विदेश यात्रामा जाँदै ‘लेकाली’


५ बैशाख २०८०, मंगलवार
lekali band

पोखरा । पोखराको पुरानो लोकपप ब्याण्ड ‘लेकाली’ सांगीतिक यात्राका क्रममा युएई जाने भएको छ । कोभिड–१९ महामारीपछि लेकाली पहिलो विदेश यात्रामा निस्कन लागेको हो । यही अप्रिल २२ मा दुबई र २३ मा आवुधावीमा ‘लेकाली ब्याण्ड लाइभ इन कन्सर्ट’ आयोजना हुने ब्याण्डका सदस्य नवीन गुरुङले जानकारी दिए ।

युएईमा रहेका नेपाली समुदायको आयोजना र व्यवस्थापनमा कार्यक्रम हुन लागेको उनको भनाइ छ । ‘कोभिड महामारीपछि कन्सर्ट लिएर पहिलो पटक विदेश जाँदैछौँ’, उनले भने, ‘युएईपछि अरु देशमा पनि जाने तयारी छ ।’

ब्याण्ड स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विदेशयात्रा तय गरिएको हो । ब्याण्डमा गायक नवीनसहित विशाल, भाइ, कुन्दन, अमित र चाइनिज गुरुङ गरी ६ सदस्य छन् । विसं २०५२ स्थापित सो ब्याण्डका ‘यो मुटुमा’, ‘वनमा कस्तुरी’, ‘पहिलो नजर’ लगायत गीत चर्चित छन् ।

लेकालीले विसं २०५४ मा पहिलो एल्बम ‘यो मुटुमा’ सार्वजनिक गरेको थियो । त्यसपछि ‘मानस’, ‘मोहिनी’, ‘फर्की हेर्दा’ लगायत एल्बम स्रोतामाझ ल्याएको थियो । पोखरामा साङ्गीतिक गतिविधि सुस्ताएपछि बीचमा केही समय ब्याण्ड निस्क्रिय जस्तै बनेको थियो ।

ब्याण्डका नयाँ–पुराना सदस्य मिलेर लेकालीलाई फेरि पुरानै लयतिर फर्काउने प्रयासमा लागेका हुन् । स्थापनाकालमा ब्याण्डमा रहेका कतिपय कलाकार अहिले विदेशमा छन् । लेकालीले पोखरालगायत देशका विभिन्न ठाउँमा हुने मेला–महोत्सवमासमेत प्रस्तुति दिँदै आएको छ ।

यसअघि लेकालीले हङ्कङ, बेलायतलगायत देशमा लाइभ कन्सर्ट गरिसकेको छ । जापान, कोरिया, मकाउलगायत देशमा कन्सर्टको तयारी भइरहेको लेकालीले जनाएको छ । संगीतमा नेपालीपन लेकाली ब्याण्डको विशेषता हो । ‘बजारमा के चलेको भन्दा पनि पछिसम्म कालजयी हुने गरी गीत–संगीत सिर्जना गर्छौ’, ब्याण्डका अर्का सदस्य अमितले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७