु । उहाँले भनेअनुसार नै अघि बढ्दा सफलता मिलेको छ । मेरो लक्ष्य नयाँ नयाँ कीर्तिमान बनाउनु हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७