सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यममा पठनपाठन गर्ने


२४ चैत्र २०७९, शुक्रबार
student 2
फाइल फोटो

कञ्चनपुर । विद्यालय भर्ना अभियान तीव्र भएका बेला कञ्चनपुरका सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने योजना ल्याएर विद्यार्थी आकर्षित गर्न थालेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयले अहिले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान नै सञ्चालन गरेका छन् । अभिभावक तथा विद्यार्थीमा निजी विद्यालयमा आकर्षण रहेका बेला सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने भएका हुन् ।

कञ्चनपुरको पुरानो सामुदायिक विद्यालय वैजनाथ माध्यमिक विद्यालयले पनि यसै शैक्षिक सत्रदेखि कक्षा ९ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले जानकारी दिए । ‘हामीले नर्सरीदेखि कक्षा ९ सम्म नै अङ्ग्रेजी माध्यमबाट समेत पठनपाठन गर्ने तयारी गरेका छौँ’, उनले भने, ‘विद्यालयको गुणस्तर वृद्धि गर्दै विद्यार्थीलाई आकर्षित गर्ने योजना बनाएका हौँ ।’

उनले यस वर्ष विद्यार्थीको संख्या थप्ने लक्ष्यसहित विद्यार्थी भर्ना अभियान सञ्चालन गरिएको बताए । हाल यो विद्यालयमा एक हजार विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयमा पनि निजी विद्यालयले जस्तै गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन सुरु गरेको भृकुटी माध्यमिक विद्यालयका शिक्षिका विमला भट्टको भनाइ छ ।

‘सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक र झोलासमेत उपलब्ध गराउँदैछौं’, भट्टले भने, ‘विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरी तल्लो कक्षामा समेत अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन गर्ने गरेका छौँ ।’ उनले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा पनि विद्यार्थीको संख्या बढ्न थालेको बताए ।

महेन्द्रनगर माध्यमिक विद्यालयले पनि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयका शिक्षक नवराज जोशीले पाँच सय विद्यार्थी थप्ने लक्ष्यसहित यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सुरु गरिने बताए । ‘आगामी शैक्षिक सत्रदेखि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पढाई गर्ने भएका छौं’, जोशीले भने, ‘अहिले यसबारे जानकारी दिन विद्यालयको टोली अभिभावको घरदैलोमा पुग्ने गरेका छाैं ।’ उनले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक–शिक्षिका विद्यार्थी भर्ना अभियानमा जुटेको बताए ।

कक्षा ८ सम्म सरकारले विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको पनि उनले जानकारी दिए । सामुदायिक विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा रहेका र गुणस्तर सुधारका विभिन्न योजना बनाइएको उनको भनाइ छ ।
कञ्चनपुरमा दुई सय ५९ वटा सामुदायिक विद्यालयमा ८० हजार एक सय १५ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७