नेकपा एस प्रवेश गर्दै भुसालले भने, ‘ओलीका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा पर्‍यो’


२९ पुष २०७९, शुक्रबार
ghanashyam bhusal TX45a7of8E

काठमाडौं । वामपन्थी नेता घनश्याम भुसालले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको स्वघोषणा गरेका छन् । आज (शुक्रबार) काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा एकीकृत समाजवादी प्रवेश गरेको घोषणा गरेका हुन् ।

भुसालले नेकपा एकीकृत समाजवादी सैद्धान्तिक वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी रहेकाले आफूले यो पार्टी रोज्नुपरेको बताएका छन् । भुसाल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनी एमालेका सचिव समेत रहेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । भुसालले नेकपा एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समिति समक्ष ५ बुँदे प्रस्ताव राखेका थिए । भुसालको प्रस्तावलाई एकीकृत समाजवादीले स्वागत गरेपछि उनी पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशको घोषणा गर्दै भुसालले नेकपा विभाजनका कारण मुलुकले समृद्धि र विकास गर्ने अवसर गुमाउनु परेको बताए । ‘ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको छ । यस तर्कमा म बहस गर्न जहिल्यै तयार छु’, उनले भने, ‘यस्तो अवस्थामा म नेकपा एमालेमा रहन सकिनँ ।’

उनले एमालेले जनताको बहुदलीय जनवादको हुर्मत लिएको आरोप समेत लगाए । ‘सौराहा काण्डका नेताहरू जनताको बहुदलीय जनवादी भएपछि त्यहाँ फस्यो । व्यवहारिक रूपमा भन्ने हो भने एकातिर हलो र अर्कोतिर घण्टी राखेर बालकोटबाट शासन चलाउने व्यवहार भइरहेको छ’, भुसालको भनाइ छ । उनले अहिले पनि एमालेले संसद्मा राम्रो भोट पायो भने फेरि संसद् विघटन गर्छ भनेर संसदमै देखिएको भन्दै माओवादी पनि हिजोकै अवस्थामा फर्किएको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७