‘गौर हत्याकाण्ड’ सम्बन्धी मुद्दा न्यायाधीश कुमार रेग्मीको इजलासमा


२२ जेष्ठ २०८०, सोमबार
Sarbochha 4

काठमाडौँ । गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । नरसंहारको दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उक्त मुद्दाको पेसी सोमबारका लागि तोकिएको थियो ।

२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । हत्यामा फोरमसम्बद्ध नेता–कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको दाबी गरिएको थियो ।

हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले छानबिन गरी दोषीमाथि मुद्दा दायर नगरेको भन्दै पीडितका परिवार तथा आफन्तले आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । पीडित परिवारका तर्फबाट त्रिभुवन साहले रिट दर्ता गराएका छन् भने उक्त घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको छ । साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिल कार्यालय रौतहट लगायतलाई विपक्षी बनाएका छन् ।

माओवादी कार्यकर्ताले कार्यक्रम आयोजना गर्नै लाग्दा मधेसी जनअधिकार फोरम सम्बद्ध नेता–कार्यकर्ताले अपराह्न १ः४५ बजे मञ्चमै पुगेर आक्रमण गरेका थिए । घटनामा २७ जनाको घटनास्थल र एक जना माओवादी कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको थियो । घटना लगत्तै पुगेको राष्ट्रिय मानवअधिकार आयोग, पत्रकार महासङ्घलगायतको टोलीको स्थलगत अनुगमनले हत्या क्रूर र अमानवीय रहेको तथा लखेटालखेटी नियन्त्रणमा लिई बलात्कार समेत गरी हत्या गरिएको प्रतिवेदन दिएको थियो । यद्यपि सरकारले भने गौर हत्याकाण्डलाई राजनीतिक घटना भन्दै घटनाका आरोपितलाई उन्मुक्ति दिएको थियो ।

न्यायाधीश रेग्मीको इजलासमा परेको उक्त मुद्दा पेसी सूचीको अन्तिममा परेको छ । सोमबारै सुनुवाइ भई जाहेरीमाथि अनुसन्धान गरी मुद्दा दायर गर्न अन्तरिम आदेश जारी गरेका जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरी सरकारी वकिलमार्फत प्रतिवादीमाथि मुद्दा चलाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७