एसीसी यू–१६ इस्ट जोन क्रिकेट : नेपाल फाइनल प्रवेशका लागि आज सिंगापुरसँग भिड्दै


१८ असार २०८०, सोमबार
cricket

काठमाडौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन क्रिकेटको सेमिफाइनलमा आज (सोमबार) सिंगापुरसँग प्रतिष्पर्धा गर्दैछ । मलेसियामा जारी प्रतियोगितामा दाबेदार नेपालले समूह चरणको खेलमा थाइल्याण्ड र मलेसियालाई सजिलै पराजित गरेको थियो । नेपाल समूह ‘ए’ विजेता बनेर अगाडि बढेको हो ।

समूह चरणको अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएपछि सिंगापुर समूह ‘बी’ को उपविजेता बनेको थियो । पहिलो दुई खेलमा सिंगापुरले माल्दिभ्सलाई २४५ रनले र इन्डोनेसियालाई १३४ रनले हराएको थियो । माल्दिभ्सविरुद्ध ३१ ओभरमा छोट्याइएको खेलमा सिंगापुरले ३ विकेट गुमाई २७९ रन बनाएको थियो ।

सिंगापुरले इन्डोनेसियाविरुद्ध निर्धारित ३५ ओभरमा ९ विकेट गुमाई २३५ रन बनाएको थियो । तर, समूह चरणको अन्तिम खेलमा टोलीले बनाएको २०७ रनलाई हङकङले अन्तिम ओभरमा पूरा गरेको थियो । हङकङले अर्को सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २२५ रनले हराएको थियो । ओपनिङ जोडी नीरज यादव र सूर्यांशु कोइरालाले पहिलो विकेटमा १३ ओभरमा १२६ रन जोडेपछि नेपालले थाइल्यान्डविरुद्ध ८ विकेट गुमाई २६९ रन बनाएको थियो । जवाफमा आएको थाइल्यान्डलाई १३.२ ओभरमा ४४ रनमै अलआउट गरेको थियो ।

थाइल्यान्डविरुद्ध नीरजले ७४, सूर्यांशुले ४०, नरेन भट्टले अविजित ५५ र सन्तोष यादवले ४२ रन बनाएका थिए । बलिङमा सन्तोषले ह्याट्रिकसहित ५ विकेट लिएका थिए । मलेसियाविरुद्ध अशोक धामीले ५२ तथा सूर्यांशु र अशोकले समान २९ रन बनाएका थिए । नेपालबाट अशोकले ७ ओभरमा १४ रन खर्चेर ४ तथा अभिषेकले ३ र सन्तोषले २ विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७